May 07, 2017
नेकपा (एमाले)का अध्यक्ष समक्ष महासंघ प्रतिनिधिमण्डलद्वारा भेटवार्ता (२०७४/०१/२४)
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपीशर्मा ओली समक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित प्रतिनिधिमण्डलद्वारा वैशाख २२ गते ओली निवास वालकोटमा औपचारिक भेटवार्ता गर्‍यो । 

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका निमित्त महानिर्देशक मीना श्रेष्ठ सम्मिलित महासंघको प्रतिनिधिमण्डललाई स्वागत गर्नुहुंदै एमाले अध्यक्ष ओलीले महासंघको नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको कामना गर्नुभयो । 

सो अवसरमा अध्यक्ष ओलीले मुलुकले हासिल गरेको राजनीतिक उपलव्धीलाई संस्थागत गर्न आर्थिक विकास, आर्थिक समृद्धि अपरिहार्य रहेको भन्दै उद्योग व्यवसायको क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघ र त्यसको नवनिर्वाचित टिम आर्थिक मुद्दाहरुलाई जोडतोडका साथ अगाडी बढाउन सफल हुने र आर्थिक विकासका लागि आवश्यक वातावरण बनाउन आफ्नो पार्टीका तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउनु भयो । 

त्यसअघि महासंघका अध्यक्ष राणाले महासंघको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको औपचारिक परिचय गराउनु भयो । महासंघको वर्तमान नेतृत्व आर्थिक विषयहरुलाई जोडतोडका साथ लैजान प्रतिवद्ध रहेको बताउनु भयो । मुलुकभित्र औद्योगिक व्यवसायिक वातावरण निर्माण गर्न सम्पूर्ण राजनीतिक दलहरुको प्रतिवद्धता सहित नीतिगत सुधार, आवश्यक ऐन कानूनको निर्माण एवं संशोधनमा दलहरुको सहयोग आवश्यक रहेकोमा समेत अध्यक्ष राणाले जोड दिनु भयो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by