Sep 25, 2022
कार्यस्थलमा आधारित तालीम संचालन हुने परियोजना कार्यान्वयनका लागि साझेदार सदस्य वस्तुगत संघहरुसंग सम्झौतापत्रमा हस्ताक्षर (२०७९/०६/०९)

नेपाल उद्योग वाणिज्य महासंघद्वारा यूरोपियन यूनियन ब्रिटिश काउन्सिल, दक्षता परियोजना र आइएलओको सहयोगमा विभिन्न चार वटा क्षेत्रलाई समेटेर कार्यस्थलमा आधारित छोटो अवधिको तालीम कार्यक्रम संचालन गरिने भएको छ । 

कृषि, पर्यटन, उत्पादनमुलक, पूर्वाधार क्षेत्रलाई समेटेर संचालन हुने उक्त तालीम कार्यक्रमसंग जोडिएका महासंघका सदस्य वस्तुगत संघहरु क्रमश: फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपाल, रेष्टुरेन्ट एण्ड वार एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स, नेपाल मत्स्य व्यवसायी संघ, नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघ र नेपाल अलैची व्यवसायी महासंघ र नेपाल उद्योग वाणिज्य महासंघ बीच कार्यक्रम कार्यान्वयन सम्बन्धी सम्झौतापत्रमा एक कार्यक्रम बीच छुट्टाछुट्टै हस्ताक्षर भयो । 

चार महिनाको उक्त परियोजनामार्फत १ सय ५० जनालाई कार्यस्थलमै तालीम दिईने छ र तालीम पश्चात उनीहरुलाई रोजगारीमा समेत परिचालन गरिने छ । तालीम पूर्वमा झापा, मोरङ, सुनसरी र काठमाडौमा संचालन हुने छ । पूर्वमा अदुवा, अलैची तथा मत्य व्यवसाय र काठमाडौंमा उत्पादनमुलक (छाला जूत्ता) र पर्यटन (वेटर कुक, एयर टिकटिङ र टुर प्रडक्ट डेभलपमेन्ट) संग सम्बन्धित छोटो अवधिको कार्यस्थलमा आधारित तालीम संचालन गरिने छ ।    

महासंघ सचिवालयमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं महासंघको वस्तुगत परिषदका सभापति अन्जन श्रेष्ठले दक्ष जनशक्ति अभाव भैरहेको अहिलेको समयमा महासंघ, आइएलओ र सदस्य वस्तुगत संघहरुको संयुक्त सहकार्यमा हुने तालीम कार्यक्रमबाट दक्ष र शीपयुक्त जनशक्ति उत्पादन र आपूर्तिमा ठूलो सहयोग पुग्ने विश्वास प्रकट गर्नुभयो । तालीम कार्यक्रम संचालन गर्न आइएलओबाट भएको सहयोगको सह्राहना गर्दै आगामी दिनमा पनि शीपयुक्त जनशक्ति विकासमा अझ बढी सहयोगको अपेक्षा गरेको बताउनु भयो ।  

महासंघका उपाध्यक्ष श्रेष्ठले वार्षिक रुपमा ५ लाख युवा जनशक्ति रोजगारीका लागि श्रम बजारमा प्रवेश गर्ने र जसमध्ये करिव ७० प्रतिशत रोजगारीमा जाने गरेका र ती मध्ये अधिकांश अदक्ष र अर्धदक्षनै जाने गरेको तथ्यांक राख्दै यो अवस्थालाई जतिसक्दो छिटो चिर्नु आवश्यक भएकाले जनशक्ति विकासको महासंघको अभियान यो कार्यक्रमले निकै ठूलो सहयोग पुर्याउने आशा समेत गर्नुभयो । 

आइएलओका नेशनल प्रोजेक्ट कोअर्डिनेटर शौरमराम जोशीले शीप विकासमा काम गर्ने धेरै संस्थाहरु भएपनि त्यसले राष्ट्रिय आवश्यकतालाई पुरा गर्न नसकिरहेको आजको समस्यालाई संवोधन गर्न आइएलओले महासंघसंग मिलेर यो कार्यक्रम ल्याएको स्पष्ट पार्नुभयो । यसमा आवद्ध हुने महासंघका सदस्य वस्तुगत संघहरुको तालीम कार्यक्रमलाई सफल पार्न ठूलो भूमिका रहने पनि उहांले बताउनु भयो । शीप, श्रम र मर्यादित रोजगारीका लागि आइएलओले सधै जोड दिएको पनि उहांले स्पष्ट पार्नुभयो । आगामी दिनमा महासंघसंग मिलेर अझ धेरै क्षेत्र र संख्यालाई समेटने गरी थप तालीम कार्यक्रममा पनि सहकार्य गर्न सकिने धारणा उहांले राख्नु भयो । 

परियोजनाका साझेदारी वस्तुगत संघका पदाधिकारीहरुले परियोजनालाई सफल पार्ने कार्यमा प्रतिवद्धता जनाउंदै यो कार्यक्रमले वस्तुगत संघहरुको संस्थागत विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

महासंघको स्वास्थ्य तथा शीप विकास समितिका सभापति हेमराज ढकालले छोटो अवधिको यो तालीम कार्यक्रमबाट सम्बन्धित क्षेत्रमा आवश्यक जनशक्ति आपूर्तिमा ठूलो सहयोग गर्ने विश्वास प्रकट गर्दै आफ्नो समितिले शीप विकासका अन्य कार्यक्रमहरु पनि ल्याउन प्रयास गरिरहेको जानकारी गराउनु भयो ।  

कार्यक्रममा महासंघको वस्तुुगत परिषद्का सहसभापति अरनिको राजभण्डारी, महानिर्देशक गोकर्णराज अवस्थी, उपनिर्देशक विदरचन्द्र लामिछाने, सहायक निर्देशक अजितकुमार गुप्ताको सहभागिता थियो । सो अवसरमा महासंघकातर्फबाट परियोजनाको वारेमा संक्षिप्त प्रस्तुती गरिएको थियो । कार्यक्रममा महासंघको कार्यकारिणी समितिका सदस्य, सदस्य वस्तुगत संघका पदाधिकारी, उद्यमी व्यवायीहरुको उपस्थिति थियो ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by