Jan 24, 2023
लघु घरेलु तथा साना उद्योग सम्मेलन (एसएमईज) सम्मेलन (२०७९ माघ ०९ गते)

ब्राण्डिङ र प्याकेजिङमा सशक्तरूपमा काम गर्न नसक्दा नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार उपस्थिति कमजोर बन्न पुगेको तथ्य यस क्षेत्रका विज्ञहरुले औंल्याएका छन् । 

ब्राण्डिङ, आकर्षक प्याकेजिङमा हामीले लगानी नै गर्न सकेनौं, जसले सम्भाव्यता रहंदा रहंदै पनि हाम्रा उत्पादन अन्तर्राष्ट्रिय बजारमा सशक्त रुपमा जान सकेनन्, नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज काठमाडौंमा आयोजित लघु घरेलु तथा साना उद्योग सम्मेलन (एसएमईज) सम्मेलनका सहभागी विज्ञहरूले प्रष्ट पारे । 

राम्रो प्याकेजिङ र ब्राण्डिङ गर्न सक्यौं भने हाम्रा थुप्रै बस्तु बाहिर निर्यात गर्न सक्छौं, जुनकुरामा हामी चुकी रहेका छौं, सम्मेलनका दौरान आयोजित ठूला तथा साना उद्योग बीच व्यवसायिक अन्तरसम्बन्ध विषयक छलफलका वक्ताहरूले बताए । 

उत्पादित वस्तुहरूको गुणस्तरमा सुनिश्चिता अर्को महत्वपूर्ण पाटो हो र यसका लागि एसएमइज इकोसिस्टम भित्र प्याकेजिङ, ब्राण्डिङ, गुणस्तर र बजारीकरण लगायतका विषयमा एक प्रकारको प्रतिवद्धता आवश्यक रहेको औंल्याइयो । 

बजारको मागलाई बुझेर आफ्ना उत्पादन विकास गर्नुपर्ने र उपभोक्ताको उत्पादनप्रतिको बुझाईमै परिवर्तन ल्याउन सक्नुपर्ने सुझाव वक्ताहरूको थियो । 

वित्तिय पहुंचको कठिनाई, सरकारले ल्याएका सहुलियत प्याकेजबाट लाभ उठाउन प्रक्रिया झन्झट, बजारको अभाव लगायतका गुनासो साना उद्यमीहरुको थियो । साना उद्यमीहरुलाई सहयोग गर्ने खालका नीति तथा कार्यक्रम ल्याउनु पर्ने सुझाव वित्तिय पहुंच विषयक छलफलमा सहभागीले राखेका थिए । 

एसएमईज क्षेत्रले स्वरोजगारी उत्पादन गरेको मात्र छैन, रोजगारीका अवसर समेत सिर्जना गरेको छ । नेपालमा संचालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ भने त्यसमा ९० प्रतिशत हिस्सा एसएमईजको छ । 

सम्मेलनको आज विहान उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्नु भएको थियो । 



संवोधनका क्रममा अर्थमन्त्री पौडेलले स्टार्टअप र परियोजना कर्जा सम्बन्धी कार्यविधि छिट्टै पारित गरी कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । 



साना उद्यमीले व्यहोर्नु परेका प्रक्रियागत झन्झटको समस्यालाई समाधान गर्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । 

एसएमईजका लागि मुख्य चुनौतीको रुपमा देखिएका वित्तिय पहुंच, बजार प्रवर्द्धन, दक्ष जनशक्ति, प्रक्रियागत झन्झट, व्याजदर लगायतमा संवोधन गर्न सरकार तयार रहेको प्रतिवद्धता अर्थमन्त्रीको थियो ।  
     
महासंघका अध्यक्ष शेखर गोल्छा (संवोधन भाषण यसैसाथ संलग्न) ले अहिले साना ठूला सबै उद्योगको क्षमता करिब ६० प्रतिशतले घटेकाले महंगो ब्याजले लगानी विस्तार त परैको कुरा भएका उद्यम टिकाउन पनि समस्या भैरहेको बताउनु भयो । अध्यक्ष गोल्छाले उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउन आग्रह गर्नुभयो । 



करिव १७ लाखलाई रोजगार दिइरहेको एसएमईज क्षेत्रमा आधुनिक प्रविधी प्रयोग गर्दै बजारको माग अनुसार गुणस्तरिय उत्पादन आपूर्ति गर्न सकियो भने नेपालमा उद्योगबाट ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको अध्यक्ष गोल्छाले बताउनु भयो ।

  

कार्यक्रममा आइएलओ कार्यवाहक प्रमुख जोनी सिमसन (Ms. Joni Simpson, Office-in-charge, ILO Country Office for Nepal) युनिसेफका देशिय प्रतिनिधि एलके वीस (Ms. Elke Wisch, UNICEF Representative for Nepal) र आइएफसीका आवासीय प्रतिनिधि वावाकार फाए (Mr. Babacar Faye, Resident  Representative for Nepal) ले नेपाली अर्थतन्त्रको महत्वपूर्ण हिस्सा एसएमइजको द्रुत विकासमा जोड दिंदै यसले नेपालको सन् २०२६ सम्म आर्थिक स्तरोन्नतीको लक्ष्यमा पनि सहयोग गर्ने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले एसएमईजलाई सघाउ पुर्याउन महासंघले एसएमइज सेवा केन्द्र संचालनमा ल्याउने तयारी गरिरहेको र पछि यसलाई सवै प्रदेश च्याप्टरमा लैजाने विश्वास दिलाउनु भयो ।  



सम्मेलनको समापन सत्रमा महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डि.बी. बस्नेत र महिला उद्यमी विकास समितिका सभापति रिता सिम्हले लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै संचालित ठूला उद्योगसंग जोडन निरन्तर पहल र पैरवी गरिने प्रतिवद्धता जनाउनु भयो । 

 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by