Dec 13, 2021
महासंघका अध्यक्ष र फ्रेन्च राजदूत बीच भेटवार्ता - भौगोलिक अवस्थिति र यूवाहरूको बाहुल्यता नेपालको सशक्त पक्ष हुनु, अध्यक्ष गोल्छा (२०७८/८/२७)
  
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपालका लागि फ्रान्सेली राजदुत जिल बुर्बाओ (H.E. Gilles BOURBAO, Ambassador of France to Nepal) बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भयो । सो अवसरमा आपसी आर्थिक व्यापारिक सम्बन्ध विस्तार, कृषि, पर्यटन, नविकरणीय उर्जा लगायतका क्षेत्रमा संयुक्त लगानी विस्तारमा छलफल भयो ।
 
भेटवार्तामा राजदूत बोरबाओको महासंघ सचिवालयमा स्वागत गर्नुहुंदै अध्यक्ष गोल्छाले कोभिडले कमजोर बनेको नेपालको अर्थतन्त्रलाई माथि उठाउन वाह्य सहयोगको आवश्यकता रहेकोमा जोड दिनु भयो । यो दुई वर्षको दौरानमा नेपाली अर्थतन्त्रले निकै धेरै चुनौतीको सामना गर्नु परेको पनि बताउनुभयो ।
 
सरकारको सहयोग र निजी क्षेत्रको धैर्यतापूर्वक काम गर्ने शैलीका कारण अर्थतन्त्र ठूलो दूर्घटनाबाट जोगिएको स्पष्ट पार्नुहुंदै अझै खतरा भने टरि नसेककाले अर्थतन्त्रका आधारहरू बलियो बनाउने कार्यमा निजी क्षेत्र लागेको बताउनु भयो ।

यसका लागि महासंघले अर्थतन्त्रको मुख्य आधारशिलाका रुपमा रहेको साना तथा मझौला उद्यम व्यवसायको लागि तत्काल पुनरूत्थानमा जोड दिएको बताउनुभयो । महासंघले आगामी दश वर्षमा नेपालको अर्थतन्त्रको सुखद परिकल्पना गरी भिजन पेपर ल्याएको त्यसलाई सफल पार्न पर्याप्त बाह्य एवं आन्तरिक लगानी आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाल सरकारबाट समेत महासंघको उक्त दस्तवेजलाई अपनत्व लिई कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको बताउनुभयो ।
 
नेपालमा फ्रेन्च लगानीका लागि सहयोग गर्न पनि अध्यक्षले आग्रह गर्नुभयो । नेपालमा लगानीका प्रशस्त सम्भावना छन्, बाह्य लगानीका लागि सरकारी अनुकुल नीति र वाह्य लगानीकर्तालाई हार्दिकतापूर्वक स्वागत गर्ने निजी क्षेत्रको चाहना रहेकाले लगानीका लागि सहयोग गर्न आग्रह गर्नुभयो । भौगोलिक अवस्था र यूवाहरूले भरिएको मुलुक भएकाले नेपालमा गरेको लगानीबाट पर्याप्त लाभ उठाउन सकिने पनि स्पष्ट पार्नुभयो । 

अध्यक्ष गोल्छाले फ्रेन्च राजदूतावास र महासंघको नजिकको सहकार्यमा परिणामदायी कार्यहरू हुनेमा महासंघ विश्वस्त रहेको र राजदुतबाट महत्वपूर्ण सहयोग पाउने आशा महासंघले गरेको बताउनुभयो । साथै उहांले नेपाल फ्रान्स बीचको एतिहासिक संस्कृतिक सम्बन्धको चर्चा पनि गर्नुभयो ।  

राजदूत जिल बुर्बाओ (H.E. Gilles BOURBAO, Ambassador of France to Nepal) ले महासंघले अगाडी सारेका सहकार्यका प्रस्तावमा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । हामी धेरै क्षेत्रमा छरिनु भन्दा पनि ठोस र परिणामदायीरूपमा काम गर्न सकिने क्षेत्रहरू पहिचान गरी अगाडि बढौं, सफलता हासिल हुनसक्छ, राजदूतले भन्नुभयो–नविकरणीय उर्जा, कृषिको उत्पादकत्व बृद्धि, पर्यटन, विद्युतीय सवारी साधन लगायतका क्षेत्रमा सहकार्य गर्न सक्छौं । साथै उहांले महासंघ र राजदूतावासबाट विगतमा सम्पन्न भएका महत्वपूर्ण कार्यक्रमहरूका सम्बन्धमा स्मरण समेत गर्नुभयो । 

भेटवार्तामा महासंघका उपमहानिर्देशक गोकर्णराज अवस्थी, फ्रान्सेली राजदूतावासका चार्ज डि मिसन दिपेश कुमार बिडारी, महासंघका उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछानेको उपस्थिति थियो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by