Aug 26, 2021

नेपाल उद्योग वाणिज्य महासंघले लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक नवप्रवर्तनीय (स्टार्टअप) उद्यमीहरूका लागि लक्षित गरी ल्याएको ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिने समय पुन: सुचारू गरिएको छ ।  

कार्यक्रममा अनलाइन आवेदन गत बैशाख ४ गतेदेखि खुला गरिएको थियो । ५० स्टार्टअप–५० लगानीकर्ता कार्यक्रम महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिको पहलमा ल्याइएको हो । 

कोभिड महामारीका कारण बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूलाई समेटन नसकिएकाले मुलुकभरबाट बढी भन्दा बढी नवप्रवर्तनीय उद्यमीहरूको सहभागिता हुन सकोस भनेर महासंघले आवेदन दिने समय पुन: सुचारू गरेको हो । यसअघि आवेदन दिई सकेकाले पुन: आवेदन दिनुपर्ने छैन भने आवेदक फर्म भरि सकेपछि महासंघबाट इमेल मार्फत सम्पर्क गरिने छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि दिन सकिने छ । उक्त आवेदन प्रक्रियालाई पुन: सुचारु गरी कार्यक्रममा मुलुकभरबाट बढी भन्दा बढी स्टार्टअप उद्यमीहरूको सहभागिता बढाउने कार्यमा सहयोग गर्न महासंघले आफना सातैवटा प्रदेश चेप्टरहरूलाई आग्रह समेत गरेको छ । 

लगानीकर्ताहरूको व्यावसायिक अभिरूचीसंग छनौट भएर आउने स्टार्टअपहरूलाई मिलान गराई फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा स्टार्टअप समितिले सहयोग गर्नेछ । 

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि समेत यो आवेदन गरिएको हो । एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता भएका व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफनो व्यवसायमा शीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन दिन सक्नेछन् । 

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन (MOA), आर्टिकल अफ एशोशिएसन (AOA) र सम्बन्धित अन्य रजिष्ट्रेशनहरू, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक/संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ ।

महासंघको वेभसाइटको देहायको वेभपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिने छ ।
( https://fncci.org/news/detail.php?i=2958 )

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by