Sep 13, 2022
विज्ञापन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूको जोड (२०७९/०५/२७)

नेपाल उद्योग वाणिज्य महासंघ र विज्ञापन बोर्डको संयुक्त तत्वावधानमा विज्ञापन आचार संहिता र विज्ञापनको राष्ट्रिय नीतिका विषयमा गहन छलफल भएको छ । आइतवार महासंघ सचिवालयमा आयोजना गरिएको कार्यक्रममा महासंघ, बोर्डका पदाधिकारी, उद्यमी व्यवसायीहरू, विज्ञापनदाता र संचार माध्यमका व्यवस्थापकहरूको सहभागिता रहेको थियो । 

विज्ञापन वोर्डले केही महिना अघिमात्र विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ सार्वजनिक गरेको थियो भने विज्ञापनको राष्ट्रिय नीतिको तयारीमा काम गरिरहेको सो अवसरमा जानकारी गराइयो । विज्ञापन आचार संहितको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाताहरूको प्रतिवद्धता र विज्ञापनको राष्ट्रिय नीतिका सम्बन्धमा सुझाव लिने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई महासंघका अध्यक्षले संवोधन गर्नुहुंदै आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा महासंघकातर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउनु भयो । 

अध्यक्ष गोल्छाले अर्थतन्त्रको विस्तारका लागि महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण भिजन पेपरको कार्यान्वयनबाट नेपालमा विज्ञापन वजारको दायरालाई फराकिलो पार्ने कार्यमा समेत ठूलो सहयोग पुग्ने धारणा राख्नु भयो । जतिबढी अर्थतन्त्र फस्टाउन गयो, उद्योग व्यवसाय बढे, नेपाल समृद्धितर्फ जान सक्यो विज्ञापन व्यवसाय पनि सोही अनुसार फस्टाउने र यसको दायरा फराकिलो हुने हुंदा अर्थतन्त्रको विस्तारमा सवैको सहयोग सहकार्य अपरिहार्य हुनेमा उहांको जोड थियो । 

अर्थतन्त्र संकुचन हुंदा उद्योग, व्यापार, व्यवसाय र बिज्ञापन व्यवसाय पनि संकुचन हुने कुरालाई हामीले प्रत्यक्षरुपमा भोग्दै आएका छौं, अध्यक्ष गोल्छाले भन्नुभयो, करिव पौने १५ अर्वको विज्ञापन बजार यदि अवस्था सहज भैदिएको भए आजको दिनसम्म करिव २० अर्वको हाराहारी पुग्ने थियो तर कोभिडका कारण यसमा ठूलो धक्या लाग्न गयो । 

कुल विज्ञापनमा स्वदेशी विज्ञापनको अंश करिव ६० प्रतिशत र विदेशी विज्ञापनको अंश करिव ४० प्रतिशत रहेको तथ्यांक राख्नुहुंदै अध्यक्ष गोल्छाले विज्ञापन सम्बन्धी नीति, कानुन, आचार संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा यो क्षेत्रको भविष्य निकै राम्रो रहेको अध्यक्ष गोल्छाले बताउनु भयो । 

बोर्डका कार्यकारि अध्यक्ष लक्ष्मण हुमागाईं आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा विज्ञापनदाता र महासंघको सहयोग वोर्डका लागि महत्वपूर्ण रहने बताउनुु भयो । बोर्डका कार्यकारि अध्यक्ष हुमागाईले विज्ञापन व्यवसायलाई स्वच्छ मर्यादित, पारदर्शि र प्रतिस्पर्धी बनाउने उद्देश्यले विज्ञापनको राष्ट्रिय नीति ल्याउन खोजिएको समेत स्पष्ट पार्नुभयो । 

कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य रंजितराज आचार्य, महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, नेपाल विज्ञापन संघका अध्यक्ष सोम प्रसाद धितालले आचासंहिताको प्रभावकारी कार्यान्वयन हुन सके विज्ञापन व्यवसायमा देखिएका विकृतिहरु स्वत: निश्क्रिय भई समग्र विज्ञापन व्यवसायको वृद्धिमा सहयोग पुग्ने धारणा राख्नु भयो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by