Apr 08, 2024
कसैले नचाहे पनि बुटवल आर्थिक राजधानी हुन्छः सांसद पन्थी

लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री विष्णु पन्थीले कसैले नचाहे पनि बुटवल प्रदेशको आर्थिक राजधानी हुने दावी गर्नुभएको छ । बरु बुटवललाई कसरी व्यवस्थित आर्थिक राजधानी बनाउने भन्नेमा बहस हुन आवश्यक रहेको उहाँले भनाई राख्नुभयो । 

उहाँले सबैले मिलेर काम गर्ने हो भने बुटवललाई प्रदेशको मात्रै नभएर देशकै आर्थिक केन्द्रको रुपमा विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सोमबार सम्पन्न ३० औं परिषद सभाको उद्घाटन गर्दै सांसद पन्थीले प्रदेशको राजधानी सरेपछि परेको मनोवैज्ञानिक असर र आर्थिक मन्दीले समेत यहाँको उद्योग व्यापार व्यवसायमा केही जटिलता सिर्जना भएको भनाई राख्नुभयो । 

बुटवलको दायरा फराकिलो हुँदा मुख्य बजारको आर्थिक कृयाकलापमा कमि आएको र त्यहाँका व्यवसायी विस्थापित भएजस्तो देखिएको उहाँले बताउनु भयो । उहाँले बुटवल अरु शहर भन्दा एक कदम अगाडि हुनुपर्ने बताउँदै बुटवललाई आर्थिक राजधानी मात्रै नभएर मुलुककै व्यवस्थित आर्थिक केन्द्रको रुपमा विकास गर्न योजनावद्ध रुपमा अगाडि बढ्नुपर्ने भनाई राख्नुभयो । 

सरकारले राजधानी सार्दा पूर्वाधार र संरचना दिएका संस्थाहरुलाई धन्यवाद दिएर राम्रोसंग विदा हुनुको साटो डाँकाको शैलीमा रातारात सार्दा त्यसले यहाँको आर्थिक गतिबिधिमा नराम्रो प्रभाव पारेको बताउनु भयो । उहाँले कम्तिमा सरकार र मातहतका निकाय बसेका संस्थाहरुको संरचना पूर्ववत रुपमा बुझाउने र मर्मत सम्भारको भुक्तानीसमेत अहिलेसम्म नगर्नु दुःखको कुरा भएको बताउँदै सके चालु आर्थिक वर्ष भित्रै र नभएर आउने वजेटमै व्यवस्था गरेर भुक्तानीको प्रवन्ध मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा स्वागत गर्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले आर्थिक विकाससंग जोडिएका विषयमा निजी क्षेत्र र सरकारको साझा धारणा आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्रको विकासको लागि सरकार गम्भिर बन्नुपर्ने बताउँदै यहि गतिमा मुलुकको आर्थिक गतिबिधि खस्किँदै जाने हो भने मुलुक टाट पल्टिन केही बेर नलाग्ने भनाई राख्नुभयो । 

उहाँले सरकारले पूर्वाधार निर्माण गर्दा सहज आवागमनलाई असर नगर्नेगरी काम गर्नुपर्ने बताउँदै बुटवल–नारायणगढ सडक पूर्वाधार निर्माण पुरा नहुँदै पश्चिमको सडक नभत्काउन सरकारको ध्यानाकर्षण गराउनु भयो । प्रदेश सभा सचिवालय र सभा सञ्चालनको लागि प्रदेश सरकारलाई उपलब्ध गराईएको संघको भवन र सभाहल राजधानी सारेपछि अस्तव्यस्त छाडेको र मर्मत सम्भारको भुक्तानीमा समेत विलम्ब भईरहेको बताउँदै अध्यक्ष अर्यालले सांसद पन्थीलाई भुक्तानीको प्रवन्ध मिलाईदिन आग्रह गर्नुभएको थियो । 

त्यस अवसरमा संघका पूर्वअध्यक्ष नवराज श्रेष्ठले यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा संघले खेलेको भूमिकाको चर्चा गर्दै विकास र समृद्धिको लागि बुटवल र पहाडि जिल्लाहरुको आवागमनलाई सहज र छिटोछरितो बनाउनु पर्नेमा जोड दिनुभयो । त्यसको लागि बुटवल–भैरवस्थान, भैरवस्थान–रिढी, रिढी–बागलुङ (मालढुंगा) द्रुत मार्गको अवधारणा उहाँले अगाडि सार्नुभएको छ । 

कार्यक्रममा संघका महासचिव मुक्तिप्रसाद अधिकारीले प्रतिवेदन प्रस्तुत गर्दै संघले गत असोज यता सम्पादन गरेका कार्यक्रमहरु र त्यसले पारेका प्रभावहरुको बारेमा जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका परामर्शदाता सिए हरि लम्साल, बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तथा संघका कार्यसमिति सदस्य नरिश्वर शर्मा पौडेल, क्याटरिङ तथा मिष्ठान्न बस्तुगत समितिका सभापति लक्ष्मण पोखरेल लगायतले भनाई राख्नुभएको थियो । 

परिषद सभामा संघमा गठित बस्तुगत समितिका सभापतिहरुले हालसम्म गरेका गतिविधिहरु, उद्योगी व्यवसायीका समस्या तथा समाधानका लागि सुझाव सहितका प्रतिवेदन प्रस्तुत गरेका थिए । संघमा २८ वटा बस्तुगत समिति रहेका छन् । बस्तुगत समितिले दिएको प्रतिवेदनका आधारमा व्यवसायीका समस्या समाधानको लागि संघबाट हुनसक्ने पहल संघले गर्ने र केन्द्रमा पहल गर्नुपर्ने कुराहरु महासंघ मार्फत पहल गरिने अध्यक्ष अर्यालले बताउनु भयो । 

त्यसै अवसरमा संघ र संघ अन्तरगत गठित कपडा बस्तुगत समितिले प्रकाशन गरेका २०८१ सालको भित्तेपात्रो विमोचन गरिएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by