Aug 13, 2018
आइसीटी क्षेत्रमा रोजगारी सृजना विषयक अन्तरक्रिया – उद्यमशीलता विकास र रोजगारी सृजनामा सूचना प्रविधिलाई एकसाथ लैजानु पर्नेमा विज्ञहरूको जोड (२०७५/०४/२८)

नेपाल उद्योग वाणिज्य महासंघद्धारा आज महासंघ सचिवालयमा "Paperless Society and Employment Generation in ICT Sector" विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरियो । माननीय संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रमको सभापतित्व महासंघका अध्यक्ष भवानी राणाले गर्नुभएको थियो । 

सूचना तथा संचार क्षेत्रमा आवद्ध उद्यमी व्यवसायीहरू, सूचना तथा संचार मन्त्रालय अन्तरगतका विभागिय प्रमुखहरूको सहभागितामा आयोजना गरिएको कार्यक्रममा स्टाफ कलेजका निर्देशक सुवर्णकुमार सिंह र योङ इनोभेन्स प्रा.लि.का प्रमुख कार्यकारि अधिकृत विभुषण विष्टले कार्यपत्र प्रस्तुत गर्नु भयो । 



कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्नुहुँदै महासंघका अध्यक्ष भवानी राणाले देश संघीय संरचना अनुसार अगाडी बढी सकेकाले संघीयतालाई दीगो बनाई संघीयताबाट आम नेपाली जनतालाई लाभान्वीत गराउन शुसासन र जवाफदेहीतामा आधारित अर्थतन्त्रको विकास हुनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष राणाले कृषि, पर्यटन र पूर्वाधार जस्ता महत्वपूर्ण क्षेत्रनै परिवर्तनका आधार हुन सक्ने भन्दै आर्थिक विकास र मुलुकभित्र सुशासनको प्रत्याभुति दिलाउन सूचना तथा संचार प्रविधि महत्वपूर्ण पाटो भएको कुरालाई हामीले भुल्न 
नहुने बताउनु भयो । दीगो विकासका बृहत्तर लक्ष्य हासिल गर्न अवलम्वन गरिएका रणनीति तथा क्षेत्रहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग एकाकार गर्नुपर्ने सुझाव उहाँले दिनु भयो ।

साथै सूचना प्रविधि र सूचना प्रविधिमा आधारित सेवाहरू लगायत अन्य उद्योग एवं सेवा जन्य व्यवसायको वृद्धिद्वारा बृहत्तर राष्ट्रिय लक्ष्यहरू हासिल गर्नमा समेत यो प्रविधि सहायक हुने देखिएको धारणा राख्नुहुंदै अध्यक्ष राणाले सुशासनको आभास र मापन सार्वजनिक सेवामा नविनतम प्रविधिको प्रयोग मार्फत प्रभावकारी सेवा विस्तार र लागत कटौतीले गर्ने बताउनु भयो । विश्वव्यापी रुपमै उद्यमशीलताको प्रवद्र्धन तथा रोजगारी सृजनामा सूचना तथा संचार प्रविधि एउटा सफल पक्षको रुपमा प्रमाणित भैसकेको समेत अध्यक्ष राणाले बताउनु भयो ।

उद्यमशीलता तथा रोजगारीका अवसर र चुनौतीहरुको विश्लेषण र उद्यमशीलताको विकास र रोजगारी सृजनामा सूचना तथा संचार प्रविधिको भूमिका विषयलाई गहन रुपमा अध्ययन गरी सोही अनुसार रणनीति तय गर्नु पर्नेमा पनि उहाँले सुझाव दिनु भयो । सूचना प्रविधि मार्फत मुलुकभित्र उद्यमशीलता विकास र रोजगारी सृजनामा सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर रहेको पनि अध्यक्ष राणाले बताउनु भयो । सरकारका काम कारवाहीलाई पूर्णत डिजिटलाईज गर्दै जानु पर्ने र यसमा सम्बन्धमा आवश्यक नीति कानुन ल्याउनु पर्ने उहाँको जोड थियो । 



समारोहलाई संवोधन गर्नुहुँदै मन्त्री बाँस्कोटाले सूचना प्रविधिलाई मुलुक रूपान्तरणको प्रमुख आधार बनाएर जान सरकार क्रियाशिल रहेको बताउनु भयो । अर्थतन्त्रको विकासमा अग्रस्थानमा रहेर कार्य गरीरहेको निजी क्षेत्रलाई उद्यमशीलता विकास र रोजगारी सृजनासँग सूचना प्रविधिलाई जोडेर लैजाने कार्यमा सहयोग गर्न सरकार तयार रहेको विश्वास दिलाउनु भयो । राष्ट्रिय उत्पादकत्व प्रवद्र्धनमा कसरी सूचना प्रविधिलाई जोडन सकिन्छ यसमा महासंघ जस्ता व्यवसायिक संस्थाको सहयोग सरकारले खोजेको पनि उहाँले स्पष्ट पार्नुभयो । सूचना प्रविधिका क्षेत्रमा बाह्य मुलुकले अवलम्वन गरेको मोडल यहाँ लागू गर्नुभन्दा पनि सरकारले मुलुककै माटो सुहाउदो मोडल कार्यान्वयनमा ल्याउने समेत उहाँले बताउनु भयो । मन्त्री बाँस्कोटाले शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, उद्योग लगायतका महत्वपूर्ण क्षेत्रको विकासमा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने सोंच सरकारले बनाएको समेत स्पष्ट पार्नुभयो । साथै उहाँले अहिलेको नयाँ पुस्तासम्म सूचना प्रविधि पहुँचलाई सहज बनाउने तर्फ सरकार क्रियाशिल रहेको र यसलाई विद्यालय तहदेखिनै जोड्ने योजना सरकारको रहेको जानकारी गराउनु भयो ।  

कार्यपत्र प्रस्तुत गर्दै स्टाफ कलेजका निर्देशक सुवर्ण कुमार सिंहले राष्टिय विकासमा सूचना तथा संचार प्रविधिको भूमिकालाई परिभाषित गरिनु पर्ने, राष्ट्रिय भिजन तयार गर्नुपर्ने, यस सम्बन्धमा अन्तर छलफल  र अन्तरक्रियालाई नियमित रुपमा अगाढी बढाउनु पर्ने,  सूचना तथा संचार प्रविधिको अभ्यासलाई व्यक्ति, व्यवसायिक र व्यापारिक रुपमा समेत बढाउनु पर्नेमा जोड दिनु भयो । श्री सिंहले दिनु भएको कार्यपत्र  । 

त्यसैगरी अर्का कार्यपत्र प्रस्तोता विष्टले  मूलत सरकारले दीगो विकास लक्ष्य हासिल गर्न, स्वच्छ पिउने पानीको सुनिश्चिता गराउन, सार्वजनिक शिक्षामा पहुँच बढाउन, रोजगारी सृजना र पर्यटन विकासलाई आफ्नो मुख्य प्राथमिकतामा राखेकाले यी क्षेत्रहरूबाट अपेक्षित लाभ हासिल गर्न सूचना तथा संचार प्रविधिलाई यी क्षेत्रसँग जोडेर जानु पर्ने र सोही अनुसार नीति निर्माण र वातावरण बनाउनु पर्ने सुझाव दिनु भयो । श्री विष्टले दिनु भएको कार्यपत्र । 



महासंघको सूचना तथा प्रविधि विकास समितिका सभापति ई. विनोद ढकालले उद्यमशीलता विकास र रोजगारी सृजनामा सूचना प्रविधिलाई एकसाथ लैजानु आजको आवश्यकता रहेको र यस कार्यक्रमबाट आगामी दिनमा सूचना प्रविधिलाई मुलुकको आर्थिक विकासमा कसरी अधिकतम उपयोग गर्ने भन्ने सम्बन्धमा एक प्रकारको धारणा तयार गर्न सहयोग पुगेको बताउनु भयो । साथै उहाँले महासंघले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर रुपमा आयोजना गर्दै जाने विश्वास दिलाउनु भयो ।  

Facebook Live: https://www.facebook.com/fncci/videos/291862194913679/?t=0
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by