Jan 14, 2022

मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या र मानमर्दनप्रति नेपाल उद्योग वाणिज्य महासंघ चिन्ता व्यक्त गर्दछ । पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । 

बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याफ्टेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्फ महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ ।  

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुु पर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन । 

सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउन भइरहेका गतिविधिले मुलुकमा लगानी नहुने र यसले रोजगारीमा समेत गम्भीर असर पर्न जाने हाम्रो चिन्ता छ । 

महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर हो । तर विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट छ । अत: व्यवसायीमाथि एकतर्फीरुपमा विना कुनै प्रमाण कहि कतैबाट पनि प्रहार नगर्न नगराउन महासंघ सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छ । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by