May 25, 2017
नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा (२०७४/२/११)

समुद्घाटन कार्यक्रम

नेपाल चीन गैह्र सरकारी सहयोग मंचको १४ औं बैठक काठमाडौंमा शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ (All China Federation of Industry and Commerce - ACFIC) द्वारा संयुक्त रुपमा आयोजना गरिएको बैठकको उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महराले आज एक कार्यक्रमका बीच काठमाडौंमा समुद्घाटन 
गर्नुभयो । 

दुवै देशका उद्यमी व्यवसायीहरुको ठूलो सहभागिता रहेको बैठकमा दुवै महासंघका पदाधिकारीहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरु, नेपाल चीन बीच व्यापार व्यवसाय गर्ने उद्यमी व्यवसायीहरुको उपस्थिति रहेको थियो । उक्त बैठकमा भाग लिन अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं मंचका सहअध्यक्षको नेतृत्वमा करिव ४० जना चिनिया उद्यमी व्यवसायीहरु नेपालमा आएका छन् । 



बैठक समुद्घाटन समारोहलाई संवोधन गर्नुहुंदै प्रमुख अतिथि उपप्रधानमन्त्री महराले दुवै देशका सरकारबाट आपसी आर्थिक व्यवसायिक सम्बन्ध, सहयोग विस्तार, संयुक्त लगानी, सांस्कृतिक प्रवद्र्धन एवं आपसी हितका विषयमा सहकार्यलाई मजवुद बनाउने उद्देश्यले स्थापना गरिएको मंच दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघको नेतृत्वमा प्रभावकारी रुपमा अगाडी बढेकोमा खुशी व्यक्त गर्नुभयो । 

प्रमुख अतिथि महराले सन् १९९६ मा स्थापना भएको मंच, आर्थिक, व्यापारिक, लगानी, पर्यटन तथा जनस्तरमा सम्बन्ध स्थापनामा कोशेढुंगा सावित भएको बताउनु भयो । चीनले हासिल गरेको उच्च आर्थिक वृद्धिबाट लाभ उठाउन नेपाल लालयित रहेको बताउनु हुंदै अर्थमन्त्रीले नेपालमा बढीभन्दा बढी लगानी बढाउन चिनिया निजी क्षेत्रलाई आग्रह गर्नुभयो । उहांले सरकार सवै प्रकारको सहयोग गर्न तयार रहेको समेत विश्वास दिलाउनु भयो । अर्थमन्त्रीले आर्थिक विकासका एजेण्डामा कार्य गर्न नेपाल चीन गैह्र सरकारी सहयोग मंच जस्ता फोरमको अधिकतम उपयोग हुनुपर्नेमा समेत जोड दिनु भयो । 

मित्र राष्ट्र चीनले अगाडी सारेको एक क्षेत्र एक रोड (One belt One Road-OBOR) अवधारणाको नेपाल महत्वपूर्ण हिस्सेदार हुन पाएकोमा खुशी व्यक्त गर्नुहुदै प्रमुख अतिथि महराले नेपालले ओवोरबाट आर्थिक रुपमा निकै ठूलो फाइदा उठाउन सक्ने बताउनु भयो । 



त्यस अघि स्वागत मन्तव्य दिनु हुदै महासंघका अध्यक्ष एवं मंचका सहअध्यक्ष भवानी राणाले स्थापनाको उद्देश्य हासिल गर्न मंच निकै सफल भएको बताउनु भयो । अध्यक्ष राणाले नेपाललाई यतिखेर निकै ठूलो लगानीको खांचो रहेकाले नेपालमा लगानी गर्न चिनिया उद्यमी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहांले नेपालमा रहेको हालको चिनियां लगानी निकै ठूलोमात्रामा विस्तार गर्न आवश्यक रहेको समेत औल्याउनु भयो । यसका लागि पहल गर्न एसीएफआइसीलाई आग्रह समेत गर्नुभयो । ओवोरमा हस्ताक्षर पश्चात नेपाल र चीन बीच अझ बढी सहकार्यका वाटो खुल्ने विश्वास व्यक्त गर्नूहुदै अध्यक्ष राणाले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तरगत पूर्वाधार निर्माण, जलविद्युत, उत्पादनमुलक क्षेत्रहरु, पर्यटन, सडक संजाल लगायतका क्षेत्रमा निकै धेरै कामहरु गर्न सकिने स्पष्ट पार्नु भयो । 

चीन सरकारले अगाडी सारेको ओवोरको अवधारणाबाट करिव ६० भन्दा बढी देशहरुलाई एकै संजालमा जोडी त्यसबाट ती देशहरु बीचको आर्थिक व्यवसायिक पर्यटन लगायतका क्षेत्रको विकासमा सहयोग पुग्न गई जनताहरु समेत लाभान्वित हुने विश्वास प्रकट गर्नुभयो । उहांले नेपाल पनि चीनले अगाडी सारेको यो अवधारणाको एक महत्वपूर्ण हिस्सा हुन पाएकोमा यसबाट लाभ उठाउनु पर्नेमा जोड दिनु भयो । 

नेपालका लागि चिनिया राजदुत यू होङ्ग (HE, Yu Hong, Ambassador, Embassy of the People's Republic of China in Nepal) नेपालको विकास प्रयासमा एक महत्वपूर्ण साझेदारको रुपमा काम गर्न पाउदा आफ्नो देश निकै खुशी रहेको बताउनु भयो । राजदूत होङ्गले दुवै देशका निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरुको नेतृत्वमा रहेको नेपाल चीन गैह्र सरकारी  सहयोग मंचले स्थापनाको यस बीचमा प्राप्त गरेको उपलव्धी उत्साहजनक रहेको भन्दै आगामी दिनमा अझ बढी क्षेत्रमा सहकार्यका माध्यमबाट दुवै देशका जनता लाभान्वित हुने तर्फ सफलता मिलोस भन्ने कामना समेत गर्नुभयो । उहांले नेपाल नयां संविधानको कार्यान्वयन तर्फ अगाडी बढेकोमा खुशी प्रकट गर्नुहुंदै लगानीको वातावरण, नीतिगत स्थिरता, प्रक्रियागत सरलता तथा विद्यमान कमजोर पूर्वाधारमा सुधारको खांचो औल्याउनु हुंदै नेपालको हरेक विकास प्रयासमा चीनले सदैव सहयोग गरिरहने विश्वास दिलाउनु भयो । साथै उहांले मंचको १४ औं बैठकको सफलताको कामना समेत गर्नुभयो ।  

बैठकलाई संवोधन गर्नुहुदै एसीएफआइसीका उपाध्यक्ष एवं मंचका सहअध्यक्ष सिए चिनरोङ्ग(Xie Jingrong, Vice Chairman of All China Federation of Industry and Commerce-ACFIC)  ले मंचका माध्यमबाट हुने मेहनतद्वारा चीन र नेपालको आर्थिक सहकार्यमा थप व्यापकता आउने विश्वास प्रकट गर्नुभयो ।

उपाध्यक्ष सिए चिनरोङ्गले अगाडी भन्नु भयो–नेपाल दक्षिण एशियाको एउटा महत्वपूर्ण  राष्ट्र हो । चीनले, नेपाल र चीन बीचको दिपक्षीय सम्बन्धलाई अत्यन्त ठूलो महत्वका साथ लिएको बताउनु हुंदै ओवोर अवधारणाको निर्माण तथा कार्यान्वयनमा चीनले नेपाललाई पनि एउटा महत्वपूर्ण साझेदारको रुपमा लिन चाहेको समेत बताउनु भयो । 

चीनको ओवोर अवधारणा तथा १३ औं पंच वर्षे आयोजना र नेपालको राष्ट्रिय पुनरनिर्माण तथा विकास योजना बीच समन्वय कायम भई दुई देश बीच परापूर्व कालदेखि स्थापित आर्थिक तथा सामाजिक आदानप्रदानलाई थप नयां उचाईमा पुर्‍याउने आफ्नो चाहना रहेको बताउनु हुंदै उपाध्यक्ष सिएले एसीएफआइसी र एफएनसीसीआई बीचको सम्बन्धलाई थप मजवुद वनाई अझ व्यापक र वृहत्तर क्षेत्रमा व्यवहारिक सहकार्यमा जोड दिनु भयो । चीन दुवै देश बीचको आर्थिक तथा व्यवसायीक सम्बन्धलाई थप प्रवद्र्धन र विकास गर्न तत्पर रहेको समेत उहांले स्पष्ट पार्नुभयो । 

उद्घाटन कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले दुवै महासंघको पहलमा स्थापित मंचका माध्यमबाट आपसी सहकार्य एवं लाभका क्षेत्रमा कार्य गर्न महासंघ दत्तचित्त रहेको बताउनु भयो । आगामी दिनमा मंचका माध्यमबाट सहकार्यका क्षेत्रहरुको पहिचान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाउनुहुंदै १४ औं बैठक हाम्रा आगामी दिनका कार्यसूचीहरु निक्र्यौल गर्न सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । नेपालको निजी क्षेत्र ओवोर कार्यान्वयनको तीब्र प्रतिक्षामा रहेको बताउनुहुँदै नयाँ करिडोरको शुरुवातले नेपालको आर्थिक स्थिति सुधारमा थप सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

विषयगत क्षेत्रमा छलफल 

समुद्घाटन पश्चात विभिन्न विषयगत क्षेत्रहरुमा दुवै देशका उद्यमी व्यवसायीहरु बीच विस्तृत छलफल भयो । 



तीनवटा शत्रमा संचालित प्राविधिक शत्रको पहिलो शत्रमा जल उर्जा सहितको नविकरणीय उर्जा (New Energy, including Hydro power)  विषयमा छलफल भयो । उक्त शत्रको सभापतित्व महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले गर्नुभएको थियो भने चाइना न्यू चेम्वर अफ कमर्सका उपाध्यक्ष एवं रैडियन्ट होल्डिंग कम्पनीका अध्यक्ष सु बाओ (Xu Biao, Vice President of China New Energy Chamber of Commerce/ Chairman of the Board of Radiant(China) Holding Co. Ltd)  ले उर्जा विकासमा आफ्नो देशको धारणा राख्नु भएको थियो । 

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले सो अवसरमा नेपालमा नविकरणीय उर्जा एवं जल उर्जामा लगानीको सम्भाव्यता एवं हाल रहेको चिनिया लगानीका वारेमा स्पष्ट पार्नु भएको थियो । उहांले नेपालमा जलविद्युतमा लगानीको निकै ठूलो सम्भाव्यता रहेको र यहां उत्पादित विजुली भारत लगायत अन्य मुलुकमा समेत निर्यातको पर्याप्त सम्भावना रहेकाले चिनिया लगानीकर्ताहरुलाई लगानीका लागि आग्रह गर्नुभयो । साथै कोषाध्यक्ष प्रधानले चीन, भारत, भुटान, बंगलादेश र नेपाल बीच सम्पन्न तीन वर्षे पी.टी.ए. सम्झौताले नेपालीलाई उत्साहित बनाएको बताउनुुहुंदै विदेशीहरुलाई लगानीका लागि विशेष गरेर माथिल्लो कर्णाली, अरुण, सुपर मस्र्याङ्गदी, वुढीगण्डकी लगायतका थुप्रै आयोजनाहरु प्रभावकारी हुने विश्वास दिलाउनु भयो । 



त्यसैगरि दोस्रो शत्रमा हार्डवैयर तथा भवन निर्माण सम्बन्धी सामग्रीहरु (Hardware and Building Materials Trade) विषयमा छलफल भयो ।  उक्त शत्रको सभापतित्व महासंघको शहरी विकास समितिका सभापति ओम राजभण्डारीले गर्नुभएको थियो भने चाइनको डैइजु डिष्ट्रिकको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ल्यू हयूलिन (Luo Huilun, Vice Chairman, Federation of Industry and Commerce, Dazu, District, Chongqing) ले उक्त विषयमा दुवै देश बीच हुन सक्ने सहकार्यका विषयमा धारणा राख्नु भएको थियो । सो शत्रमा सभापति राजभण्डारीले भुकम्प पश्चात नेपालमा भौतिक संरचनाहरु पुनर निर्माण एवं नव निर्माणको कार्यहरु धेरै भएका र अझै निर्माणाधिन रहेकाले हाईवेयर एवं भवन निमार्ण सामग्रीहरुको माग अधिक रहेको जानकारी गराउनुभयो । बढ्दो जनघनत्व साथै विकास निर्माणका कार्यहरु समेत विस्तार भएकाले यस क्षेत्रमा लगानी गर्न चिनिया उद्यमीहरुलाई आग्रह गर्नुभयो । नेपाल पनि ओवोरको सदस्य रहेकोले व्यवसायिक सहकार्य एवं चीनबाट लगानीकालागि सहजहुने स्पष्ट पार्नुभयो । 



त्यसैगरि तेस्रो शत्रमा पर्यटन (Tourism) विषयमा छलफल भयो । उक्त शत्रको सभापतित्व महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नु भएको थियो भने महासंघको पर्यटन समितिका सभापति ज्योत्सना श्रेष्ठले नेपालमा चिनिया संयुक्त लगानीमा पर्यटनका सम्भाव्यता विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने चिनियापक्षबाट चाइना टुरिजम काउन्सिलका उपाध्यक्ष हाओ चुकान (Hao Xukuan, Vice Chairman of CCT, Chairman of the Board of Inner Mongolia Viction Cashmere Group)  ले उक्त विषयमा दुवै देश बीच हुन सक्ने सहकार्यका विषयमा धारणा राख्नु भएको थियो । सो अवसरमा महासंघका तर्फबाट नेपालको पर्यटनका मुख्य आकर्षणहरु वर्ड वाचिङ्ग, ऱ्याफ्टिङ्ग, बन्जी जम्पीङ्ग, जंगल सफारी, माउनटेन फ्लाइट, प्याराग्लाइडिङ्ग लगायतका विभिन्न आकर्षणका बारेमा जानकारी गराउनुहुंदै नेपालमा पर्यटन सम्बन्धी अवस्थीत वाइल्ड लाइफ टुरिसम, माउन्टेन टुरिजम, हेरिटेज टुरिजम, कल्चरल टुरिजम, एडभेन्चर टुरिजम जस्ता विभिन्न क्षेत्रमा चिनियां लगानीको लागि आग्रह गरियो । 

समापन कार्यक्रम, एमओयूमा हस्ताक्षर

बैठकको अन्त्यमा, प्राविधिक शत्रको समापन पश्चात ती विषयहरुमा छुट्टा छुट्टै व्यवसायिक भेटवार्ता (Business to Business Meetings) समेत भयो । 



भेटवार्तामा विषयगत क्षेत्रमा आवद्ध दुवै देशका उद्यमी व्यवसायीहरुको सक्रिय सहभागिता रह्यो । बैठकमा नेपालको नाटा (Nepal Association of Tour & Travel Agents - NATTA)  र चाइना च्याम्बर अफ टुरिज्म (China Chamber of Tourism)  बीच पर्यटन क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले सहमतीपत्रमा हस्ताक्षर समेत सम्पन्न भयो । साथै, Innovative Ventures Pvt. Ltd. र Beijing Bolong Yang Guang New Energy Sources Science and Technology Exploiture Co. Ltd. बीच पनि सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भयो  । सोही समारोहमा चीनका तर्फबाट नेपालमा गत वर्ष भुकम्पबाट प्रभावित विद्यालयहरुको पुनरनिर्माणका लागि सहयोगको प्रतिवद्धता समेत जनाइयो । 



बैठकको अन्त्यमा समापन मन्तव्य दिनुहुंदै महासंघका अध्यक्ष भवानी राणाले १४ औं बैठक निकै उत्साहजनक रुपमा सम्पन्न भएको र आपसी सहकार्यमा यस मंचलाई आगामी दिनमा अझ बढी प्रभावकारी ढंगबाट उपयोग हुन जोड दिनुभयो । उहांले बैठकमा निकै धेरै सम्भाव्यताहरु औल्याइएकाले आगामी दिनमा दुवै महासंघहरु वसेर ती सम्भाव्यतालाई मूर्तरुप दिने प्रतिवद्धता समेत जनाउनु् भयो ।  

थप फोटोको लागि कृपया यहाँ क्लिक गर्नु होला ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by