Dec 16, 2020
नेपाली कांग्रेसका सभापति देउवा र नेकपा वरिष्ठ नेता नेपाल समक्ष महासंघका नवनिर्वाचित पदाधिकारीहरूद्वारा छुट्टाछुट्टै भेटवार्ता (२०७७/०९/१)

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री माननीय शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता  एवं पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपाल समक्ष आज विहान छुट्टाछुट्टै भेटवार्ता गर्नुभयो । 





महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सम्मिलित प्रतिनिधिमण्डलले ती दुवै औपचारिक भेटवार्तामा नयाँ नेतृत्वले कोभिड संकटको अवस्थामा मुलुकको अर्थतन्त्रलाई सकुशल माथि उठाउन निजी क्षेत्रको सुझाव सहितको भिजन पेपर तयारी गरिरहेको जानकारी गराउनु भयो । सरोकारवाला निकाय एवं विज्ञहरूको समेत व्यापक सल्लाह, परामर्शमा रिसर्च र तथ्यमा आधारित भिजन पेपर तयार गरी सरकार तथा राजनीतिक दलहरूमा पेश गर्ने कार्यक्रम रहेको अध्यक्ष गोल्छाले स्पष्ट पार्नुभयो ।  निजी क्षेत्रले सरकार तथा राजनीतिक दलहरूबाट मुलुकको आर्थिक पुनरूत्थानका लागि उत्तिकै सहयोगको अपेक्षा गरेको पनि उहाँले बताउनु भयो । 

महासंघसंगको भेटवार्तामा नेपाली कांग्रेसका सभापति देउवा र नेकपाका वरिष्ठ नेता नेपालले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई दिंदै उद्योग व्यवसायको विकास विस्तारमा सक्रियतापूर्वक लाग्न नयाँ टिम सफल हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँहरू दुवै जनाले आफ्ना तर्फबाट सक्दो सहयोग गर्ने र आउँदा दिनमा पनि निरन्तर संवाद र सहकार्यमा रहने विश्वास दिलाउनु भयो । महासंघको नयाँ नेतृत्वको अगामी कार्ययोजनाबाट प्रभावित भएको पनि सो अवसरमा उहाँहरूले व्यक्त गर्नुभयो ।


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by