Mar 17, 2023
एफएनसीसीआई र एफएनएफ बीच आपसी सहकार्यका विषयमा छलफल (२०७९/१२/०३)

जर्मन संस्था फ्रेडरिक नौमन फाउण्डेशन (FNF) ले काठमाडौंमा आयोजना गरेको दक्षिण एसियाली सम्मेलनमा भाग लिन नेपाल भ्रमणमा आएको जर्मन प्रतिनिधिमण्डल र एफएनसीसीआई बीच भेटवार्ता भएको छ । फ्रेडरिक नौमन फाउण्डेशन एफएनसीसीआईको पुरानो साझेदार संस्था हो । 

एफएनसीसीआईका अध्यक्ष शेखर गोल्छा र दक्षिण एशियाका लागि एफएनएफका क्षेत्रीय परियोजना व्यवस्थापक फ्रयाङ्क होफमेन (Mr Frank Hoffmann, Regional Project Manager, Friedrich Naumann Foundation for Freedom South Asia) को नेतृत्वमा एफएनसीसीआई आएको प्रतिनिधिमण्डल बीच चैत्र ३ गते सम्पन्न भेटवार्तामा नेपालको अर्थतन्त्र र आर्थिक विकासमा एफएनसीसीआईको भूमिका, नेटवर्क र भावी सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा अध्यक्ष गोल्छाले एफएनएफ प्रतिनिधिमण्डलको स्वागत गर्नुहुंदै नेपालको आर्थिक विकासमा जर्मन सहयोग निकै नै महत्वपूर्ण रहेको खासगरी चेम्वरहरुको संस्थागत विकासमा जर्मन सहयोग प्रशंसनीय रहेको बताउनु भयो । 

आर्थिक विकासमा निकै पछाडी रहेको नेपालमा लगानीको प्रशस्त सम्भावना रहेका र विशेषगरी उर्जा, पर्यटन, पूर्वाधार विकास, व्यवसायिक कृषिमा जर्मन लगानीका लागि अनुरोध गर्नुुभयो । 

साथै उहांले एफएनसीसीआई र एफएनएफ बीचको सहकार्य निकै लामो र प्रगाढ रहेकाले यसबाट आगामी दिनमा दुवै पक्षलाई लाभ हुने कार्यक्रममा सहकार्य अगाडि बढाउनु पर्ने सुझाव राख्नु भयो ।  



एफएनएफका क्षेत्रीय परियोजना व्यवस्थापक होफमेनले एफएनसीसीआईसंगको भेट निकै महत्वपूर्ण रहेको र नेपालमा चेम्वरहरुको सशक्त पक्षका वारेमा सुन्न पाउंदा निकै खुशी लागेको बताउनु भयो । 

बैठकमा एफएनसीसीआईका अध्यक्षले राख्नु भएको सहकार्यको प्रस्तावलाई आफूले निकै महत्वपूर्ण रुपमा लिएको र कसरी नयां कार्यक्रममा सहकार्य गर्न सकिन्छ थप छलफल गरी अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो ।

सो अवसरमा प्रतिनिधिमण्डलकातर्फबाट नेपालको अहिलेका आर्थिक अवस्था, अर्थतन्त्रको विकासमा एफएनसीसीआईको भूमिका, संगठनात्मक संरचना तथा संचालन, श्रम बजारको अवस्था, व्यवसायिक तालीम, नेपालमा रहेको जर्मन लगानी लगायतका विषयमा एफएनसीसीआईसंग जिज्ञासा राखेका थिए । बैठकमा महासंघ र एफएनएफ प्रतिनिधिमण्डलका सदस्यहरुको उपस्थिति थियो ।   
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by