Apr 30, 2019

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले  १३० औ अर्न्तराष्ट्रिय मे दिवसको अवसरमा शुभ–कामना व्यक्त गर्नु भएको छ । 

आफ्नो शुभ–कामना मन्तव्यमा अध्यक्ष राणाले भन्नु भएको छ–

ऐतिहासिक राजनीतिक परिवर्तन पछि मुलुक अहिले सामाजिक रूपान्तरण र समृद्धिको दिशातिर उन्मुख भएको छ । उच्च दरको आर्थिक बृद्धिका माध्यमबाट मुलुकलाई विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने जिम्मेवारी हाम्रै हातमा छ । श्रम र पूँजीको उच्चतम परिचालनबाट मात्र हामीले अपेक्षा गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले मूर्तरूप लिन सक्दछ भन्ने वास्तविकतालाई मनन गरी थप समझदारी र सहयोगका साथ काम गर्नु पर्ने कुरामा जोड दिन चाहान्छु ।

रोजगारदाता र ट्रेड यूनियन बीचको सम्बन्धले नयाँ आयाम लिएको सर्न्दभमा संवाद र सहकार्यलाई थप निरन्तरता दिदै दीगो आर्थिक विकास र औद्योगिक शान्तिको साझा लक्ष्य प्राप्तिका लागि सहकार्य गर्न यो मे दिवसले हामी सबैलाई थप उत्प्रेरित गर्ने विश्वास लिएको छु ।

आफ्नो शुभ–कामना मन्तव्यमा रोजगारदाता परिषदका सभापति ढकालले भन्नु भएको छ–

विभिन्न आरोह र अवरोह पार गर्दै हामी आज यो अवस्थामा आई पुगेका छौ । श्रम जगतका लागि विशेष महत्व राख्ने मे दिवसको अवसरमा श्रम सम्बन्ध सुधारतर्फ भईरहेको प्रयास र हामीले गर्दै आएको सहकार्यको स्मरण गर्न चाहान्छु ।

दैनिक जसो ठूलो संख्यामा यूवाजन शक्ति रोजगारीको लागि विदेशिन परिरहेको अवस्थामा मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने चुनौती हाम्रो सामू छ । उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन हामी रोजगारदाता र ट्रेड यूनियन बीचको थप समझदारी र सहकार्यले विशेष महत्व राख्दछ । आपसी छलफल र संवादका माध्यमबाट श्रम सम्बन्धी समस्याको समाधान गर्दै दीगो औद्योगिक शान्ति स्थापना गर्न बल पुग्ने विश्वास सहित सबै श्रमिक मित्रहरूको समुन्नतिको कामना गर्दछु ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by