Jul 13, 2021
 न्यूनतम पारिश्रमिकको कार्यान्वयन एवं उद्योग व्यवसाय संचालनको लागि सहज वातावरण बनाई राख्न जारी संयुक्त अपिल

नेपाल सरकारबाट चिया बगान बाहेकका प्रतिष्ठानमा काम गर्ने श्रमिकहरूको लागि हाल कायम रहेको न्यूनतम पारिश्रमिक रू. १३,४५०।– मा पुनरावलोकन गरी २०७८ श्रावण १ गते देखि लागू हुने गरी न्यूनतम तलव रू. ९,३८५।– र महंगी भत्ता रू.५,६१५।– समेत गरी रू. १५,०००।– न्यूनतम पारिश्रमिक निर्धारण गरिएको सबैमा विदितै छ । 

सरकारले हाल निर्धारण गरेको न्यूनतम पारिश्रमिक, पारिश्रमिक बृद्धि नभई न्यूनतम पारिश्रमिकको दरको बृद्धि मात्र हो । यसरी न्यूनतम पारिश्रमिकमा भएको बृद्धि सबै तहका श्रमिक कामदारको पारिश्रमिकमा बृद्धि नभएको स्पष्ट पार्न चाहान्छौं । न्यूनतम पारिश्रमिक भन्दा माथिको पारिश्रमिक प्रतिष्ठानले आफ्नो आर्थिक अवस्था अनुसार तय गर्ने हुँदा न्यूनतम पारिश्रमिकमा भएको बृद्धि रकम सबैले पाउनु पर्छ भन्ने होइन । 

कोरोना महामारीबाट उत्पन्न विषम र असहज परिस्थितिका कारण सम्पूर्ण उद्योग व्यवसायले ठूलो नोक्सानी व्यहोर्नु परेको अहिलेको अवस्थामा उद्योग र रोजगारी दुबैको बचाउ गर्नु पहिलो आवश्यकता हो । यसर्थ संकटग्रस्त र थलिएका उद्योग व्यवसायको पुनरूत्थान र पूर्ववत अवस्थामा फर्काउन सम्पूर्ण श्रमिकहरूले समझदारीका साथ थप प्रयास गर्नुको विकल्प छैन । औद्योगिक शान्ति कायम गरी विद्यमान कठिन परिस्थितिबाट चाँडो बाहिर निस्कन तथा निर्वाधरूपमा उद्योग व्यवसाय संचालन गर्ने वातावरण बनाई राख्ने काममा सहयोग पुर्‍याउन सम्पूर्ण श्रमिकहरू सहित सबैमा हामी निजी क्षेत्रका संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्वर अफ कमर्स संयुक्तरूपमा हार्दिक अपिल गर्दछौं ।  
 
शेखर गोल्छा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ    
सतिशकुमार मोर
अध्यक्ष
नेपाल उद्योग परिसंघ    
राजेन्द्र मल्ल
अध्यक्ष
नेपाल चेम्वर अफ कमर्स

मिति २०७८ असार २९, मंगलवार
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by