Dec 14, 2020
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डसमक्ष महासंघका नवनिर्वाचित पदाधिकारीहरूद्वारा भेटवार्ता (२०७७/०८/२९)
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माननीय पुष्प कमल दाहाल “प्रचण्ड” समक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले हिजो सांझ उहांको निवास खुमलटारमा औपचारिक भेटवार्ता गर्नुभयो ।
 
महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू अन्जन श्रेष्ठ र रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले अध्यक्ष दाहालसंगको भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराउनु भयो । 

अध्यक्ष गोल्छाले आर्थिकदेखि सम्पूर्ण क्षेत्रकै लागि कोभिड अत्यन्त ठूलो चुनौती बनेर आएकाले यसबाट मुलुकलाई सकुशल माथि उठाउनु सवैको कर्तव्य भएको र निजी क्षेत्रको नेतृत्वदायी संस्था महासंघले यसका लागि विशेष गृहकार्य गरीरहेको बताउनु भयो । निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि बताउनु भयो । 

सो अवसरमा महासंघका पदाधिकारीहरुबाट साना तथा मझौला उद्योग व्यवसायको पुनरूत्थानमा विशेष जोड दिनुपर्ने बताउँदै मौद्रिक नीति मार्फत आएका राहतका सुविधाहरूको कार्यान्वयनको अनुभुति स्थानीयतहका उद्यमी व्यवसायीहरूले गर्न पाउनु पर्नेमा जोड दिइयो ।  



सो अवसरमा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयां टिम सफल हुने विश्वास व्यक्त गर्नुभयो । निजी क्षेत्रको सर्वोच्च संस्था महासंघलाई आफूले सधै उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुहुंदै उहांले मुलुकको अर्थतन्त्रको प्रमुख आधारकोरूपमा रहेका साना तथा मझौला उद्योग व्यवसायको पुनरुत्थानका लागि आफ्नो पनि विशेष जोड रहेको र महासंघको नयां नेतृत्व पनि यसमानै केन्द्रीत रहेको पाउंदा आफूलाई खुशी लागेको बताउनु भयो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by