May 19, 2017
महासंघका पदाधिकारीहरुलाई भक्तपुरमा स्वागत

भक्तपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सहित पदाधिकारीहरुलाई एक कार्यक्रमका बीच जेष्ठ ४ गते संघमा स्वागत गरेको छ ।

सो अवसरमा महासंघका अध्यक्ष भवानी राणाले मुलुकमा लगानीका सम्भावनाहरु धेरै रहेको बताउनु हुंदै परिवर्तित राज्य व्यवस्थासँगै स्थानीय निकायहरुसँगको साझेदारीमा विकास निर्माणका कार्य गर्न निजी क्षेत्र तत्पर रहेको बताउनु भयो । 

अध्यक्ष राणाले मुलुकमा रोजगारी अभिवृद्धि गर्दै आर्थिक विकासका लागि औद्योगिकरण एउटैमात्र विकल्प भएको हुँदा दक्ष युवा जनशक्ति तयार पार्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले महासंघले सातवटै प्रदेशमा एकएक वटा प्राविधिक स्कूल सञ्चालनमा ल्याउने तयारी रहेको पनि बताउनु भयो । 

कार्यक्रममा अतिथिहरुलाई स्वागत एवं बधाई ज्ञापन गर्नुहुँदै भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद अवालले सरकारले ल्याएको स्मार्टसिटि अवधारणा राम्रो भएता पनि यो अवधारणाले ठूला उद्योग व्यवसायहरु विस्थापित हुन सक्ने खतरा रहेको औल्याउनु भयो । जिल्लाका चारवटै नगरपालिकाहरुमा जनप्रतिनिधिहरु आउने निश्चित भईसकेको अवस्थामा अबका दिनहरुमा आर्थिक विकासका गतिविधिहरुले मूर्तरुप लिनेमा विश्वस्त रहेको बताउनु भयो ।

महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डीराज ढकालले पनि संबोधन गर्नुभएको सो कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आर्थिक विकासमा निजी क्षेत्रको योगदान निरन्तर रहदै आएता पनि सरकार आफ्नो दायित्व पुरा गर्न असफल रहदै आएको हुँदा जिनी क्षेत्रले सरकारलाई निरन्तर झकझकाइरहनु पर्नेमा जोडदिनुभयो ।

सो अवसरमा भक्तपुर जिल्लाका विभिन्न वस्तुगत संघसंस्थाहरुले महासंघका अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षद्वय उमेशलाल श्रेष्ठ र चन्द्रप्रसाद ढकाललगायतलाई खादा, फूलको माला एवं भक्तपुरको मौलिक जुजु धौ ले स्वागत गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by