May 09, 2017
महासंघका पदाधिकारी र नेपालका लागि कोरियन राजदूत बीच भेटवार्ता (२०७४/०१/२६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी एवं नेपालका लागि कोरियाका राजदूत पार्क, योङ–सिक ( HE Park, Young-Sik, Ambassador of The Republic of Korea to Nepal) बीच आज महासंघको सचिवालयमा औपचारिक भेटवार्ता भयो । महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, कार्यकारिणी समितिका सदस्यहरु भरत आचार्य र प्रवलजंग पाण्डेको सहभागिता रहेको उक्त भेटवार्तामा नेपालमा लगानीको वातावरण, स्थानीय चुनाव, नेपालको आर्थिक विकासमा देखिएको सुधार, विप्रेषण, नेपालमा कोरियन प्रविधि एवं लगानी आकर्षण, आयात निर्यात व्यापार लगायतका विषयमा छलफल भयो ।

सो अवसरमा महासंघका अध्यक्ष राणाले कोरियन राजदूत पार्कको स्वागत गर्नुहुंदै नेपालमा  कोरियन लगानी एवं आयात निर्यात व्यापार विस्तारमा राजदूतावासको सहयोगको अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताउनुभयो । अध्यक्ष राणाले औद्योगिक एवं व्यवसायिक सम्बन्ध विस्तारका लागि दुई देशका निजी क्षेत्र बीच बि टु बि मिटिङ गरेर बृहत रुपमा छलफल गरि अगाडी बढ्नुपर्ने बताउनुभयो । छोटो समयमा कोरियाले गरेको आर्थिक प्रगतिको प्रशंसा गर्नुहुंदै नेपालीहरुले कोरियन प्रविधिको विस्तार नेपालमा खोजिरहेको समेत उहांले स्पष्ट पार्नुभयो । नेपालमा कृषि, जडीबुटी, पर्यटन, उर्जा लगायतका क्षेत्रमा रहेको संभावनालाई कोरियन प्रविधि प्रयोग गरि सहकार्य गर्न सकेमा कोरिया र नेपालको व्यवसायिक सम्बन्ध प्रगाढ हुनुको साथै नेपालको आर्थिक उन्नतीमा समेत सघाउ पुग्ने धारणा अध्यक्ष राणाको थियो ।

सो अवसरमा राजदूत पार्कले कोरिया र नेपालको सम्बन्ध प्रगाढ रहेको बताउनुहुंदै धेरै नेपाली युवाहरु रोजगारीका लागि कोरियामा रहेको बताउनुभयो । नेपाल प्राकृतिक स्रोत सम्पन्न देश भएकोले हजारौं कोरियनहरु ट्रेकिङका लागि नेपाल आउने गरेको उहांले जानकारी गराउनुभयो । राजदूत पार्कले कोरियन कम्पनीहरु नेपालमा लगानी गर्न इच्छुक रहेको बताउनुहुंदै राजनीतिक स्थिरता तथा दुबै देश बीचको “कनेक्टीभिटी” मुख्य चासो रहेको स्पष्ट पार्नुभयो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by