Jan 26, 2018
हङकङ मार्फत व्यापार प्रवर्द्धन अवसरहरु विषयक व्यवसायिक अन्तरक्रिया सम्पन्न (२०७४/१०/११)
नेपाल उद्योग वाणिज्य महासंघ र हङ्कङ् व्यापार विकास परिषद (Hong Kong Trade Development Council- HKTDC)को संयुक्त आयोजनामा हङकङ मार्फत व्यापार प्रवद्र्धनका अवसरहरु (Explore Business Opportunities through Hong Kong) विषयक व्यवसायिक अन्तरक्रिया आज काठमाडौंमा सम्पन्न भयो । 

कार्यक्रममा नेपाल सरकार वाणिज्य मन्त्रालयका उच्च अधिकारीहरु, महासंघका पदाधिकारी एवं कार्यकारिणी समिति सदस्यहरु, दुबै देशका उद्यमी व्यवसायीहरु, हङकङसँग व्यापार/व्यवसायमा संलग्न उद्यमी/व्यवसायीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा हङकङ मार्फत अन्तर्राष्ट्रिय बजारमा नेपाली व्यवसायको प्रवद्र्धनका विषयमा व्यापक छलफल भयो । नेपाल–हङकङ बीचको आर्थिक व्यावसायीक सम्बन्ध विस्तार, हङकङमार्फत नेपालको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, निजी क्षेत्र बीच सम्पर्क विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो । 



सो कार्यक्रमलाई संबोधन गर्नुहुँदै वाणिज्य मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन एवं व्यापारिक सम्पर्क विस्तारमा यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण रहेको र नेपालमा आएर यस प्रकारको व्यवसायिक अन्तरक्रिया आयोजना गर्न एचकेटीडीसीले देखाएको उत्साहको प्रसंशा गर्नुभयो । कार्यक्रमबाट दुबै देशका निजी क्षेत्र बीच व्यावसायिक सम्पर्क विस्तार हुनुका साथै अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा नेपालका लागि हङकङ महत्वपूर्ण व्यापारिक हव बन्ने आशा आफूले गरेको बताउनुभयो । 

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले हङकङसँगको व्यापार घाटा कमगर्न नेपालबाट हङकङमा के–कस्ता वस्तुहरुको निर्यात सम्भाव्यता छ ? त्यसको समेत पहिचान गर्न यो कार्यक्रम सफलहुने विश्वास व्यक्त गर्नुभयो । साथै, वरिष्ठ उपाध्यक्ष गोल्छाले आपसी व्यापार विस्तार खास गरी नेपाली घरेलु तथा साना उद्योगहरुको अन्तर्राष्ट्रियकरणका लागि एचकेटीडीसीसँग एक आधिकारिक सम्पर्क स्थापना गरेर काम गर्न महासंघका तर्फबाट प्रस्ताव समेत राख्नुभयो । (वरिष्ठ उपाध्यक्ष गोल्छाको मन्तव्य यसै साथ संलग्न छ)

एचकेटीडीसीका दक्षिण पूर्वी एसिया तथा दक्षिण एसियाका लागि क्षेत्रीय निर्देशक पिटर होङले (Peter Wong, Regional Director, South East & Asia South Asia, HKTDC) आपसी आर्थिक व्यवसायिक सम्बन्धलाई मजबुत बनाउन यो कार्यक्रम कोशेढुंगा हुने विश्वास प्रकट गर्दै आफ्नो संस्थाले नेपालको निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था महासंघसँग मिलेर निरन्तर यस प्रकारको कार्यक्रम मार्फत नेपालको व्यापार प्रवद्र्धनमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउनुभयो ।



कार्यक्रममा एचकेटीडीसी दक्षिण एसियाका परामर्शदाता राजेश भगत (Rajesh Bhagat, Consultant, South Asia, HKTDC) र एचकेटीडीसी थाइल्याण्ड तथा साउथ एसियाका निर्देशक सन्नी चाउ (Sunny Chau, Director, Thailand & South Asia, HKTDC)  ले नेपाल र हङकङ बीचको व्यावसायिक संभाव्यता, अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु, नेपाली व्यवसायीहरुलाई एचकेटीडीसीमार्फत हुने व्यवहारिक सहयोग लगायतका विषय समेटिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।  



व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सन् २०१६ को तथ्याङ्क अनुसार हङकङबाट नेपालले २० मिलियन अमेरिकी डलर बराबरको सामान आयात गर्नुका साथै नेपालबाट त्यसतर्फ २ मिलियन अमेरिकी डलर बराबरको नेपाली उत्पादनहरु निर्यात गरेको थियो । सो अवसरमा महासंघको तर्फबाट एचकेटीडीसी मार्फत हङकङमा आयोजना हुने व्यापार मेलाहरुमा नेपालको बढी भन्दा बढी सहभागिताका लागि सहयोग गर्न आग्रह गरिनुका साथै महासंघले आयोजना गर्ने सबै प्रकारका व्यापार मेलाहरुमा एचकेटीडीसीको सहभागिता, प्राविधिक सहयोग एवं विज्ञता आदान प्रदानमा जोड दिइयो । एचकेटीडीसीले हङकङमा प्रतिवर्ष ३ सय भन्दा बढी व्यापार मेलाहरुको आयोजना गर्ने गरेको छ । 

कार्यक्रमको अन्त्यमा महासंघका निमित्त महासचिव मिना श्रेष्ठले धन्यवाद मन्तब्य दिनुभएको थियो ।  
  Download Attachment

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by