Jun 13, 2022
इण्डोनेशिया र चिलीको लगानीका लागि महासंघको आग्रह (२०७९/०२/३०)

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा सहित पदाधिकारीहरू र नेपालका लागि इण्डोनेशियाका राजदुत हेरू हर्तान्तो सुवोलो (H.E. Heru Hartanto Subolo, Ambassador of Indonesia to Nepal) बीच महासंघ सचिवालयमा भेटवार्ता भयो । 

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्ष दिनेश श्रेष्ठ, महानिर्देशक गोकर्ण राज अवस्थीको उपस्थिति थियो ।  



त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल र उपाध्यक्ष दिनेश श्रेष्ठसंग नेपालका लागि चिलिका राजदुत जुआन रोलाण्डो अङगुलो मोनसाल्भे (H.E. Juan Rolando Angulo Monsalve, Ambassador of Chile to Nepal) ले महासंघ सचिवालयमा भेटवार्ता गर्नुभयो । 

ती दुवै भेटवार्तामा महासंघकातर्फबाट नेपालमा इण्डोनेशिया र चिलीको लगानीका लागि कुटनीतिक माध्यमबाट सहयोग हुन आग्रह गरिएको थियो । दुवै मुलुकसंग नेपालको द्विपक्षीय व्यापारको आंकडा अत्यन्त न्यून रहेको पाइन्छ । 

महासंघमा उपलव्ध पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा नेपाल इण्डोनेशिया बीचको आयात–निर्यात क्रमश: रू. १७ अरव – रू. २६ करोड देखिन्छ भने नेपाल चिली आयात–निर्यात क्रमश: 
रू.९ करोड – रू.९३ लाख मात्र छ । संयुक्त लगानी नगण्य नै देखिन्छ । तथ्यांक अनुसार नेपालमा इण्डोनेशियाको रू. ३५ करोड र चिलीको रू. ३० करोडको मात्र संयुक्त लगानी रहेको छ । 

भेटवार्तामा द्विपक्षीय व्यापार विस्तारमा विशेष जोड दिइयो । के गर्दा व्यापार विस्तार गर्न सकिन्छ त्यसमा सहयोग गर्न हामी तयार छौं, भेटवार्तामा महासघकोतर्फबाट प्रतिवद्धता व्यक्त भयो । यसका लागि दुवै देशका निजी क्षेत्र बीचको आपसी सम्बन्ध विस्तार, व्यावसायिक तथा लगानी भ्रमणको आदान प्रदानमा जोड दिइयो ।

नेपालको भौगोलिक अवस्थिति र यहांको सस्तो श्रम सक्तिका कारण नेपालमा वस्तु उत्पादन गरी भारत तथा चीनको बजारमा निर्यात गर्न सकिने पर्याप्त सम्भाव्यता रहेको पनि जानकारी गराइयो । नेपाल सरकार र निजी क्षेत्र वाह्य लगानी आकर्षणमा निरन्तर लागीरहेको र सरकारी नीति पनि सोही अनुसार वाह्य लगानी मैत्री रहेको भेटवार्तामा बताइयो । नेपालमा कृषि, पूर्वाधार विकास, पर्यटन, उर्जा, सूचना तथा प्रविधि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानीको अथाह सम्भाव्यता रहेको पनि स्पष्ट पारियो । 

छुट्टाछुट्टै भेटवार्तामा राजदूतहरूले आपसी आर्थिक तथा निजी क्षेत्र बीचको सम्बन्ध विस्तार, लगानी आकर्षणमा आफ्नोतर्फबाट सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नु भयो । साथै दुवै देशका निजी क्षेत्र बीच समन्वयनका लागि पनि सहयोग गर्ने विश्वास समेत दिलाउनुु भयो । दुवै भेटवार्ता शुक्रवार सम्पन्न भएको थियो ।   
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by