Jul 19, 2016

 

नेपाल चीन गैह्र सरकारी सहयोग मंचको तेह्रौं बैठक (13th China-Nepal Non-Governmental Cooperation Forum) चीनको यू चोङ डिष्ट्रिकको झोङ क्योङ शहरमा (Yu Zhong District, ChongQing) आज बस्यो ।

अखिल चीन उद्योग वाणिज्य महासंघ (All-China Federation of Industry and Commerce-ACFIC) को आयोजनामा भएको उक्त बैठकमा भाग लिन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल अहिले त्यहां रहेको छ ।

स्थानीय समय अनुसार विहान ८:३० देखि शुरु भएको बैठक सांझ ५ वजेसम्म चलेको थियो । चीनका लागि कार्यवाहक नेपाली राजदुत हरिशचन्द्र घिमिरे पनि सहभागि रहनु भएको बैठकमा नेपालको तर्फबाट महासंघका अध्यक्ष मुरारकाले र चीनको तर्फबाट अखिल चीन उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ऐन क्वी (An Qiyi) ले नेतृत्व गरिरहनु भएको छ । बैठकमा दुवै देशका महासंघका पदाधिकारी एवं उद्यमी व्यवसायीहरुको सहभागिता थियो ।

बैठकको शुभारम्भ महासंघका अध्यक्ष मुरारका, चीनका लागि नेपाली कार्यवाहक राजदुत घिमिरे, एसीआएफआइसीका उपाध्यक्ष An Qiyi, क्योङ शहरका प्रमुख सोङ एइरोङ (Song Airong, Chongqing Municipal Leader) ले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल चीन बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका माध्यमबाट आपसी लाभका क्षेत्रमा अझ बढी सहकार्यको आवश्यकतामा जोड दिइयो ।

बैठक शुभारम्भ कार्यक्रमसंगै विभिन्न क्षेत्रमा आपसी सहकार्य गर्ने उद्देश्यले तीन वटा सहमतीपत्रमा हस्ताक्षर समेत भयो । जस अन्तरगत रणनीतिक साझेदारी सम्बन्ध (Tripartiete Framework Agreement on Strategic Cooparation) मा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना चेम्वर अफ टुरिजम (China Chamber of Tourism) र ग्लोवल टुरिजम इकोनोमी रिसर्च सेन्टर (Global Tourism Economy Research Center) बीच त्रिपक्षीय सम्झौता भयो ।

सम्झौतापत्रमा महासंघका अध्यक्ष पशुपति मुरारका, चाइना चेम्वर अफ टुरिजमका अध्यक्ष वाङ पिङर (MS. Wang Ping, President, China Chamber of Tourism) र ग्लोवल टुरिजम इकोनोमी रिसर्च सेन्टरका कार्यकारि निर्देशक जाओसन वाङ (Jason Wang, Executive Director, Global Tourism Economy Research Center) ले हस्ताक्षर गर्नुभयो ।

त्यसैगरि नेपाल–चीन सांस्कृतिक आदान प्रदान सम्बन्धी Chinese-Nepalese Cultural Exchange Centre मा सहकार्य गर्न सहमतीपत्रमा हस्ताक्षर भयो । सहमतीपत्रमा नेपाल साइक्लिङ एशोसिएसनका तर्फबाट प्रथम उपाध्यक्ष गोपाल सुन्दरलाल कक्षपति र चाइना चेम्वर अफ टुरिजमका उपाध्यक्ष नीमा झाची (Mr. Nima Zhaxi, Vice President, China Chamber of Tourism) ले हस्ताक्षर गर्नुभयो ।

त्यसैगरि निर्माण सम्बन्धी सामग्रीहरुका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले दजु लोजिष्टिक्स चेम्वर र नेपाल उद्योग वाणिज्य महासंघ बीच एक रणनीतिक साझेदारी सम्बन्धी सम्झौतामा हस्ताक्षर भयो । सम्झौतापत्रमा महासंघका उपाध्यक्ष शेखर गोल्छा र दजु लोजिष्टिक्स चेम्वरका उपाध्यक्ष ली. चीङ (Mr. Liu Xiang Zhaxi, Vice Chairman, Dazu Logistics Chamber) ले हस्ताक्षर गर्नुभयो ।

सोही समयमा सामानान्तररुपमा व्यवसायिक छलफलहरु पनि भयो । पर्यटन व्यवसाय, नविनतम उर्जा र हार्डवेयर तथा निर्माण सामग्री सम्बन्धी दुवै देशका व्यवसायीहरु बीच छुटछुट्ै छलफल तथा आपसी व्यवसायिक भेटवार्ता समेत भयो । बैठकको औपचारिक समापन पश्चात बैठकका सहभागी सहित महासंघको प्रतिनिधिमण्डलले त्यस क्षेत्रको दृश्यावलोकन समेत गऱ्यो ।

प्रत्येक दुई वर्षमा आयोजना हुने मंचको बैठक नेपाल तथा चीनमा पालैपालो आयोजना हुंदै आएको छ । उक्त बैठक यसअघि महासंघको आयोजनामा नेपालमा भएको थियो ।

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरुमा महासंघका उपाध्यक्ष शेखर गोल्छा, अन्तर्राष्ट्रिय एवं गैर आवासीय नेपाली लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र प्रसाद ढकाल, महासंघको इनर्जी इफिसेन्सी एण्ड इन्भायरोमेन्ट फोरमका सह–संयोजक एवं नेपाल विद्युतीय व्यवसायी महासंघका पूर्व अध्यक्ष रामबहादुर श्रेष्ठ, महासंघका सहायक निर्देशक अरुण श्रेष्ठ लगायत हुनुहुन्छ । महासंघको प्रतिनिधिमण्डलमा निर्माण, कृषि, पर्यटन, बैकिङ, उर्जा, कला संस्कृति आदि क्षेत्रको प्रतिनिधित्व रहेको छ । बैठकमा चिनियां पक्षबाट पनि उर्जा, पर्यटन, कृषि, पूर्वाधार निर्माण लगायतका क्षेत्रका व्यवसायीहरुको सहभागिता थियो ।

महासंघको प्रतिनिधिमण्डलमा नेपाल निर्माण व्यबसायी महासंघका उपाध्यक्ष रुद्र प्रसाद शर्मा तथा महासचिब रामशरण देउजा, नेपाल सौर्य विद्युत उत्पादक संघका महासचिव कृष्ण प्रसाद पराजुली, नेपाल हिमालयन एडभेन्चर ट्रष्ट नेपालका अध्यक्ष भूमीलाल लामा, नेपाल पर्वतारोहण संघका द्वितीय उपाध्यक्ष दिवस विक्रम शाह, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्टका सदस्य भागीरथ सापकोटा, ग्रीन नेपाल प्रोडक्शनका प्रवन्ध निर्देशक सिद्धार्थ लामा थिङ, ग्रीन एडभेन्चर्स प्रा लिका अपरेशन म्यानेजर सुन्दर वञ्जारा र नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषदका अध्यक्ष डा हरिशचन्द्र शाह रौनियार पनि रहनु भएको थियो ।

नेपाल चीन गैह्र सरकारी सहयोग मंच, नेपाल र चीन बीच निजी क्षेत्रका तर्फबाट व्यापार तथा लगानी अभिवृद्धि र सास्कृतिक आदान प्रदान गर्ने मुख्य उद्देश्यले सन् १०९६ मा दुवै देशका निजी क्षेत्रका छाता संस्थाहरुको पहलमा स्थापित मंच हो । यस दौरान मंचका माध्यमबाट नेपाल चीन अध्ययन केन्द्रको स्थापना, सूचना आदान प्रदान, व्यापार तथा लगानी सम्बन्धी व्यापार मेला महोत्सवको आयोजना, नेपालमा विशेष गरि रेष्टुरेन्ट क्षेत्रमा लगानी आकर्षण गर्न, नेपालको उर्जा तथा कृषि क्षेत्रमा लगानी सम्भाव्यता अध्ययन तथा लगानी आकर्षण, नेपाल चिनियां पर्यटकका लागि प्रमुख गन्तव्यको रुपमा अनुवन्ध गर्न, औद्योगिक व्यवसायिक ऐन तथा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐनको चिनियां भाषामा रुपान्तरण गर्न, नेपालमा चिनियां बैंकको शाखा ल्याउन, हवाई सम्पर्क विस्तार गर्न, चिनिया मुद्रा नेपालमा सटहीको सुविधा लगायतमा निकै धेरै प्रगतिहरु भएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by