Dec 27, 2022
चर्को ब्याजदर ज्यादती तथा चालु पूँजी कर्जा निर्देशिका विरुद्धका विरोध र्याली  

२०७९ पौष १२ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही तथा उद्योग व्यापार संगठन रुपन्देहीको आयोजना तथा विभिन्न वस्तुगत संघ संस्थाहरुको सहभागितामा वित्तीय संस्थाको चर्को ब्याजदर ज्यादती तथा चालुपूँजी कर्जा निर्देशिका विरुद्ध आन्दोलनका कार्यक्रम आयोजना गरिएको थियो ।  विरोध र्याली नाराबाजीसहित नगरको विभिन्न भागको परिक्रमा गरी नेपाल राष्ट्र बैंक सिद्धार्थनगर गेट अगाडि पुगेर उद्योगी व्यवसायीहरुले धर्ना दिएको थियो । 

धर्नामा सहभागी उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक, उद्योग व्यवसाय गर्ने वातावरण कायम गर, पर्यटन व्यवसाय विस्थापित होइन स्थापित गर, ब्याजदर एकल बिन्दुमा कायम गर, प्रिमियम दर बढीमा २ प्रतिशत गर, उद्योग व्यवसाय नीति कायम गर, चालू पुंजी कर्जा निर्देशिका २०७९ खारेज गर, सावा र ब्याज भुक्तानी अवधी बढाउने माग गरेक थिए ।

उद्योगी व्यवसायीहरुले राखेका माग पूरा नगरेका कारण आन्दोलनमा उत्रिन बाध्य भएको, कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी चर्को बैंक ब्याजदरले थप समस्यामा परेको सिद्धार्थ उद्योग अध्यक्ष भीष्म प्रसाद न्यौपानेले बताउनु भएको थियो यसै उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले चर्को बैंक ब्याजदर घटाउन माग गर्नु भएको थियो ।  

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माज्यूले बैंकले उद्योगी व्यवसायीलाई मानसिक यातना दिइ घरघरमा आतंक सिर्जना गरेको बताउँदै बैंकले आतंक सिर्जना गर्ने कार्य नरोके बैंकमा तालाबन्दी गर्न बाध्य हुने चेतावनी दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालल अग्रवालले उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न र बजारलाई चलायमान गराउन सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरे ।

उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले उद्योगी व्यवसायीले गरेको आन्दोलनमा आम नागरिकले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

बैंकको ब्याजदर एकल अंक कायम गर्नुपर्ने, चालू पूँजी कर्जाको नीति संशोधन गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाको ज्यादती रोक्नुपर्ने लगायतका माग राखेर उद्योगी व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । सरकार माग पूरा हुनेमा समेत उद्योगी व्यवसायी आशावादी देखिएका छन् । नयाँ सरकारले आफूहरुका माग सम्बोधन गर्नेमा आशावादी रहेको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विजय पाण्डेल बताउनु भएको थियो ।  

सिद्धार्थ उद्योग वाणिज्य संघ, उद्योग व्यापार संगठन, रुपन्देही  लगायत डेढ दर्जन संघ-संस्थाहरु धर्नामा सहभागी भएका थिए ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by