Jun 07, 2017
महासंघका उपाध्यक्ष ढकालद्वारा विश्व पुनरनिर्माण सम्मेलनलाई व्रसेल्समा संवोधन (२०७४/०२/२४)

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति चन्द्र प्रसाद ढकालले बेल्जियममा आयोजित तेस्रो विश्व पुनरनिर्माण सम्मेलन (3rd World Reconstruction Conference) लाई ब्रसेल्समा संवोधन गर्नुभयो । जेठ २३ देखि बेल्जियमको ब्रसेल्समा आयोजित उक्त सम्मेलन भोली विहीवारसम्म चल्ने छ । उपाध्यक्ष ढकालका साथ उक्त सम्मेलनमा महासंघको कार्यकारिणी समितिका सदस्य एवं रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले भाग लिइरहनु भएको छ । 

सम्मेलन यूरोपियन यूनियनको मुख्य आयोजना र यूरोपियन कमिसन, विश्व बैंकको ग्लोवल फ्यासलिटी फर डिजास्टर रिडक्शन एण्ड रिकभरी–जीएफडीआरआर (WB's Global Facility for Disaster Reduction and Recovery-GFDRR) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (United Nations Development Program-UNDP) लगायतका विश्व संस्थाहरुको सहआयोजनामा भएको हो । 

सन् २०११ मा जेनेभामा पहिलो र सन् २०१४ मा अमेरिकाको वासिङटनमा दोस्रो सम्पन्न सम्मेलनको सफलतापछि विश्व पुनरनिर्माण सम्मेलनको यो तेस्रो संस्करणको आयोजना गरिएको हो भने सम्मेलनको गत मे २०१७ मा म्याक्सीकोमा सम्पन्न Global Platform for Disaster Risk Reduction विषयक प्लाटफर्मसंग बलियो सम्बन्ध रहेको छ । विश्वमा, प्राकृतिक विपत्ति पश्चात तत्काल आइपर्ने समस्याको प्रभावकारी व्यवस्थापन सहित तत्पश्चात पुनरप्राप्ति, पुनस्र्थापना र पुनरनिर्माणको कार्यलाई उत्कृष्टरुपमा सम्पादन गर्ने कार्यलाई प्रवद्र्धन गर्नुनै सम्मेलनको मुख्य उद्देश्य रहेको छ । सम्मेलनमा विभिन्न देशका सरकार, अन्तराष्ट्रिय संघ/संस्थाहरु, निजी क्षेत्र, सरोकारवाला निकायका प्रतिनिधिहरु, विषयगत विज्ञहरु, गैर सरकारी संघ/संस्थाहरुका गरि ५ सय जनाको सहभागिता रहेको छ ।



महासंघका उपाध्यक्ष ढकालले सम्मेलनमा नेपालमा विनासकारी भुकम्प पश्चातको कार्यसम्पादन (Post-Earthquake Recovery in Nepal) विषयक शत्रलाई जेठ २३ गते, मंगलवार संवोधन गर्नुहुंदै नेपाली निजी क्षेत्रको धारणा राख्नु भयो । विशेषरुपमा नेपालकै लागि राखिएको उक्त सत्रमा राष्ट्रिय पुनरनिर्माण प्राधिकरणका प्रमुख कार्यकारि सीइओ डा. गोविन्दराज पोखरेलले भुकम्पपछिको पुनरनिर्माणका विषयमा विशेष प्रस्तुती गर्नुभएको थियो । उक्त शत्रमा नेपालस्थित यूरोपियन यूनियन, विश्व बैंक, संयुक्त राष्ट्र संघ, जापान सहयोग नियोग जाइकाका पदाधिकारीहरु र नागरिक प्रतिनिधिहरु सहभागी थिए ।

उक्त शत्रमा आफ्नो धारणा राख्ने क्रममा उपाध्यक्ष ढकालले दुई वर्ष अघिको विनासकारी भुकम्पबाट १४ जिल्लाहरु नराम्ररी प्रभावित भएका र त्यसबाट निकै ठूलोजनधनको क्षतिपुग्न गएको र अर्वौको आर्थिक नोक्सानी पुग्न गएको स्मरण गराउनुहुंदै भुकम्प पश्चात तत्काल विपत्तिमा परेका जनताहरुलाई नेपाली निजी क्षेत्रले अग्रस्थानमा रहेर सेवा पुर्याएको बताउनु भयो । निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था महासंघले मुलुकभर रहेको आफ्नो संजाल मार्फत राहत संकलन गरि प्रभावित जिल्लाहरुमा रहेका आफ्ना सदस्यहरुको सहयोगमा पिडीत जनतालाई राहत पुर्याउने काम गरेको समेत विश्व समुदायलाई जानकारी गराउनु भयो । 

तत्काल राहतमा सहयोग गर्ने कार्यका अतिरिक्त निजी क्षेत्रले पुनरनिर्माणको कार्यमा समेत सरकारलाई सहयोग गरेको उहांले जानकारी गराउनु भयो । विभिन्न आन्तरिक कारणबाट पुनरनिर्माण कार्य संतोषजनक रुपमा अगाडी बढ्न नसकेको यथार्थता अवगत गराउनु हुंदै उहांले निकै लामोसमय पछि सम्पन्न स्थानीय निकायको निर्वाचन पश्चात अव पुनरनिर्माणको कार्यले गतिलिने विश्वास समेत दिलाउनु भयो । उपाध्यक्ष ढकालले नेपाललाई विपत्ति पर्दा सहयोग गर्ने विश्व समुदाय, दातृ निकायहरु सवैप्रति धन्यवाद दिनुहुंदै भुकम्प पश्चात सम्पन्न वृहद सम्मेलनका क्रममा पुनरनिर्माणमा वाह्य समुदायबाट आएको प्रतिवद्धताबाट निजी क्षेत्र उत्साहित भएको समेत बताउनु भयो । उपाध्यक्ष ढकालले भुकम्पछिको पुनरनिर्माण अभियानमा सरकार निजी क्षेत्र बीच निरन्तर वार्ता, छलफल भइरहेको र उक्त अभियानमा निजी क्षेत्रलाई समेत साथमा लिएर जान सकिएमा अझ बढी सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

उपाध्यक्ष ढकालले दिनु भएको संवोधन यसैसाथ संलग्न छ ।  
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by