May 23, 2017
औद्योगिक क्षेत्रका लागि मानव संसाधन विषयक अध्ययन पत्र प्रस्तुत:(मिति २०७४/२/९)

नेपाल उद्योग वाणिज्य महासंघ सचिवालयमा औद्योगिक क्षेत्रका लागि मानव संसाधन (Industrial Human Resource of Nepal) विषयक अध्ययन पत्र आज एक कार्यक्रमका बीच प्रस्तुत गरियो । मुलुकका ५ औद्योगिक क्षेत्रहरुमा रहेका उत्पादन मुलक क्षेत्रहरुमा केन्द्रित रहि गरिएको सो अध्ययन महासंघले रोजगार सूचना केन्द्रको तथ्याङ्कलाई समेत सहयोग पुर्‍याउने उद्देश्यले ILO- LIfE Project  (Labour market Information and Employment Services )  को सहयोगमा  तयार पारेको हो ।  प्रमुख औद्योगिक क्षेत्रहरु विराटनगर, बुटवल, धनगढी, काठमाडौं र नेपालगंजमा संचालित औद्योगिक क्षेत्रहरुमा रहेका ५६२ वटा औद्योगिक प्रतिष्ठानहरुमा करिब पचास हजार कामदार कर्मचारीहरु बीचमा उक्त अध्ययन गरिएको सो अवसरमा बताइयो । 

अध्ययनमा मुलत: उद्योगहरुमा जनशक्तिको अनुपात, औद्योगिक करिडोरमा कामदारहरुको लैंगिक अनुपात, दक्ष कामदारहरु, नेपाली तथा गैर नेपाली कामदारहरु, पदपूर्तिका प्रक्रियाहरु, दक्ष/अर्धदक्ष/अदक्ष कामदारहरुको वस्तुस्थिति, तालिम कार्यक्रमहरुको आवश्यकता, विद्यमान चुनौती  लगायतका क्षेत्रहरु समेटिएका छन् । 

उक्त अध्ययनको क्रममा मुलत: दक्ष कामदारहरुको उच्च अभाव, बसाई सराई, तालिमको अभाव, उद्योगहरुका लागि आवश्यक दक्ष जनशक्ति र तालिम दिने संस्थाहरुले उत्पादन गरेको जनशक्ति बीचको बेमेल, तालिम दिने संस्थाहरु बीच समन्वयको अभाव, दक्ष कामदारहरुको बारेमा आवश्यक जानकारीको अभाव, शैक्षिक अभाव, श्रम कानूनमा समस्या, सरकारी निकाय, कार्यस्थलमै तालिमको अभाव लगायतका चुनौतीहरु रहेको प्रस्तुत अध्ययन पत्र मा औंल्याइएको थियो ।  

महासंघ र आईएलओ लाइफ प्रोजेक्टको सहकार्यमा  तयार पारिएको अध्ययन पत्र, परियोजना का परामर्शदाता डा. केशव वस्यालले प्रस्तुत गर्नुभएको थियो । 

सो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थित विभिन्न संघ/संस्था तथा उद्योग प्रतिस्ठानका प्रमुख एवं प्रतिनिधिहरुले प्रस्तुत गरिएको रिपोर्ट उदाहरणीय रहेको तथापी अनुसन्धानको क्षेत्र कम भएकोले यथार्थ तथ्याङक आउन नसकेकोले आगामी दिनमा विशेष क्षेत्रहरु छुट्याएर Actual need assessment  गर्नुपर्ने सुझावहरु दिनुभयो । स्वदेशी उद्योगहरुमै दक्ष जनशक्ति आवश्यक भएको अवस्थामा आफ्ना देशका जनशक्तिहरुलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न मुलुुकभित्रै पर्याप्त रोजगारी सृजना गर्नुपर्नेमा सो अवसरमा जोडदिइयो ।
 
सो अवसरमा महासंघको कार्यकारिणी समिति सदस्य एवं शिक्षा तथा सिप विकास समितिका सभापति गोपाल खनालले महासंघले नेपाल सरकार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद तथा सम्बन्धित विभिन्न प्रोजेक्टहरुसंग सहकार्य गरेर औद्यागिक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति विकासमा निरन्तर कार्यगर्दै जाने विश्वास दिलाउनुभयो ।


महासंघको कार्यकारिणी समितिका सदस्यहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागि रहेको सो कार्यक्रममा महासंघका महानिर्देशक सुरेश मान श्रेष्ठले महासंघले आगामी दिनमा आवश्यक क्षेत्रहरुको पहिचान गरी औद्योगिक क्षेत्रकालागि आवश्यक जनशक्ति विकासमा कार्यक्रम गर्दै जाने विश्वास दिलाउनु भयो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by