Apr 12, 2017
महासंघका नवनियुक्त अध्यक्ष राणाद्वारा पह बहाली - महासंघका अध्यक्ष सहित नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन, कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान (२०७३/१२/३०)

नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त अध्यक्ष सहित नवनिर्वाचित पदाधिकारीहरु र कार्यकारिणी समितिका सदस्यहरुको पदस्थापन कार्यक्रम आज महासंघ सचिवालयमा सम्पन्न भयो । 

नवनियुक्त अध्यक्ष भवानी राणा, नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु प्रमोद श्रेष्ठ (जिल्ला नगर), उमेशलाल श्रेष्ठ(वस्तुगत), चन्द्र प्रसाद ढकाल (एसोसिएट) र नवनिर्वाचित कार्यकारिणी समितिका सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले प्रमाणपत्र प्रदान गर्नुभयो । 



सोही समारोहमा महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले नवनियुक्त अध्यक्ष श्री राणालाई महासंघको अध्यक्षको पीन हस्तान्तरण गर्नुभयो । सो अवसरमा नवनियुक्त अध्यक्ष राणालाई निवर्तमान अध्यक्ष मुरारकाले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भयो भने नवनियुक्त अध्यक्ष राणाले नवनिर्वाचित पदाधिकारीहरु एवं कार्यकारिणी समितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भयो । अध्यक्ष राणाले आजै अध्यक्षको पद वहाली समेत गर्नुभयो । 

साथै नवनियुक्त अध्यक्ष भवानी राणाको अध्यक्षतामा सम्पन्न कार्यकारिणी समितिको पहिलो बैठकले महासंघको शंसोधित विधान अनुसार व्यवस्था गरिएको कोषाध्यक्ष पदमा कार्यकारिणी समितिका सदस्य ज्ञानेन्द्रलाल प्रधानलाई निर्विरोध निर्वाचित गरेको छ । 



सो समारोहलाई संवोधन गर्नुहुंदै नवनियुक्त अध्यक्ष श्री राणाले महासंघलाई सिंगो निजी क्षेत्रको सशक्त संस्थाको रुपमा अगाडी बढाउने विश्वास दिलाउनु भयो । उहांले आफूले टिमवर्कमा काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । सो अवसरमा अध्यक्ष श्री राणाले आफ्नो कार्यकालमा गरिने निजी क्षेत्र र आर्थिक समृद्धिका सम्बन्धमा केही प्रतिवद्धताहरु सुनाउनु भएको थियो । नवनिर्वाचित सिंगो टिम मुलुकभित्र निजी क्षेत्रका मुद्दाहरुलाई शसक्त ढंगबाट अगाडी बढाउंदै मुलुकको आर्थिक विकासमा सरकारको वलियो साझेदार भएर कार्य गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै उहांले आफूले सवैबाट सहयोग पाउने समेत अपेक्षा गर्नुभयो । अध्यक्ष राणाले निवर्तमान अध्यक्षको कार्यकालमा थालनी गरिएका कार्यक्रम तथा योजनाहरुलाई आफूले निरन्तर रुपमा अगाडी बढाउने समेत विश्वास दिलाउनु भयो । 

कार्यक्रममा निवर्तमान अध्यक्ष मुरारकाले नवनिर्वाचित टिमलाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । निवर्तमान अध्यक्ष मुरारकारले महासंघले खोजेको वखतमा उपस्थित भई आफूले सकेको सहयोग गर्ने विश्वास दिलाउंदै नवनिर्वाचित टिमको कार्यकालको सफलताको कामना गर्नुभयो । साथै उहांले महासंघको निर्वाचन सफलरुपमा सम्पन्न गराउने निर्वाचन मण्डललाई धन्यवाद सहित प्रमाण प्रदान गर्नुभयो । 

पदस्थापन कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु श्री रविभक्त श्रेष्ठ र चण्डिराज ढकालको उपस्थिति थियो । 

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by