Sep 24, 2023
नेपाल चीन बिजनेस समिट - चिनियाँ लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्य (२०८०/०६/०७)

नेपालमा चिनियाँ लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फको निर्यात सहजीकरणका लागि दुवै तर्फका सरकार र निजी क्षेत्रले सहकार्य गर्ने वताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रे‍ड (सिसिपिआइटी) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा दुवै तर्फका उच्च पदस्थ अधिकारी र निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त धारणा राख्नु भएको हो । 

द्विपक्षीय व्यापार प्रवर्द्धन, पर्यटन क्षेत्रको बिकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित समिटका प्रमुख अतिथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानीको वातावरण सुधार हुँदै गैरहेको वताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अझै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको वताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक बिकास सम्भव भएको बताउनुभयो । 



प्रधानमन्त्री दाहालले कुनै पनि मुलुक सरकार र निजी क्षेत्रको सहकार्य सहकार्यविना समृद्ध नहुने बताउंदै उहाँले त्यसका लागि वातावरण बनाउने बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र प्रवर्द्धनमा सरकार सधैं तत्पर रहेको बताउनुभयो ।  साथै उहाँले महासंघले लगानी, पर्यटन र निर्यात प्रवर्द्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको सराहना पनि गर्नुभयो । 

चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुई देशबीचको व्यापार घाटा चिन्ताको बिषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो । 

सिसिपिआइटीको मुख्यालय बेइजिंगमा सेप्टेम्बर २४, २०२३ मा आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य मन्त्रालयका भाइस मिनिस्टर लि फिइले चीन र नेपाल बीचको सम्बन्ध निक्कै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाँले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी विस्तार हुने बताउनुभयो । चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो । 

नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यसैगरि उहाँले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्ने बताउनुभयो । 

समिटमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीका अवसर सिर्जना गर्न, पर्यटन प्रवर्द्धन र निर्यात विस्तारका लागि सरकारले प्रयत्न गरिरहेको बताउनुभयो । साथै, नेपालमा चिनियाँ लगानी बढाउन र निर्यात प्रवर्द्धनका लागि यो समिट महत्वपूर्ण रहने महासंघ अध्यक्ष चन्द्र ढकालले बताउनुभयो । 

कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पुर्वाधारहरु जस्तै केवलकार, थिम पार्क रिसोर्ट लगायतमा विदेशी लगानीको वढि सम्भावना देखिएको उहाँले बताउनुभयो । नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । 

विदेशी लगानी सहजीकरणका लागि महासंघमा विदेशी लगानी सहायता कक्ष समेत स्थापना भएको अध्यक्ष ढकालले बताउनुभयो । नेपालमा लगानी गरेका बहुराष्ट्रिय कम्पनीहरुले राम्रो मुनाफा आर्जन गरिरहेको जानकारी गराउनुहुँदै अध्यक्ष ढकालले नेपाल सुरक्षित लगानी गन्तव्य रहेकोमा जोड दिनुभयो । 

अध्यक्ष ढकालले दुई देशबीच कारोबार बढिरहेको सन्दर्भमा चिनियाँ बैंकको आवश्यकता रहेको बताउनुभयो । चिनियाँ बैंक शाखाको रुपमा वा नेपालीसंगको संयुक्त लगानीमा आउन सक्ने उहाँले बताउनुभयो । 


सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको वताउनुहुँदै समिटले द्विपक्षीय व्यापार अभिवृद्धिमा समिट महत्वपूर्ण हुने बताउनुभयो । सिसिपिआइटी नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सिसिपिआइटीले सहयोग प्रदान गर्ने विश्वास जताउनुभयो । 

महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पुर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे प्रस्तुति गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसंगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताउनुभयो । 

समिटमा १२० जना चिनियाँ कम्पनीको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, राष्ट्रिय उद्योग व्यापार महासंघका पदाधिकारी सहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागि नेपाली उच्च अधिकारीहरुको पनि सहभागिता थियो । उक्त समिट पूर्व बिजनेस टु बिजनेस वैठक पनि राखिएको छ ।

यसअघि, महासंघ र सिसिपिआइटीका पदाधिकारीहरुबीच द्विपक्षीय छलफल समेत भएको थियो । जसमा दुई संस्थाबीचको सहकार्य विस्तार, संयुक्त परियोजनाको कार्यान्वयन, नेपाल चीन लगानी एवं व्यापार सहजीकरणका बिषयमा छलफल भएको थियो । 

छलफलमा अध्यक्ष ढकाल सहित निवर्तमान अध्यक्ष शेखर गोल्छा, बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यक्षहरु हेमराज ढकाल एवं ज्योत्सना श्रेष्ठको सहभागिता थियो । यसैगरि महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र महासंघ कर्णाली प्रदेश अध्यक्ष पदम वहादुर शाहीले पनि वैठकमा सहभागिता जनाउनुभएको थियो । यसैगरि कार्यसमिति सदस्यहरु मनोज पौडेल, हरि कार्कि र सोभा ज्ञवालीको पनि कार्यक्रम एवं वैठकमा सहभागिता थियो । 

समिटका क्रममा आईएमई समूहले सिएएमसी इन्जिनियरिंग कम्पनीसंग लगानी विस्तारको समझदारी गरेको छ । यसै गरि चौधरी समूहले जिएसी मोटर्स र होजोन मोटर्ससंग पनि सम्झौता गरेको छ । 

महासंघले पछिल्लो चार महिनामा देशबाहिर आयोजना गरेको यो दोस्रो समिट हो । यस अघि प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा पनि महासंघ साझेदार संस्था कन्फिडरेसन अफ इन्डियन इन्डिष्ट्रिजसंगको सहकार्यमा नेपाल भारत बिजनेस समिट आयोजना गरिएको थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by