Dec 23, 2020
नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका सचिवहरुसंग परिचयात्मक कार्यक्रमको आयोजना (२०७७/०९/०८)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा नेपाल सरकारका मुख्य सचिव, सचिवहरु र उच्चपदस्थ अधिकारीसंग आज काठमाडौंमा एक परिचयात्मक कार्यक्रमको आयोजना गर्यो । महासंघका नवनिर्वाचित पदाधिकारी, समिति सभापतिहरु र नेपाल सरकारका उच्च पदाधिकारीहरु बीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले महासंघले कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको प्रारम्भमा महासंघका अध्यक्ष शेखर गोल्छाले उपस्थिति मुख्य सचिवज्यू सहित सचिवज्यूहरुको स्वागत गर्दै सरकार निजी क्षेत्र बीचको सहकार्यलाई आगामी दिनमा थप प्रगाढ पार्दै लैजानुपर्नेमा जोड दिनुभयो । अध्यक्ष गोल्छाले सो अवसरमा महासंघको नवनिर्वाचित टिमको परिचय पनि गराउनु भयो । 

अध्यक्ष गोल्छाले भन्नुभयो– अब चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत घोषणा भएको साना तथा मझौला उद्यमी लक्षित पुर्नकर्जा प्रवाह पनि शुरु भएको छ । व्यवसाय निरन्तरता कर्जा पनि शुरु हुने क्रममा छ । यसले साना मझौला उद्यमीलाई राहत पुग्नेछ । तर पर्यटन लगायतका केहि अति प्रभावित क्षेत्रमा समस्या कम भएको छैन । त्यसैले अति प्रभावित क्षेत्रको श्रमिक व्यवस्थापन लगायतका क्षेत्रमा सरकारको सहकार्य खोजिरहेका छौ । 



सो अवसरमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागीले निजी क्षेत्रको मुलुकभित्र उद्योग व्यवसायको विस्तार सहित आर्थिक विकासमा सहयोग गर्न सरकारको कर्मचारी प्रशासनबाट सदैव सहयोग र सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनु भयो । 

मुख्य सचिव वैरागीले मुलुकको व्यापार घाटा कम गर्नेतर्फ सरकार निजी क्षेत्र निरन्तर अगाडी बढेको र यसमा केही सफलता पनि प्राप्त भएको बताउंदै हाम्रा तुलनात्मक लाभका क्षेत्रहरु मार्फत व्यापार घाटा कम गर्ने तर्फ हाम्रो संंयुक्त प्रयास केन्द्रीत हुनुपर्ने धारणा राख्नु भयो । 



के गर्दा वाह्य लगानी, आन्तरिक लगानी बढाउन सकिन्छ, पूंजी, शीप आकर्षण गर्न सकिन्छ र समग्रमा निजी क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ त्यसमा सरकार तपाई निजी क्षेत्रलाई सहयोग गर्न तयार छ, मुख्य सचिवले भन्नुभयो–मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ । 



कार्यक्रमको अन्त्यमा धन्यवाद मन्तव्य दिनुहुंदै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रवद्र्धनबाट मात्र मुलुकको आर्थिक विकास हुने भएकाले निजी क्षेत्रले फस्टाउने बातावरण बनाउनु पर्नेमा जोड दिनु भयो ।



कार्यक्रममा नेपाल सरकारका सचिवहरु, सहसचिवहरु, उपसचिवहरु, महासंघका पदाधिकारीहरु, समिति सभापतिहरुको उपस्थिति रहेको थियो ।  


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by