Feb 27, 2018
महासंघको प्रतिनिधिमण्डलद्वारा नवनियुक्त अर्थ र उद्योग मन्त्री समक्ष भेटवार्ता (२०७४/११/१५)
समृद्धिको मूल आधार भनेकै निजी क्षेत्र, स्वदेशी विदेशी दुवै लगानीलाई प्राथमिकता दिने– अर्थ मन्त्री
औद्योगिक विकासमा निजी क्षेत्रसँगको सहकार्य आफ्नो पहिलो प्राथमिकता–उद्योग मन्त्री 

  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरू सम्मिलित महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडा र नवनियुक्त उद्योग मन्त्री मात्रिका यादव समक्ष छुट्टाछुट्टै भेटवार्ता गर्‍यो । नवनियुक्त मन्त्रीहरूलाई मन्त्रालयमा भेटी महासंघको प्रतिनिधिमण्डलले बधाई दिनुको साथै मुलुकको आर्थिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्‍यो । 

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरु उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकाल, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान, कार्यकारिणी समितिका सदस्यहरु, महासंघका महासचिव सुरेश मान श्रेष्ठ सहभागी रहनु भएको उक्त भेटवार्तामा महासंघका अध्यक्ष राणाले अर्थतन्त्रको अवस्था कमजोर भएको वेलामा अनुभवी माननीयज्यूलाई मुलुकले अर्थमन्त्रीको रुपमा पाउँदा निजी क्षेत्र अत्यन्त उत्साहित भएको र अर्थमन्त्रीज्यूको नेतृत्वमा अर्थ मन्त्रालयले छिट्टै आशा लाग्दा कार्यक्रमहरू ल्याउने विश्वास प्रकट गर्नुभयो । 

निकै धेरै चुनौती नेपाली अर्थतन्त्रमा छन्, अव ती चुनौतीहरूलाई पार लगाउँदै मुलुकभित्र लगानीको वातावरण बनाउने कार्यमा अर्थ मन्त्रीबाट महत्वपूर्ण भूमिका निर्वाह हुने हामीले अपेक्षा गरेका छौं, अध्यक्ष राणाले भन्नु भयो– एक परिपक्व, आर्थिक विषय वस्तुका ज्ञातालाई पाउँदा अव अर्थतन्त्र सही दिशा तर्फ जाने हाम्रो विश्वास छ । 

सम्माननीय प्रधानमन्त्रीज्यूसँग हालै महासंघका तर्फबाट भएको औपचारिक भेटवार्ता र सो क्रममा प्रधानमन्त्रीज्यूबाट आर्थिक विकासका दिशामा चालिने कदमका वारेमा व्यक्त प्रतिवद्धताप्रति आफूहरू निकै आशावादी रहेको भन्दै अध्यक्ष राणाले निजी क्षेत्रको संलग्नतामा एक सल्लाहकार समूह गठन गर्ने प्रधानमन्त्रीज्यूको योजनाले छिटटै पूर्णता पाउने आशा आफूहरूले गरेको बताउनु भयो । 



सो अवसरमा अर्थमन्त्री डा. खतिवडाले विगतमा पनि आफूले महासंघसँग नजिकमा रहेर कार्य गरेको स्मरण गर्नुहुदै आफूले पदवहालीको क्रममा व्यक्त पाँचवटा प्रतिवद्धतालाई सफल रूपमा कार्यान्वयन गर्न महासंघबाट समेत सहयोगको अपेक्षा गरेको बताउनु भयो । समृद्धिको मूल आधार भनेकै निजी क्षेत्र हो भन्नेमा आफू विश्वस्त रहेको बताउनु हुँदै साना तथा मझौला उद्योगहरू, पर्यटन, कृषि, पूर्वाधार विकासमा लगानी प्रवद्र्धन गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने पनि विश्वास दिलाउनु भयो । आर्थिक अनुशासन कायम गर्न आफ्नो पहिलो प्राथमिकता हुने उहाँले स्पष्ट पार्नुभयो । समग्रमा उद्योग व्यवसायमा रहेका समस्याहरू पेश गर्न पनि अर्थमन्त्रीले महासंघको प्रतिनिधिमण्डल समक्ष आग्रह गर्नुभयो ।  

यसैगरी उद्योग मन्त्री यादवले मुलुकभित्र औद्योगिक विकासमा आफूले सक्दो प्रयास गर्ने र महासंघ जस्ता उद्यमीहरूको संस्थासँग आफूले निरन्तर रुपमा नजिकमा रहेर कार्य गर्ने विश्वास दिलाउँदै आफूलाई सहयोग गर्न आग्रह गर्नुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र निजी क्षेत्र बीच निरन्तर सम्वाद सहकार्य गरेर अगाडी बढ्ने योजना रहेको उद्योग मन्त्रीले सो अवसरमा जानकारी गराउनुभयो । हामी सवै देश बनाउन लागौं, यसका लागि हामी सवैले एउटा “सिस्टम” बसालेर काम गर्ने परिपाटीको विकास गरौं–मन्त्री यादवले भन्नु भयो । 



उद्योग मन्त्रीसँगको भेटमा महासंघका तर्फबाट मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावरण बनाई दिन आग्रह गरियो । निजी क्षेत्रलाई समृद्धिको आधारका रुपमा लिई लगानीका लागि अभिप्रेरित गर्न महासंघका तर्फबाट जोड दिइयो । मुलुकभित्र औद्योगिक विकासको लहर ल्याउन माननीय मन्त्रीज्यूबाट नेतृत्वदायी भूमिका निर्वाह हुने विश्वास समेत महासंघका अध्यक्ष राणाले प्रकट गर्नुभयो । साथै महासंघका तर्फबाट वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धित ऐन कानूनहरू समक्ष सापेक्ष रुपमा संशोधन हुन समेत माग गरिएको थियो । ती दुवै भेटहरूमा महासंघका तर्फबाट अव मुलुक स्थायित्व तर्फ अगाडी बढ्ने विश्वास प्रकट गरियो । 


 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image