Jan 24, 2018
६६ औं अन्तर्राष्ट्रिय भंसार दिवस एचएसकोडलाई समायोजन गर्नुपर्ने उद्यमी व्यवसायीहरुको सुझाव (२०७४/१०/१०)
उद्यमी व्यवसायीहरुले वस्तु आयात निर्यातका क्रममा भंसारविन्दूमा प्रयोग हुने हार्मनाइज्ड कोड (एचएसकोड)लाई समायोजन गर्नुपर्ने सुझाव दिएका छन् । उद्यमी व्यवसायीहरुले एचएसकोडलाई समायोजन गर्ने तथा भारतको एचएस कोडलाई सन्दर्भ(रेफरेन्स)को रुपमा प्रयोग गर्न सकिने व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् । 

६६ औं अन्तर्राष्ट्रिय भंसार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज महासंघ सचिवालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उद्यमी व्यवसायीहरुले एचएस कोडका सम्बन्धमा निजी क्षेत्रको समेत प्रतिनिधित्व हुने गरी एक पूर्णकालिन प्राविधिक समिति गठन हुनुपर्ने माग गरेका छन । यसरी गठन हुने समितिले मूल्यांकन समितिले जस्तै पुनरावलोकन गर्ने व्यवस्था हुनुपर्ने उनीहरुको सुझाव छ । 



आर्थिक विकासका लागि सुरक्षित व्यवसायिक वातावरण ( A Secure business environment for economic development) मुख्य नारा रहेको अन्तर्राष्ट्रिय भंसार दिवसका अवसरमा आयोजित कार्यक्रममा भन्सारबाट संकलन हुने राजस्व र भन्सारका दरहरु देश भित्र रहेका उद्योग व्यवसायहरुलाई संरक्षण गर्नेतर्फ निर्देशित हुनुपर्नेमा जोड दिइयो ।

व्यापार सहजीकरणको मूलभूत सिद्धान्त अनुसार भन्सार कार्यालयहरु बढी सेवामुखि हुनुपर्ने, व्यवसायीहरुले नचाहँदा नचाहँदै पनि न्यून बिजकीकरण वा अधिक बिजकीकरणको समस्या भोग्नु परेकाले आपसी छलफलबाट निक्र्योल गरिनुपर्ने, कारोवार मूल्यलाई मान्यता दिइनु पर्ने, बिलबिजक र भन्सार मूल्यांकनको बिचमा १० प्रतिशतसम्म फरक देखिएमा प्रस्तुत बिल बिजकलाई मान्यता दिइनुपर्ने, भारतबाट पैठारी हुने सामानमा जीएसटी बिललाई मान्यता दिइनुपर्ने, भारतको जीएसटीका दरहरुलाई बिचार गरी १८ प्रतिशत र सो भन्दा कम दरहरु लाग्ने सामानमा भन्सार महसुल घटाइनुपर्ने लगायतका सुझाव सो अवसरमा दिइयो । 

त्यसैगरी उत्पादन मिति, उपभोग अवधि उल्लेख भएका र तोकिएको बस्तुमा तोकिएको गुणस्तर भएको गुणस्तीय बस्तु मात्र पैठारी गर्न दिनुपर्ने, कम्तिमा काठमाडौं बाहेक ७ वटै प्रदेशमा भन्सार जांचपास पछिको परिक्षणको व्यवस्था मिलाइनु पनर्,े विदेशी विनियम नियन्त्रण (वि.वि.नि.) फर्ममा उल्लेख गरिएको विनिमय दरलाई नै भन्सार प्रयोजनको लागि कायम गरिनु पर्ने, भन्सार परिसरमै प्रयोगशाला, क्वारेन्टाइन, बैंक लगायतका अन्य पूर्वाधार उपलब्ध हुनुपर्ने लगायतका धारणा सो अवसरमा राखिएको थियो । 

हाल बैंक ग्यारेन्टी अन्र्तगत पैठारी गर्ने बण्डेड वेयर हाउस सुविधा आफुले उत्पादन गरेको ५० प्रतिशत भन्दा बढी निकासी गर्ने उद्योगलाई मात्र प्रदान गर्ने व्यवस्था व्यवहारिक नभएकोले सोलाई प्रतिशत भन्दा निश्चित रकम (रु दुई करोड) भन्दा वढी निकासी गर्ने उद्योगलाई उपलब्ध गराउनु पर्ने, आर्थिक ऐनको भन्सार ऐनको अनुसूची २ को १२ मा उल्लेखित भन्सार विन्दुबाटै निर्यातमा फ्ल्याट रेट फिर्ता दिने व्यवस्था  लाई कार्यान्वयन हुनुपर्ने, अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त प्रयोगशालाको स्थापना एवं प्रवद्र्धन गरिनु पर्ने, निर्यात गृहको व्यवस्था (निर्यात उद्योगले ऐनमा पाएको सुविधा) कार्यान्वयनमा ल्याउनु पर्ने, भन्सार विभागमा हुने व्यापार सहजिकरणको बैठकलाई निरन्तरता दिइनु पर्ने सुझाव सो अवसरमा दिइयो । 

कार्यक्रममा भंसार विभागका महानिर्देशक जगदिश रेग्मी, महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, भंसार विभागका उपमहानिर्देशक श्रीकृष्ण नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ३ का अध्यक्ष दिनेश श्रेष्ठ, महासंघक वस्तुगत संघका पदाधिकारी, उद्यमी व्यवसायीहरुले भंसार प्रणाली सुधारमा भएको प्रगति एवं आगामी दिनमा गर्नुपर्ने सुधार लगायतका विषयमा आ–आफ्नो धारणा राख्नु भएको थियो । 

महासंघका कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानको पनि उपस्थिति रहेको कार्यक्रममा महासंघको कर तथा राजस्व समितिका सभापति अशोककुमार तोदीले स्वागत मन्तव्य र सोही समितिका उपसभापति कृष्ण दुलालले निजी क्षेत्रका सुझावहरु समेटिएको विस्तृत कार्यपत्र (यसैसाथ संलग्न) प्रस्तुत गर्नु भएको थियो । 
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by