Dec 01, 2023
सरकार र निजी क्षेत्रबाट यूएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह - महासंघका अध्यक्ष ढकालद्वारा लगानीका आकर्षक क्षेत्र प्रस्तुत (२०८०/०८/१५)

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा आर्थिक वृद्धिका लागि नीतिगत सुधार भइरहेकोले लगानी बढाउन  संयुक्त अरब इमिरेट्स - युएईका लगानीकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ र दुुबई चेम्वरद्वारा संयुक्तरुपमा बिहीबार दुबईमा आयोजना गरिएको नेपाल युएई बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नेपाललाई लगानी गन्तव्य बनाउन आग्रह गर्नु भएको हो । सम्मेलन यूएईस्थित नेपाली राजदूतावासको सहयोगमा आयोजना गरिएको थियो ।  

सो अवसरमा युएईका अर्थ राज्यमन्त्री  अब्दुल्लाह अहमद एल सलेहले नेपालको ऊर्जा तथा पर्यटन क्षेत्रमा लगानी बढाउन सकिने बताउनु भयो । 

उहांले नेपाल र युएई बीच सुमधुर सम्बन्ध रहेकोले व्यवसायिक सम्बन्ध पनि बलियो बनाउंदै लैजान तयार रहेको विश्वास दिलाउनु भयो ।

सोही फोरमलाई सम्बोधन गर्नुहुंदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि युएईका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा नयाँ लगानीका अवसर छोप्न आग्रह गर्नु भयो । 

अध्यक्ष ढकालले नेपालको अर्थतन्त्रमा देखिएको सुधारले लगानीकर्ताहरूलाई नयां अवसरहरू सृजना भएको बताउनु भयो ।   

अध्यक्ष ढकालले ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आईसीटी गरी चार क्षेत्रहरूमा लगानीको आकर्षण रहेको बताउनु भयो । आफनै आन्तरिक बजार तथा  भारत र बङ्गलादेशका क्षेत्रीय बजारहरूमा ऊर्जाको माग बढिरहेकाले नेपालको जलविद्युतमा  गरिने लगानीले उच्च प्रतिफल दिने अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।



अध्यक्ष ढकालले थप पर्यटकहरूलाई स्वागत गर्न नेपालमा नयां अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा आएको र निजी क्षेत्रले  लक्जरी होटेल तथा रिसोर्टहरूमा लगानी बढाएको पनि उल्लेख गर्नु भयो ।

युएईका लगानीकर्ताहरूलाई होटल, केबलकार, थिम पार्क र हिल स्टेसन लगायतका पर्यटन पूर्वाधारमा लगानी साझेदारीका लागि समेत उहांले आग्रह गर्नु भयो ।

अध्यक्ष ढकालले नेपालको उच्च हिमाली क्षेत्रका कृषि उत्पादन तथा जडिबुटीको बिश्व बजारमा माग रहेको र कृषि प्रशोधनमा समेत लगानीका थप अवसरहरू रहेकोतर्फ युएईका लगानीकर्ताहरूको ध्यानाकर्षण गराउनु भयो ।

डिजिटल अर्थतन्त्रको विकासले आइसिटी क्षेत्रमा  युवाहरूको आकर्षण बढेकाले यस क्षेत्रमा समेत लगानी साझेदारीका सम्भावनाहरू प्रशस्त रहेको उहांले सो अवसरमा  उल्लेख गर्नु भयो । 

व्यापार र लगानीमा बैङ्किङ तथा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले नेपालको बैङ्किङ क्षेत्रमा युएईको लगानी प्रवद्र्धन गर्न पनि अध्यक्ष ढकालले आग्रह गर्नु भयो ।

कडा परिश्रम र इमानदारिताका लागि नेपाली श्रम शक्ति परिचित रहेकोतर्फ ध्यानाकर्षण गराउंदै अध्यक्ष ढकालले श्रमिकहरूलाई थप दक्ष बनाउन प्राविधिक तथा व्यावसायिक जनशक्ति विकासमा समेत लगानी गर्न सकिने सुुझाव उहांको थियो । 

नेपाल र युएई बीच द्विपक्षीय लगानी सम्झौताको मस्यौदा तयार गर्ने  प्रधानमन्त्री दाहालको प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै  अध्यक्ष ढकालले लगानी प्रवद्र्धनमा सरकारको सहयोग महत्वपूर्ण हुने बताउनु भयो ।
दुई देशबीचको आर्थिक सम्बन्धलाई मजबुत बनाउन सबै तहमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ तत्पर रहेको पनि अध्यक्ष ढकालले जानकारी गराउनु भयो ।

दुबई चेम्वरका अध्यक्ष तथा कार्यकारी प्रमुख मोहमद लूताहले महासंघको सहकार्यमा सम्मेलन आयोजना गर्नु सुखद भएको बताउनुभयो । साथै आगामी दिनमा पनि लगानी व्यापार विस्तार गर्न महासंघसंग सहकार्य गरिने बताउनु भयो । 

महासंघको लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा लगानी सम्भावना बारे प्रस्तुति गर्नुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । दुबईमा आयोजित नेपाल युएई बिजनेस फोरममा दुई देशका लगानीकर्ताहरूको उपस्थिति रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by