प्रेस विज्ञप्ति

उर्जाको प्रभावकारी उपयोग एवं स्वच्छता विकासका लागि
दक्षिण एशियाली सम्मेलनद्वारा आपसी सहयोग जुटाई कार्य गर्नु पर्नेमा जोड

मिति: २०६३/१०/१० 

"सार्क कार र्‍याली-२००७" का अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज काठमाडौंमा आयोजित "उर्जाको प्रभावकारी उपयोग एवं स्वच्छता विकास सन्यन्त्र" बिषयक दक्षिण एशियाली सम्मेलन (SAARC Regional Conference on "Energy Efficiency & Clean Development Mechanism) ले उर्जाको उत्पादन, वितरण, प्रभावकारी उपयोग एवं स्वच्छ वातावरण निर्माण, चुहावट नियन्त्रणका साथै यस क्षेत्रमा उर्जा आयात निर्यातका लागि लगानी एवं प्रशारण लाइन विस्तारमा ठोस रुपमा आपसी सहयोग एवं लगानी विस्तार हुनु पर्नेमा जोड दिएको छ । 

उक्त सम्मेलनको उद्घाटन गर्नु हुंदै प्रमुख अतिथि अर्थ मन्त्री डा. रामशरण महतले विश्वमा बढ्दै गएको दक्षिण एशियाली अर्थतन्त्रका लागि उर्जाको आपूर्ति प्रभावकारी रुपमा हुनु पर्ने र यसको उपयोगमा बैज्ञानिक ढंगबाट किफायति बनाउनुका साथै नविकरणीय उर्जाको विकास विस्तारमा समेत जोड दिनु पर्ने बताउनु भयो । 

साथै उहांले बढ्दो जंगल फडानी रोक्न एवं विग्रंदो वातावरणमा सुधार ल्याउन समेत सो आवश्यक भएको उल्लेख गर्नु हुंदै नेपालमा जलविद्युत विकासको प्रचुर सम्भावना भएकाले विशेषगरी भण्डारण गर्न सक्ने क्षमताका विद्युत परियोजनामा लगानी बढाउनु पर्ने धारणा व्यक्त गर्नु भयो । 

विशेष अतिथि जलश्रोत राज्यमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दक्षिण एशियाली मुलुकहरुमा उर्जाको बढ्दो माग भई रहेको तथा नेपाल यस क्षेत्रमा जलश्रोतको समृद्ध मुलुक भएर लोड सेडिङ्गको ठूलो समस्या भोगि रहेको परिप्रेक्ष्यमा सार्क क्षेत्रमा आपसी सहयोग जुटाई जलविद्युत उत्पादन गर्न सकेमा मात्र आर्थिक सामाजिक विकासको गति अघि बढाउन सकिने बताउनु भयो । 

साथै उहांले दीगो र स्थायी शान्ति स्थापना गरी नेपालले आगामी १० वर्ष कम्तिमा ५ हजार मेघावाट विद्युत उत्पादन गर्न सक्नु पर्ने र यसका लागि यस क्षेत्रका निजी क्षेत्रको सहयोग महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो । 

सो अवसरमा नेपालका लागि बंगलादेशका राजदूत इम्तियाज अहमद (Imtaiaz Ahmed)   ले उर्जाको खपत कम गर्ने उपाय अवलम्बन गर्न प्रोत्साहित गर्नु पर्ने र विद्युतको उत्पादन लागत घटाउनु पर्ने धारणा व्यक्त गर्नु हुंदै वातावरण स्वच्छताका लागि खेर गएका पदार्थको प्रयोगबाट पुनरउत्पादन गर्न सकिने बताउनु भयो । 

भारतीय दुवातावसका डेपुटि चिफ अफ मिशन डा. खेया भट्टाचार्य (Dr. Kheya Bhattacharya) ले सार्कले यस क्षेत्रका देशमा भएको उर्जाको पर्याप्तता एवं अपर्याप्ततालाई ध्यानमा राखि एक आपसमा बांडचुंड गरी समस्या समाधान गर्न यस क्षेत्रमा प्रशारण लाइन विस्तारका लागि निरन्तर प्रयास गर्नु पर्ने सहमति हालै नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा भएको बताउनु भयो । 

साथै उहांले द्विपक्षीय प्रशारण लाइन समेत निर्माण गर्नु पर्नेमा जोड दिनु हुंदै उर्जा प्रभावकारिता एवं स्वच्छता विकास सन्यन्त्रले उर्जा बचत गर्नुका साथै वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्ने हुंदा यसको विकासमा जोड दिनु पर्ने आवश्यकता औल्याउनु भयो । 

नेपालका लागि पाकिस्तानका राजदुत सोहिल अमीन (Sohail Amin) ले उर्जा संरक्षण नीति तर्जुमा गरी प्रभावकारी रुपमा लागू गर्नु पर्ने र ग्रामीण क्षेत्रका लागि नविकरणीय उर्जा महत्वपूर्ण हुने धारणा व्यक्त गर्नु हुंदै नेपालमा कहिल्यै पग्लिएर नसकिने हिमालबाट बग्ने पानी जलविद्युत उत्पादनका लागि पर्याप्त भएकोले यी कार्यमा सहयोग गर्न पाकिस्तान तयार रहेको बताउनु भयो । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चण्डिराज ढकालले सार्क कार र्‍यालीबाट यस क्षेत्रका जनता बीच आपसी सहयोग तथा सद्भाव विस्तार गर्नुका साथै द्विपक्षीय व्यापार लगानी, पर्यटन प्रबर्द्धन मात्र नभई कला र संस्कृतिको विकास विस्तारमा समेत सहयोग पुग्ने भएकोले महासंघका साथै सदस्य संघहरुबाट र्‍यालीलाई सफल बनाउन विभिन्न प्रयास भई रहेको उल्लेख गर्नु हुंदै लगानी आकर्षणकै क्रममा उर्जा सम्बन्धी सम्मेलन आयोजना गरिएको उल्लेख गर्नु भयो । 

अध्यक्ष ढकालले सार्क राष्ट्रहरु बीच आपसी सहयोगको प्रचुर सम्भावनाका साथै चुनौतिहरु समेत भएकाले आपसमा मिलेर चुनौतिको सामना गर्दै सम्भावनाहरुलाई अवसरका रुपमा परिणत गर्नु पर्नेमा जोड दिंदै नेपालमा लगानीको प्रचुर सम्भावना भएको जलविद्युत क्षेत्रमा लगानी गरी लाभ लिन पनि सार्क मुलुकका लगानीकर्ताहरुलाई आव्हान गर्नु भयो । 

बढ्दो माग एवं आपूर्तिको कमिबाट उद्योग व्यापार व्यवसाय मात्र नभई समग्र आर्थिक सामाजिक क्षेत्रनै तहस नहस हुने, आर्थिक बृद्धिदर, रोजगारी एवं गरिवी निवारणमा समेत अवरोध उत्पन्न गरिरहेकाले जलविद्युत क्षेत्रमा लगानी गरी विद्युतको माग पूरा गर्नुका साथै विदेशी मुद्रा आर्जन गर्न समेत सकिने भएकोले लगानीका लागि नेपालले विदेशी लगानीकर्ताहरुलाई समेत आव्हान गर्दै आएको बताउनु भयो । 

त्यसैगरी उहांले उर्जा प्रभावकारिता एवं स्वच्छता विकास सन्यन्त्रबाट उर्जाको अनावश्यक खर्च कटौति भई आपूर्ति बढाउन एवं वातावरणीय विकासमा सघाउ पुर्‍याउने भएकोले यसको विकासमा जागरुकता ल्याउनु पर्ने र बैकल्पिक उर्जाको विकासलाई समेत प्रोत्साहित गर्नु पर्ने उल्लेख गर्नु भयो । 

महासंघको उर्जा तथा वातावरण समितिका सभापति विराट थापाले धन्यवाद ज्ञापन गर्नु हुंदै परिणाममुखि कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

उद्घाटन समारोहपछि महासंघको उद्योग पुनस्थापना एवं व्यवसायिक कानून समितिका सभापति अशोक कुमार तोदीको सभापतित्वमा आयोजित प्राविधिक सत्रमा सार्क मुलुकका उर्जा तथा स्वच्छता विकास सम्बन्धी विज्ञहरुले कार्यपत्रहरु प्रस्तुत गर्नु भई त्यस माथि विस्तुत छलफल भएको थियो ।

सार्क कार र्‍याली - २००७ लाई सफल बनाउन
नेपाल उद्योग वाणिज्य महासंघको आग्रह

मिति: २०६३-१२-८

यही चैत्र १ गतेदेखि बंगलादेशको कोक्स बजारबाट शुरु भएको सार्क सदस्य राष्ट्रहरु सम्मिलित "सार्क कार र्‍याली-२००७" (SAARC Car Rally 2007) बंगलादेश-भारत-भुटान-भारत-नेपाल-भारत-पाकिस्तान-भारत-श्रीलंका हुंदै २०६४ वैशाख १ गते मालदिभ्सको मालेमा अन्त्य हुने गरी यही चैत्र ९ गते कांकडभिट्टाबाट नेपाल प्रवेश गरेको र त्यहांबाट हेटौडा, नारायणगढ एवं पोखरा भई चैत्र १० गते काठमाडौं आई पुग्ने तथा चैत्र ११ गते नारायणगढ एवं लुम्बिनी हुंदै चैत्र १२ गते महेन्द्रनगरबाट भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

सो कार र्‍याली मार्फत नेपाल र नेपालीको परिचय तथा पहिचानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा अझ बढी उचाईमा पुर्‍याउनुको साथै नेपालको आर्थिक सामाजिक विकास लगायत पर्यटन प्रबर्द्धनको लागि समेत महत्वपूर्ण अवसर हुने भएकोले यस कार्यक्रमलाई कुनै पनि बाधा व्यवधानबाट मुक्त राख्न सबै नेपालीको अहं भूमिका रहने छ ।

उक्त कार र्‍यालीको ऐतिहासिक क्षणमा सम्पूर्ण उद्योगी व्यवसायी, संघ/संस्था एवं पेशाकर्मी, विभिन्न समूदाय, नागरिक समाज, पत्रकार एवं समाचारजगत तथा आम नेपाली जनसमूदायमा कार र्‍यालीलाई भव्यताका साथ सफल पार्ने कार्यमा सहयोगका साथै उक्त र्‍याली काठमाडौं उपत्यका प्रवेशको क्रममा चैत्र १० गते शनिवार अपरान्ह ५:०० बजे थानकोट, नागढुङ्गामा र्‍यालीको स्वागतका लागि उपस्थित भई कार्यक्रमलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासंघ हार्दिक आग्रह गर्दछ ।

 

सार्क कार र्‍याली-२००७ का लागि
नेउवामहासंघका द्वितीय उपाध्यक्ष ढाका प्रस्थान

मिति २०६३/११/२९

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १४ औं शिखर सम्मेलन पूर्व आयोजना हुने सार्क कार र्‍याली - २००७ (SAARC Car Rally 2007) सहभागिताका लागि नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट महासंघका द्वितीय उपाध्यक्ष कुशकुमार जोशी र मेची उद्योग वाणिज्य संघका अध्यक्ष बिजय डालमिया आज बंगलादेशको ढाका तर्फ प्रस्थान गर्नु भयो ।

साथै उक्त र्‍यालीका सहभागी भौतिक योजना तथा निर्माण मन्त्रालयका सहसचिब ध्रुव प्रसाद शर्मा, ब्रोडकास्टिङ्ग एशोसिएशन अफ नेपालका महासचिब बिष्णुहरि ढकाल, नेपाल टेलिभिजनका निर्देशक जय सिंह शाह तथा प्रमुख स्टुडियो उत्पादक दुर्गा बहादुर थापा, नेपाल समाचारपत्रका फोटो पत्रकार सुन्दर श्रेष्ठ र द हिमालयन टाइम्सका फोटो पत्रकार उदिप्त सिंह क्षेत्री समेत त्यस तर्फ प्रस्थान गर्नु भएको छ ।

शिक्षा तथा खेलकूद मन्त्री एवं उक्त र्‍याली मूल आयोजक समितिका अध्यक्ष डा. मंगलसिद्धि मानन्धर, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं सो समितिका उपाध्यक्ष चण्डिराज ढकाल, शिक्षा तथा खेलकूद मन्त्रालयका सहसचिब एवं उक्त आयोजक समितिका सदस्य सचिब बोधराज निरौला लगायत विभिन्न पदाधिकारीहरुले उहांहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा विदाई गर्नु भएको थियो ।

आगामी चैत्र १ गते देखी बगंलादेशको कोक्स बजारबाट शुरु भई नयाँ वर्षको पहिलो दिन (वैशाख १, २०६४) मा मालद्विभ्समा पुगेर सम्पन्न हुने सो कार र्‍यालीमा उपरोक्त अनुसार सार्क राष्ट्रका सरकारी तथा निजी क्षेत्रका व्यक्तिहरु, सेलिब्रेटिजहरु, पत्रकारहरु, उद्योगी व्यवसायीहरु र खेलकुद क्षेत्रका व्यक्तिहरुको सहभागिता हुंदैछ ।

सार्वजनिक-निजी साझेदारी अवधारणा अनुरुप आयोजना गरिएको उक्त र्‍याली यस क्षेत्रका जनता बीच आपसी सम्बन्ध विस्तार, उद्योग, व्यापार, पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक आदान प्रदानका लागि महत्वपूर्ण अवसर हुने विश्वास गरिएको छ ।

यस क्षेत्रकै अहिले सम्मको सबै भन्दा ठूलो कार्यक्रमको रुपमा हेरिएको उक्त र्‍याली नेपाललाई दक्षिण एशिया सहित अन्तराष्ट्रिय रुपमै अझ बढी पहिचान गराउन महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएकोछ ।

सबै सदस्य राष्ट्रका गरी करीब एक सय जना सहभागी हुने सो र्‍याली आगामी चैत्र ९ गतेका दिन काँकडभिट्टाबाट नेपाल प्रवेश गरी हेटौडा, पोखरा, काठमाण्डौं, लुम्बिनी, कोहलपुर हुदैं चैत्र १२ गते महेन्द्रनगरबाट भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

सोही अवसरमा चैत्र १० गते काठमाडौंमा उर्जा विषयमा एक गोष्ठी समेत हुने र उक्त गोष्ठीमा सार्क राष्ट्रका लगानीकर्ता, नीति निर्माता एवं अन्य सरोकारवालाहरुको समेत सहभागिता रहने छ ।

शिक्षा तथा खेलकूद मन्त्री एवं र्‍याली आयोजक समितिका अध्यक्ष डा. मानन्धर र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं सो समितिका उपाध्यक्ष ढकालले सो नेपाली टोलीलाई विदाई गर्नु हुंदै उक्त कार र्‍याली मार्फत नेपाल र नेपालीको परिचय तथा पहिचानलाई अन्तर्राष्ट्रिय समूदायमा उचमाईमा पुर्‍याउने सुवर्ण अवसर भएकोले उक्त कार्यक्रमलाई बाधा व्यवधानबाट मुक्त राख्न सबै नेपालीको अहं भूमिका रहने स्पष्ट पार्नु हुंदै र्‍यालीको उक्त ऐतिहासिक क्षणमा सम्पूर्ण राजनैतिक दल तथा भातृ संगठनहरु, नागरिक समाज, पेशाकर्मी लगायत सम्पूर्ण आम नेपाली जनसमूदायमा कुनै प्रकारको बन्द तथा हडताल जस्ता विरोधका कार्यक्रम नगरि दिनु हुन तथा आव्हान भएका सम्पूर्ण बन्द तथा हडताल कार्यक्रमहरु फिर्ता लिई कार र्‍यालीलाई भव्यताका साथ सफल पारी अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरमा नेपाल र नेपालीको उच्च छवि कायम राख्न सहयोगका लागि हार्दिक अपिल गर्नु भएको छ


>
>
>
>
>
>
>
>


Flag Off by Rt. Hon'ble Mr. Subhas Nembang,
Speaker, House of Representatives, Government of Nepal
at Basantapur, Kathmandu
 
Destinations: