Feb 24, 2021
महासंघको सूचना तथा संचार प्रविधि समिति विस्तारः आइसीटीको विकासका लागि प्राथमिकताहरू तय गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव (२०७७/११/१२)

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिका सदस्य मंगेशलाल श्रेष्ठको सभापतित्वमा गठित सूचना तथा संचार प्रविधि विकास समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा क्यान महासंघ नेपालका अध्यक्ष नवराज कुंवर, नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुली, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धिताल र नेपाल सरकारका पूर्व सहसचिव वीरेन्द्र मिश्र हुनुहुन्छ । 

समितिका सदस्यहरूमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौका दिपक भण्डारी, लोटस होल्डिङसका प्रमुख कार्यकारी निर्देशक अजित विक्रम शाह, ठमेल डटकमका संस्थापक बाल कृष्ण जोशी र नेपाली यूवा उद्यमी मंचका सुरक्षा अधिकारी हुनुहुन्छ । त्यसैगरी समितिको सल्लाहकारहरूमा सूचना प्रविधि उच्चस्तरीय आयोगका पूर्व उपाध्यक्ष मनोहर भटराई, फयूजमेशिन (Fusemachines) का प्रमुख कार्यकारी अधिकृत डा. समिर मास्के, वाइज्याक शोलुसन (Wiseyak Solutions) का प्रमुख कार्यकारी अधिकृत प्राध्यापक सुरेश मानन्धर र गोल्छा अर्गनाइजेशनका संजय गोल्छा हुनुहुन्छ । 

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले तयार गरिरहेको भिजन पेपरमा पनि सूचना तथा प्रविधिलाई उच्च प्राथमिकता दिइएकोले सो दस्तावेजलाई बढी उपयोगी बनाउन समितिबाट महत्वपूर्ण सुझावको अपेक्षा गरेको वताउनु भयो । अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने यो क्षेत्रको विकासका लागि के गर्नुपर्छ त्यसका प्राथमिकताहरू तय गर्न समितिलाई सुझाव दिनु भयो । सोही प्राथमिकताहरूलाई महासंघको भिजन पेपरमा पनि समावेश गरिनेछ, अध्यक्ष गोल्छाले भन्नु भयो–समितिले तयार गरेको दस्तावेज तथ्य र अनुसन्धानमा आधारित र कार्यान्वयन गर्ने खालको होस् । 

अध्यक्ष गोल्छाले जुनसुकै मुलुकको आर्थिक विकासका लागि सूचना तथा प्रविधि क्षेत्रको योगदान निकै महत्वपूर्ण हुने बताउंदै यस क्षेत्रमा पर्याप्त रोजगारी सिर्जना गर्न सकिने भएकाले समिति मार्फत मुलुकभित्र सूचना तथा प्रविधि क्षेत्रको विकासमा महासंघले महत्वपूर्ण योगदान दिन चाहेको स्पष्ट पार्नुभयो । अध्यक्ष गोल्छाले भन्नु भयो–आइसीटीको विकासमा सरकारको पहल सुस्त देखिएको, सूचान प्रविधि पार्कको सही अर्थमा उपयोग हुन नसकेको गुनासो गर्नुभयो । 

कोभिड पश्चात सूचना प्रविधिको प्रयोग अझ बढ्न गएकाले अर्थतन्त्रसंग जोडिन सक्ने दूरदराजका किसान, आफनै पौरखमा रमाइरहेका ससाना उद्यमी व्यवसायीहरू र उनीहरूका उत्पादनलाई सिधै बजारसम्म जोड्ने प्रविधिको प्रयोग बढाउनु पर्ने सुझाव अध्यक्षको थियो । यसो हुन सक्यो भने त्यस्तो वर्ग अर्थतन्त्रको मूल प्रवाहमा समाहित हुन सक्छ, अध्यक्ष गोल्छाले भन्नु भयो–सूचना प्रविधिको विकासकै कारण कोभिड महामारीमा पनि आपूर्तिमा कुनै समस्या भएन, घर घरमा सामान पुग्ने वातावरण बन्यो ।

तत्पश्चात समिति सभापति श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले इ-कमर्शको विस्तारको साथै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रुपमा आइसीटीका सम्भावनाहरूको पहिचान गरी सुझाव तयार गर्ने र आइसीटी विकास एवं विस्तार सम्बन्धी नीति, ऐन, नियम एवं सरकारी निर्णयको पुनरावलोकन गरी गर्नु पर्ने सुधार सम्बन्धमा राय सुझाव तयार गर्ने निर्णय समेत गरेको छ ।
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image