Apr 18, 2017
सीईओज बैंठकलाई महासंघका अध्यक्ष राणाद्वारा संवोधनः नेपालमा निर्धक्क भएर लगानी गर्न भारतीय लगानीकर्ताहरुलाई आव्हान (२०७४/०१/५)

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको दोस्रो दिन आज भारतीय सरकारको परराष्ट्र मन्त्रालय, भारतीय उद्योग परिसंघ (सीआईआई), भारतीय उद्योग वाणिज्य महासंघ (फिकी) र व्यवसायिक संस्था एसोचेमद्वारा राष्ट्रपति भण्डारीको सम्मानमा नयाँ दिल्लीमा आयोजना गरिएको विषेश कार्यक्रम सीइओज मिटिङलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले संबोधन गर्नुभयो ।

राष्ट्रपति भण्डारीका साथ भ्रमण टोलीमा रहेका सदस्यहरु, महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, भारतीय सरकारका उच्च पदस्थ अधिकारीहरु र दुवै देशका उद्यमी व्यवसायीहरुको ठूलो संख्यामा उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुंदै अध्यक्ष राणाले नेपालमा आएर निर्धक्क लगानी गर्न भारतीय उद्यमी व्यवसायीहरुलाई आव्हन गर्नुभयो । 

नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको हालै सम्पन्न वार्षिक साधारण सभाबाट महासंघमा अध्यक्ष सहित नयाँ टीम आएको जानकारी अध्यक्ष राणाले गराउनु भयो । नेपालको आर्थिक व्यवसायिक विकासमा सहयोग गर्न समकक्षी संस्थाहरु सीआईआई र फिकीलाई अनुरोध समेत गर्नुहुंदै अध्यक्ष राणाले महासंघका तर्फबाट आगामी दिनमा सहकार्यका लागि प्रस्ताव समेत राख्नुभयो । 



आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले भन्नु भयो - मलाई यो ठाउँमा आएर बोल्ने अवसर दिनु भएकोमा आयोजक सीआईआई, फिकी र एशोचेमलाई  धन्यवाद दिन चाहान्छु । भारत नेपालको एक असल छिमेकी मात्र नभै नेपालको प्रमुख आर्थिक तथा विकास साझेदार पनि हो । मित्रराष्ट्र भारतका निजी क्षेत्रका उद्यमी व्यवसायीहरु जसले नेपालको आर्थिक समृद्धिका लागि खासगरी नेपालले सन् १९९० मा अवलम्वन गरेको आर्थिक उदारीकरणको नीति पछि नेपालको औद्योगिक विकास, रोजगारी सृजना र गरिवी निवारणमा पुर्याएको सहयोगको नेपाली निजी क्षेत्र प्रशंसा गर्दछ । 

महासंघ र भारतीय उद्योग महासंघ (सीआईआई) दुवै संस्थाले सन् १९९६ मा नेपाल भारत व्यापार सन्धि सम्पन्न गर्न खेलेको भूमिका आपसी आर्थिक सम्बन्धको कोशेढुंगा भएको बताउनु हुंदै अध्यक्ष राणाले सोही सन्धिनै आर्थिक सम्वन्ध विस्तारको एक महत्वपूर्ण आधार बन्नुको साथै आपसी आर्थिक सम्बन्धलाई नयाँ उचाईमा पुर्याएको दावी समेत गर्नु भयो । आफ्नो संवोधनको क्रममा अध्यक्ष राणाले प्रस्ताव राख्नु भयो - बदलिंदो परिस्थितिमा हामी दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु पुनः एकपटक यस्तै महत्वपूर्ण सहमतिका साथ हाम्रा विकासका चाहनालाई पूरा गर्न सहकार्य गरौं ।
 
अध्यक्ष राणाले नेपालमा कार्यरत अधिकांश भारतीय उद्योग प्रतिष्ठानहरुले राम्रो नाफा कमाइरहेका र अति कठिनतम समयमा पनि व्यवसाय राम्रो गर्न सफल भएको उदाहरण प्रस्तुत गर्नु हुंदै नेपालको अर्थतन्त्रका लागि ती प्रतिष्ठानहरु एक असल प्रतिनिधि बनेकोमा प्रशंसा समेत गर्नुभयो । नेपालको आर्थिक विकासका लागि भारतीय लगानी तथा प्रविधि महत्वपूर्ण भएको भन्दै अध्यक्ष राणाले नेपाल सरकार मुलुकभित्र सवै प्रकारको लगानीको वातावरण बनाउन प्रतिवद्ध रहेको जानकारी समेत गराउनु भयो । 

अध्यक्ष राणाले दिनु भएको संवोधनको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नु होला ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by