May 30, 2018
महासंघ र चिनियाँ उद्यमी व्यवसायी बीच द्विपक्षीय भेटवार्ता–नेपाललाई लगानी, प्रविधि तथा विकासको मोडलमा सहयोग गर्न महासंघका अध्यक्ष राणाद्वारा आग्रह (२०७५/०२/१६)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा सहित महासंघका पदाधिकारी समक्ष चीनको कुइचाओ प्रान्तको कुइचाओ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष  चाङ चाओ (Mr. Zhang Zhao, Vice President of Guizhou Federation of Industry and Commerce) को नेतृत्वमा नेपाल भ्रमणमा आएको  चिनियाँ उद्यमी व्यवसायीहरू बीच आज महासंघ सचिवालयमा भेटवार्ता भयो । उपाध्यक्ष  श्री चाङ चाओ अखिल चीन उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य (Executive Member of All China Federation of Industry and Commerce-ACFIC) पनि हुनुहुन्छ ।
  
आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा आयोजना हुने नेपाल चीन गैह्र सरकारी सहयोग मंचको बैठकको तयारी भेटघाटका लागि महासंघ आएको प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा चिनियाँ लगानीका लागि सम्भाव्य क्षेत्रहरूका विषयमा छलफल भयो । उक्त प्रतिनिधिमण्डलसँग भएको भेटवार्तामा नेपालमा उर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन, शिक्षा लगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेकाले लगानी  गर्न आग्रह गरियो । सो अवसरमा चिनियाँ पक्षबाट चीनको एक्जिम बैंकको कुइचाओ शाखा नेपालमा लगानी गर्न निकै सकारात्मक रहेको र कुइचाओ विश्व विद्यालय नेपालको शैक्षिक विकासमा तालीम तथा नेपाली विद्यार्थीको उच्च शिक्षामा सहयोग गर्न तयार रहेको जानकारी गराइयो । 

सो अवसरमा भएको छलफलमा आगामी जुलाईमा चीनको कुइचाओ प्रान्तमा हुने नेपाल चीन गैह्र सरकारी सहयोग मंचको बैठकमा कृषि, पर्यटन, शिक्षा, उर्जा तथा पूर्वाधार लगायतका क्षेत्रमा छलफल राख्ने प्रस्ताव समेत गरियो ।  

कार्यक्रममा महासंघका अध्यक्ष राणाले उक्त प्रतिनिधिमण्डलको स्वागत गर्दै नेपालमा चीनको कुइचाओ प्रान्तसँग निकै धेरै सहकार्यका सम्भाव्यता रहेकाले लगानी, प्रविधि तथा विकासको मोडल आदि कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । साथै उहाँले नेपाल यतिखेर लगानीका लागि निकै उपयुक्त स्थल रहेको समेत स्पष्ट पार्नुभयो । 



महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सह–सभापति रविभक्त श्रेष्ठ, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरू, महासंघका निमित्त महानिर्देशक गोपाल तिवारी, महासंघका वरिष्ठ कर्मचारीहरू र प्रतिनिधिमण्डलका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रममा नेपालका लागि यतिखेर बाह्य लगानी अत्यावश्यक रहेकाले निर्धक्क भएर लगानी गर्न आग्रह गरियो । त्यसका लागि आवश्यक सहयोग गर्न महासंघ तयार रहेको समेत विश्वास दिलाइयो । सो अवसरमा भएको छलफलमा उर्जा, पूर्वाधार निर्माण, शहरी यातायात, रेलवे, स्मार्ट सीटी लगायतका विषयमा पनि छलफल भएको थियो । 

नेपाल भ्रमणका क्रममा चिनियाँ प्रतिनिधिमण्डलले निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ सहित उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, लगानी बोर्ड नेपालमा समेत भेटवार्ता गर्ने कार्यक्रम छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by