Sep 11, 2023
महासंघ उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ भेटवार्ता - व्यवसायीको मनोबल बढाउन सरकारले पहल गर्नुपर्छः अध्यक्ष ढकाल (२०८०/०५/२५)

उप प्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको महासंघ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । 

सोमबार भएको भेटका क्रममा महासंघ अध्यक्ष ढकालले विद्यमान आर्थिक मन्दीबाट अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको वताउनुभयो । उहाँले अर्थतन्त्रमा निजी क्षेत्रको हिस्सा ८१ प्रतिशत रहेको स्मरण गराउँदै निजी क्षेत्र सम्मानित भएर आप्mनो काम गर्न सक्ने वातावरण आवश्यक रहेको वताउनुभयो । 

अर्थतन्त्रलाई चलायमान बनाउन केन्द्रिय बैंक र सरकार दुवैको भूमिका रहेको अध्यक्ष ढकालको भनाइ थियो । उप प्रधानमन्त्री एवं गृहमन्त्रीको जिज्ञासामा अध्यक्ष ढकालले निजी क्षेत्रको मनोबल बढाउन निजी क्षेत्रको मर्यादाक्रमको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामीले निजी क्षेत्रको मर्यादाक्रमका लागि सरकारसमक्ष आग्रह गरिरहेका छौ,’ उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा मनोबल बढाउन यसले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’

उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले यस बिषयमा काम भैरहेको र छिट्टै निर्णय गरिने वताउनुभयो । यसैगरि अध्यक्ष ढकालले सिमा क्षेत्रमा हुने अवैध आयात निर्यात नियन्त्रणका लागि गृह मन्त्रालयले विशेष ध्यान दिनुपर्ने वताउनुभयो । कैलालीको गौरीफन्टामा रहेको क्वारेन्टाइन पुनः संचालनका लागि पनि अध्यक्ष ढकालले आग्रह गर्नुभयो । महासंघका पदाधिकारी एवं प्रदेश अध्यक्षहरु सहभागि रहेको भेटवार्तामा गिटी वालुवा लगायतका वस्तुहरुको आवश्यक वातावरणीय लगायतका प्रभाव अध्ययन गरि निकासी गर्न दिइनुपर्ने सुझाव पेश गरिएको थियो । यसैगरि नयाँ बनेका पोखरा र गौतम वुद्ध विमानस्थल संचालनका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव महासंघको थियो । सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा बजारमा रकम प्रवाह गर्न बिकास निर्माणमा सरकारी लगानी आवश्यक रहेकोमा जोड दिइएको थियो । उप प्रधान एवं गृहमन्त्री श्रेष्ठले अर्थतन्त्र सुधारका लागि सरकारले सम्बन्धित सबैसंग छलफलको तयारी गरिरहेको वताउनुभयो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by