Oct 15, 2025
कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न महासंघको आग्रह (२०८२/०६/२९)

नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको सावां व्याज भुक्तानी समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरको छ । 

महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा बुधबार राष्ट्र बैंक गएको महासंघको टोलीले राष्ट्र बैकका कार्यबाहक गभर्नर डा.निलम ढुङ्गाना तिम्सिनालाई भेटेर सो आग्रह गरेको हो । 

महासंघले चालु आर्थिक वर्षको प्रथम त्रैमास (असोज–मसान्त) मा कर्जाको सावां व्याजको किस्ता बुझाउने समय नजिकिंदै गर्दा देशका विभिन्न भागहरुमा भएका आन्दोलन, विरोध प्रदर्शन, तोडफोडका घटना लगायत अविरल वर्षा तथा बाढी पहिरोले देशको पूर्वी एवं मध्य भागमा क्षति पुगेकोले क्षतिले ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले सावां व्याज भुक्तानीको समय सीमा थप गर्न नेपाल राष्ट्र बैंकसंग आग्रह गरिएको महासंघका कार्यबाहक अध्यक्ष अन्जन श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले यो समयमा भएका यी घटना बाहेक नेपालीहरुको महान चाड दशैंको कारण लामो समय सार्वजनिक विदा पर्न गएको र ऋणिहरुलाई समयमै किस्ता बुझाउन समस्या भएकोले समय थपको लागि पहल गरिदिन महासंघका सदस्य संघ संस्थाहरुबाट समेत अनुरोध भैआएकोले राष्ट्र बैक समक्ष सो आग्रह गरिएको बताउनु भयो । 

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र तथा  महासंका उपाध्यक्षद्वय सुरकृष्ण वैद्य, हेमराज ढकाल र कोषाध्यक्ष भरतराज आचार्य सहभागी हुनुहुन्थ्यो ।

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by