May 17, 2023
नेउवामहासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीलाई बुटवलमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ तथा लुम्बिनी प्रदेशबाट महासंघमा निर्वाचित महासंघका कार्यसमिति सदस्यहरुलाई सम्मान गरिएको हो । 

नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू सहित जम्शेर अली, मोहन श्रेष्ठ, केशवप्रसाद भण्डारी, भिष्मप्रसाद न्यौपाने, किशोर आचार्य, अव्दुल वाहिद अन्सारी निर्वाचित निर्वाचित हुनुभएको थियो ।

सोमबाट बुटवलमा आयोजित संघको २९ औं परिषद सभामा उहाँहरुलाई बुटवल उपमहानगरपािलकाका नगरप्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले कदरपत्र सहित माला लगाएर सम्मान गर्नु भएको हो । 

त्यसै अवसरमा लायन्स डिष्ट्रक गभर्नरमा निर्वाचित संघका सल्लाहकार पूर्वअध्यक्ष अर्जुनमान सैंजू, फष्ट भाईस डिष्ट्रिक गभर्नरमा निर्वाचित संघका सदस्य पुरुषोत्तमभक्त प्रधानाङ्ग र नेपाल प्रेस युनियन रुपन्देहीको अध्यक्षमा निर्वाचित संघका सञ्चार समन्वयकर्ता कविन्द्र नेपाललाई पनि सम्मान गरिएको थियो । त्यस्तै संघ अन्तरगत गठित बस्तुगत समितिका सभापतिहरुलाई पनि सम्मान गरिएको थियो ।

सुझावको कार्यान्वयन होस्: अध्यक्ष ढकाल

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको खस्किदो अर्थतन्त्र सुधार गर्नको लागि सबैले आफ्नो आफ्नो ठाउँबाट लाग्नु पर्ने भनाई राख्नुभयो । 

उहाँले महासंघको तर्फबाट सरकार र नेपाल राष्ट्र बैंकलाई बजेट निर्माण तथा मौद्रिक नीतिको सुधारको लागि सुझाव दिएको र सोही अनुसार कार्यान्वयन गर्न पनि आग्रह गर्नुभयो । 

उहाँले महासंघमा नयाँ नेतृत्व आएपछि केही न केही सुधार भएको बताउँदै निजी क्षेत्रका समस्या समाधानको लागि महासंघ लागिरहेको जानकारी गराउनु भयो । उहाँले बुटवल हरेक क्षेत्रमा सम्भावना बोकेको बताउँदै यहाँको व्यवसायमा संलग्न हुन खोजेको भनाई राख्नुभयो । उहाँले आफ्नो व्यवसायमा सहयोग गर्न र त्यसका माध्यमबाट आफूहरुले पनि लाभ लिन यहाँका व्यवसायीलाई आग्रह गर्नुभयो । 

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्योगी व्यवसायीहरुलाई आफ्ना समस्या संगसंगै समाधानका कुराहरु पनि राखिदिन आग्रह गर्नुभयो । उहाँले अहिलेको जल्दोबल्दो समस्या आर्थिक मन्दीलाई व्यवस्थापन गर्नको लागि भईरहेका खर्चमा कटौती गर्न आग्रह गर्नुभयो । डाईवर्ट भईरहेको बुटवलको बजारलाई कसरी बचाईराख्ने भन्ने कुरामा यहाँका व्यवसायी संगै घरधनीहरुलाई सोच्न आग्रह गर्नुभयो । उहाँले ज्योतीनगर पहिरो व्यवस्थापनको लागि संघीय सरकारले ध्यान नदिएको बताउँदै संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो । 

कार्यक्रममा बोल्दै संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले बुटवलको निर्माणाधिन सडक, आर्थिक मन्दी लगायतका कारण व्यापार व्यवसायमा गिरावट आई नगन्य अवस्थामा पुगेको भन्दै त्यसको सुधारका लागि तीनै तहका सरकारको ध्यानाकर्षण गराउनु भयो । 

त्यस्तै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले निजी क्षेत्रको प्रवद्र्धन र विकास विना मुलुकको विकास हुन नसक्ने बताउँदै सरकारले निजी क्षेत्रको सहकार्य चाहेको भनाई राख्नुभयो ।  

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा, संघका सल्लाहकार तथा पूर्व अध्यक्ष अर्जुनमान सैजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, फुड एण्ड वेभरेज बस्तुगत समितिका सभापति कृष्ण पाण्डे लगायतले भनाई राख्नु भएको थियो । 

संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठको धन्यवाद तथा महासचिव विमलराज भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by