Sep 18, 2025
मर्यादित र उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरणका लागि महासंघद्धारा गृहमन्त्रीलाई आग्रह   (२०८२/०६/०२)

नेपाल उद्योग वाणिज्य महासंघले मर्यादित रुपमा उच्च मनोबलका साथ व्यवसाय गर्ने वातावरण निर्माणका लागि सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग आग्रह गरेको छ । 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको टोलीले बिहीबार गृहमन्त्री ओम प्रकाश आर्यालसँग गृह मन्त्रालयमा भेट गरि सो आग्रह गरेको हो । उहाँले शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारलाई तत्काल ठोस कदम चाल्न सुझाव दिनुभयो । 

निजी क्षेत्रले जिल्ला जिल्लामा सुरक्षाको अनुभूति गर्न नसकिरहेकोमा सरकारले सुरक्षामा विशेष ध्यान दिन आग्रह गर्नुभयो । साथै कतिपय उद्यमी व्यवसायी प्रहरीका संरचना पुर्ननिर्माणका लागि तयार रहेको वताउनुहुँदै अध्यक्ष ढकालले यसका लागि उद्योग वाणिज्य संघहरु मार्पmत सहकार्यका लागि प्रमुख जिल्ला अधिकारीहरुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । 

यसैगरि आन्दोलनका क्रममा भएको घुसपैठबाट निजी क्षेत्रको सम्पत्ती माथी भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्नहरूमाथि कारबाही गर्न पनि मन्त्री अर्याल समक्ष आग्रह गर्नुभयो । मुलुकको राजश्वमा योगदान दिनुका साथै रोजगारी दिइरहेको निजी क्षेत्रलाई मर्यादित रुपमा काम गर्न सक्ने वातावरण सिर्जनाका लागि सरकारले सकारात्मक सन्देश प्रवाह पनि गर्नुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । नेपाली अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको छ ।

भेटमा गृहमन्त्री अर्यालले आम नागरिक तथा व्यवसायीहरूको शान्ति सुरक्षाका विषयमा सरकार संवेदनशील रहेको बताउनु भयो । 

महासंघका उपाध्यक्षद्वय हेमराज ढकाल र ज्योत्सना श्रेष्ठ तथा कोषाध्यक्ष भरतराज आचार्यले आन्दोलनका क्रममा निजी क्षेत्रका सयौं व्यवसाय स्थापना प्रभावित भएको, तोडफोड र आगजनीका कारण ठूलो आर्थिक क्षति भएको वताउँदै सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गर्नुभयो । उहाँहरुले दोषिमाथी कारबाही नगरिए दण्डहिनताको अवस्था सिर्जना हुने तर्फ गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । महासंघले घटनामा भएको क्षतिको विवरण संकलन गरिरहेको छ ।

 

Copyright © 2005 - 2025. FNCCI. All Rights Reserved.

Powered by