Jun 16, 2022
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई एफएनसीसीआईद्वारा स्वागत बधाई - आफना क्षेत्रमा क्याप्टेनको भुमिका निर्वाह गर्नुहोस–नेउवामहासंघ (२०७९/०३/०२)

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य वस्तुगत संघहरूको हालै सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूको सम्मानमा महासंघले बुधवार महासंघ सचिवालयमा स्वागत एवं बधाई कार्यक्रम आयोजना गर्‍यो । सदस्य वस्तुगत संघका नवनिर्वाचित टिमलाई महासंघले नियमित रूपमा स्वागत एवं बधाई कार्यक्रमको आयोजना गर्दै आएको छ । 

महासंघको वस्तुगत परिषद्ले आयोजना गरेको कार्यक्रममा नेपाल हस्तकला महासंघ, नेपाल ईटा उद्योग महासंघ, नेपाल अलैची व्यवसायी महासंघ, नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस्, नेपाल चलचित्र संघ, नेपाल दाना उद्योग संघ र नेपाल बिउ व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गरिएको थियो । 

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले नवनिर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई खादा लगाई स्वागत एवं बधाई दिनुभयो । सो कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा वस्तुगत संघहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उद्योगधन्दाको विस्तार, रोजगारी सृजना, पूंजी निर्माणमा तपाईहरूको योगदानलाई महासंघले सधै उच्च प्राथमिकता दिएको छ, अध्यक्ष गोल्छाले भन्नुभयो, महासंघले अगाडि सारेको भिजन पेपरका लक्ष्यलाई पुरा गर्ने कार्यमा पनि तपाईहरूको सहयोग महासंघले खोजेको छ । 

आफना सवै सदस्यहरूसंग पर्याप्त छलफल गरेर भिजन पेपर तयार पारिएको स्मरण गराउनुहुंदै अध्यक्ष गोल्छाले भन्नुभयो - अव यसले लिएका लक्ष्य पुरा गर्ने कार्यमा तपाईहरूले आ-आफना स्थानबाट नेतृत्व लिएर अगाडि बढ्नुहोस तपाईहरूलाई के कस्तो सहयोग चाहिन्छ, महासंघले सहयोग गर्छ । साथै उहांले नवनिर्वाचित पदाधिकारीहरूको सफल कार्यकालको शुभकामना पनि दिनुभयो ।  

स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठले महासंघको शक्तिनै सदस्य संघहरू भएकाले आफ्ना सदस्यहरूको सहयोग र सहकार्यमा निजी क्षेत्रका चुनौतीको सामना गर्दै मुलुकभित्र उद्योग व्यवसाय विस्तार, रोजगारी सृजनामा महासंघ लागिरहेको स्पष्ट पार्नुभयो । निजी क्षेत्रका अगाडि समस्याको पहाड रहेकाले ती समस्याहरूलाई पन्छाएर काम गर्न निजी क्षेत्र बीच एकता र सहकार्य आवश्यक भएकोमा जोड दिनु भयो । उपाध्यक्षद्वयले भन्नुभयो - तपाईहरूले आफ्ना क्षेत्रमा क्याप्टेनको भुमिकामा रहेर जिम्मेवारी निर्वाह गर्न र आफ्नो कार्यकालमा आफ्ना क्षेत्रमा उल्लेख्य कार्य गर्न सफल हुनुहोस् । 



नवनिर्वाचित अध्यक्षहरूको तर्फबाट मन्तव्य राख्ने क्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्रको दीर्घकालिन विकासको लागि सार्क हस्तकला विकास केन्द्र संचालन, महासंघले राष्ट्रिय हस्तकला विकास नीतिको मस्यौदा गरी सरकारमा प्रस्तुत गरी सकेको हुँदा सोको कार्यान्वयनमा एफएनसीसीआईबाट सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।

नेपाल ईंटा उद्योग महासंघका अध्यक्ष शंकर बहादुर चन्दले लगानी र रोजगारीका हिसावले उल्लेख्य योगदान दिएको ईंटा उद्योगलाई राज्यले उद्योगको मान्यता दिन नसकेकोमा गुनासो गर्नुभयो । र्इंटा उद्योगलाई बीमा कम्पनीले पनि पत्याएनन्, सरकारले पनि प्राथमिकतामा राखेन’ उहांले भन्नुभयो - अहिले ईटा उद्योगमा दक्ष जनशक्तिको चर्को अभाव छ, भारतबाट जनशक्ति ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बाध्यता भएकाले जनशक्ति विकासमा महासंघको सहयोग खोजेको बताउनु भयो । 

नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले यस क्षेत्रका विविध समस्या छन्, तालीम प्राप्त जनशक्ति छैनन, यसको गुणस्तर पहिचान, मार्केटिङ, प्याकेजिङ, ब्राण्डिङ लगायतमा ठूलो समस्या छ, यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष भट्टराईले स्वदेश तथा विदेशमा आयोजना हुने मेला महोत्सवमा नेपाली अलैचीका लागि छुटै स्टलको व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो । 

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्टस (नाटा) का अध्यक्ष रमेश थापाले कोभिडले थिलोथिलो भएको ट्राभल व्यवसायको उत्थानका लागि सहयोग गर्न आग्रह गर्नुभयो । सम्पदा क्षेत्रमा सार्वजनिक सवारी साधन निषेध गरिनुपर्ने, पर्यटन क्षेत्रका लागि छुट्टै वस पार्कको व्यवस्था हुनुपर्ने, महासंघको पर्यटन समितिमा पर्यटन क्षेत्रका विविध समस्याका वारेमा नियमित छलफल गरी समस्या समाधानमा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने सुझाव उहाँले राख्नु भयो । 

नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले कुखुराको मासु र अण्डामा आत्मनिर्भर भएपनि दाना उत्पादनमा भने अहिलेपनि अरू देशकै भरपर्नु पर्ने परिस्थिति रहेको बताउनु भयो । दानाका लागि आवश्यक मकै तथा भटमासको पीनाका लागि छिमेकी देश भारत तथा अन्य राष्ट्रहरूको भर पर्नुपर्ने परिस्थिति अन्त्य गर्नु पर्ने र त्यसका लागि नेपालमा मकै र भटमास खेती विस्तारमा सरकारको ध्यानाकर्षण गराउनु पर्ने र यसमा महासंघले सहयोग गर्नुपर्ने सुझाव राख्नु भयो । 

नेपाल चलचित्र संघका अध्यक्ष विरेन्द्र नारायण श्रेष्ठले अर्वौको लगानी गरी हजारौलाई रोजगारी दिइरहेको चलचित्र व्यवसायीलाई राज्यले प्राथमिकतामा पर्न नसकेको गुनासो गर्दै राष्ट्रिय उद्योगको मान्यता दिने कार्यमा महासंघले सहयोग गर्नुपर्ने बताउनु भयो । कोभिड महामारीबाट बढी प्रभावित सूचीमा राखिएपनि राज्यले दिनुपर्ने सुविधाबाट वंचित गरिएको गुनासो गर्नुभयो । उहांले समग्रमा चलचित्र व्यवसायीहरूलाई परेको पिरमार्कामा सहयोग गर्न महासंघलाई आग्रह गर्नुभयो । 

नेपाल बीउ व्यवसायी संघका अध्यक्ष वसन्तचन्द्र मरहठ्ठाले नेपाललाई बीउ आत्मनिर्भर बनाउने कार्यमा संघले लागेपनि बीउ व्यवसाय ऐन २०४५ का कारण त्यो निकै कठिनाई भएको बताउनु भयो । ऐनका कतिपय प्रावधानका कारण व्यवसायीहरू पलायन हुन थालेको बताउंदै संसदमा दर्ता रहेको बीउ विजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयकलाई जतिसक्दो छिटो पारित गर्ने कार्यमा सहयोग गर्न महासंघलाई आग्रह गर्नुभयो । साथै उहांले महासंघलाई नीतिगत विषयमा नियमित छलफल चलाउन पनि आग्रह गर्नुभयो । 

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्यहरू, वस्तुगत परिषद्का उपसभापतिहरू, सदस्यहरू र उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by