Aug 31, 2017
व्यापार घाटा कम गर्ने एकमात्र विकल्प उर्जा उत्पादन तथा निर्यातनै हो–जलस्रोत विज्ञ (२०७४/०५/१५)
नेपालको आर्थिक तथा औद्योगिक विकासका साथै व्यापार घाटा काम गर्नका लागि पर्याप्त विद्युत उत्पादननै एकमात्र विकल्प रहेको कुरामा नेपाल उद्योग वाणिज्य महासंघद्वारा केपीएमीजी भारतको सहयोग एवं सहभागितामा आज काठमाडौंमा आयोजित Accelerating Economic Growth through sustainable energy and infrastructure investment विषयक कार्यक्रमका सहभागी विज्ञहरूले जोड दिनु भयो । 

भारतसँगको आयात निर्यातको अनुपात करिव १३:१ रहेको कहाली लाग्दो अवस्थामा अन्य वस्तु उत्पादन गरेर यो अन्तर घटाउन नसक्ने भन्दै विज्ञहरूले नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा समेत परिभाषित उर्जा क्षेत्रको विकासमा राष्ट्रको सम्पूर्ण ध्यान जानुपर्ने सुझाव कार्यक्रममा दिइएको थियो । करिव ४२ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पछिल्लो अध्ययनले देखाएपनि मात्र ८०० को हाराहारीमा उर्जा उत्पादन हुनु हाम्रा लागि चिन्ताको विषय भएको भन्दै विज्ञहरूले उर्जा उत्पादनको हाम्रो सम्भाव्यताको अधिकतम दोहन हुनुपर्नेमा जोड दिए । 

विश्व बैंक, नेपाल विद्युत प्राधिकरण, केपीएमजी भारत, उर्जा उत्पादक तथा विज्ञहरू र सरोकारवाला क्षेत्रको सहभागितामा आयोजित कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले विद्युत उर्जा विकासमा अव ढिला गर्न नहुनेमा जोड दिनु भयो । आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरू पारित हुंदै गएका, राजनीतिक अस्थिरता पनि विस्तारै हट्दै गएको र स्थानीय निर्वाचन समेत भैसकेको पृष्ठभूमीमा अव नेपालमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्ता तथा दातृ निकायहरूलाई आग्रह समेत गर्नुभयो । 

सन् २०२२ सम्म विकासोन्मुख र सन् २०३० मध्यम आय भएको मुलुकमा रुपान्तरण गर्ने नेपालको लक्ष्यलाई पुरा गर्न कम्तीमा ७ देखि ८ प्रतिशतको आर्थिक वृद्धिका लागि पनि पर्याप्त लगानी बढाउनै पर्छ । तुलनात्मक लाभका क्षेत्र भनि पहिचान गरिएका जलविद्युत, पूर्वाधार विकास लगायतका परियोजनाहरूमा सन् २०२० सम्म १८ विलियन अमेरिकी डलरसम्मको लगानी आवश्यकता पर्ने तथ्यांक सो अवसरमा प्रस्तुत 
गरियो । 

महासंघका कोषाध्यक्ष एवं जलश्रोतविद् ज्ञानेन्द्रलाल प्रधानले नेपालमा लगानीको अवस्था: ऊर्जा र पूर्वाधार विषयक कार्यपत्र प्रस्तुत गर्नुहुदै राज्यले अगाडि बढाएका विद्युतका राष्ट्रिय गौरवका आयोजना निर्धारित समयभित्रै सम्पन्न गर्न सरकार चनाखो हुनुपर्नेमा जोड दिनुभयो । मुलुकको आर्थिक विकास विद्युत विकासबाट मात्रै सम्भव छ, विद्युत उर्जा उत्पादनमा हाम्रो लगानी तथा प्राथमिकतालाई उच्च राख्नु पर्ने धारणा राख्नु हुंदै कोषाध्यक्ष प्रधानले यस क्षेत्रको विकासमा कुनै प्रकारको अवरोध सृजना नगरी सिंगो राष्ट्रनै लाग्नु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा विश्व वैंक, केपीएमजी भारत, विद्युत प्राधिकरण, उर्जा विज्ञहरू र सरोकारवालाहरूले  उर्जा सम्बन्धी विश्वको परिदृष्य प्रस्तुत गर्दै नेपालको सम्भाव्यतालाई यथार्थतामा रुपान्तरण गर्नुपर्नेमा जोड दिनु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by