Nov 20, 2017
(क्यासी प्रतिनिधिमण्डल काठमाडौंमा) क्यासी प्रतिनिधिमण्डल समक्ष नेपालमा लगानीका सम्भाव्यता विषयमा महासंघमा छलफल (२०७४/०८/०४)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा, महासंघका पदाधिकारी, नेपाली उद्यमी व्यवसायी र नेपाल भ्रमणमा आएको एशिया प्रशान्त क्षेत्रका उद्योग वाणिज्य महासंघहरूको प्रतिनिधि संस्था क्यासी (Confederation of Asia Pasicific Chambers of Commerce Industry-CACCI) का अध्यक्ष जामेल इनासिभिली(Mr. Jemal Inaishvili, President,CACCI) को नेतृत्वमा आएको क्यासीको व्यवसायिक प्रतिनिधिमण्डल बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता सम्पन्न भयो । 



क्यासीका पदाधिकारीहरू, विभिन्न देशबाट क्यासीको मेम्वर अर्गनाइजेशनका उद्यमी व्यवसायीहरू, क्यासीको आजिवन सदस्य उद्यमी व्यवसायीहरू सहभागी रहेको उक्त प्रतिनिधिमण्डलमा जर्जिया, अष्ट्रेलिया, वंगलादेश, हङकङ, पाकिस्तान, ताइवान र क्यासी सचिवालयका सदस्यहरु रहेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ पनि क्यासीको संस्थापक सदस्य रहेको छ ।  



सो भेटवार्तामा महासंघको रोजगारदाता परिषदका सभापति एवं उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, क्यासीका वर्तमान उपाध्यक्ष(नेपाल) एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरु सहभागी रहनु भएको सो कार्यक्रमलाई संवोधन गर्नुहुँदै महासंघका अध्यक्ष राणा (लिखित मन्तव्य) ले नेपाल समृद्धिको मार्ग तर्फ अगाडी बढ्ने तरखरमा रहेकाले नेपालमा अहिलेको सही समयमा लगानी गर्न अन्तराष्ट्रिय लगानीकर्ताहरूलाई महासंघले आग्रह गरिरहेको जानकारी गराउनु भयो ।

नीतिगत सुधारदेखि, स्थानीय निर्वाचन सम्पन्न भएको, राष्ट्रिय चुनाव पनि निर्धारित समयमा हुन लागेको र संघीय नेपालको नयां संविधान कार्यान्वयनमा गैरहेकाले नेपाल अव सवै प्रकारको अस्थिरताबाट मुक्त भई आर्थिक समृद्धि तर्फ अगाडी बढीरहेको विभिन्न देशका उद्यमी व्यवसायी सम्मिलित क्यासी प्रतिनिधिमण्डललाई अध्यक्ष राणाले जानकारी गराउनु भयो । 

लगानीका क्षेत्र पर्याप्त रहेको, कुनै पनि क्षेत्र पूर्णरुपमा विकासित नभएकाले सवै क्षेत्रमा उत्तिकै सम्भाव्यता रहेको अवस्थामा जुनसुकै क्षेत्रमा लगानी गरेपनि पर्याप्त मुनाफा आर्जन गर्न सकिने भएकाले नेपालमा एशिया प्रशान्त क्षेत्रबाट लगानी आकर्षणका लागि क्यासीको महत्वपूर्ण सहयोगको अपेक्षा महासंघले गरेको उहांले स्पष्ट पार्नुभयो । विभिन्न देशको प्रतिनिधित्व गरी यहां आउनु भएको छ, यसवर्षको नेपाल भ्रमणमा नेपालमा लगानीको महत्वपूर्ण योजनाका साथ तपाईहरूको देश फर्कन तपाईहरुलाई सफलता मिलोस, अध्यक्ष राणाले भन्नु भयो । 
आजैमात्र हामीले मुलुकका शीर्षस्थ नेताहरुलाई एकै ठाउँमा भेला गराएर उनीहरूले घोषणापत्रमा उल्लेख गरेका आर्थिक एजेण्डालाई अगाडी बढाउन प्रतिवद्धता लिने काम गरेका छौं र दलका तर्फबाट स्वदेशी एवं विदेशी लगानी आकर्षणका लागि प्रतिवद्धता समेत आएको समेत उहांले सो अवसरमा जानकारी गराउनु भयो । 



सो अवसरमा क्यासीका अध्यक्ष जामेलले नेपालले पछिल्लो पटक आर्थिक वृद्धिमा गरेको प्रगति, राजनीतिक स्थिरता, स्थानीय चुनाव सम्पन्न भई केन्द्रीय चुनाव समेत सम्पन्न हुन गएको सुन्न पाउँदा आफूहरूलाई निकै खुशी लागेको बताउनुहुँदै नेपालको आर्थिक समृद्धिको अभियानमा आफ्नो संस्थाको तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । क्यासीको अध्यक्ष कार्यकालमा आफूले पटकपटक नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेको र आफू निकै प्रभावित भएको समेत बताउनु भयो । उहांले क्यासीका माध्यमबाट कसरी लगानी तथा प्रविधि आकर्षणमा सहयोग गर्न सकिन्छ महासंघसँग समेत नियमित छलफल गरेर अगाडी बढ्ने विश्वास दिलाउनु भयो । 



सो अवसरमा महासंघ र हङकङको कोलोन चेम्वर अफ कमर्स (Kowloon Chamber of Commerce-KCC) बीच सहकार्य गर्ने उद्देश्यले एक सहमतीपत्रमा हस्ताक्षर सम्पन्न भयो । सहमतीपत्रमा महासंघका अध्यक्ष भवानी राणा र कोलोन चेम्वर अफ कमर्सका अध्यक्ष ली फुङ चेङ झोङ (Mr. Li Fung Cheung John, President-KCC) ले हस्ताक्षर गर्नुभयो । 
सहमती अनुसार दुवै संस्था बीच आपसी लाभका क्षेत्रमा सहकार्य, आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, लगानी तथा प्रविधि आकर्षण, व्यवसायिक प्रतिनिधिमण्डलको आदान प्रदान, लगानीका क्षेत्र सम्बन्धी नीतिगत व्यवस्था सम्बन्धी सूचनाको आदान प्रदान गरिने छ । सो अवसरमा व्यवसायी व्यवसायी बीच आपसी व्यवसायिक भेटवार्ता समेत सम्पन्न भएको थियो । 




 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by