Dec 03, 2023
चितवन जिल्लाको समग्र विकासका लागि सर्वदलिय धारणा

चितवन जिल्लाका सामाजिक एवम् आर्थिक रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याउंदै आएको उद्योग वाणिज्य संघ–चितवनको आह्वानमा चितवन जिल्ला स्थित राजनितिक दलहरुको संयुक्त वैठक एवम् छलफल कार्यक्रमबाट संघले सर्वदलिय धारणा तय गरेको छ । चितवन जिल्लाको समग्र विकास, बर्तमान आर्थिक अवस्था एवम् विकासका पूर्वाधार निर्माण र सवारी साधन व्यवस्थापन र यात्रुहरुको सेवा सुविधाको सम्बन्धमा उद्योग वाणिज्य संघ–चितवनद्वारा सम्पूर्ण दलहरुको ध्यानाकर्षण भई साझा धारणा तय भएको हो  । संघमा गत महिना वसेको सर्वदलिय बैठकले साझा धारणा तय गर्ने निर्णय गरि धारणा सार्वजनिक भएको छ । संघले उक्त धारणालाई चितवन जिल्लाको सबै स्थानिय तह, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायतलाई सम्प्रेषण गरि आवश्यक पहलको लागि ध्यानाकर्षण गरेको छ । 

सर्वदलिय साझा अवधारणा तपसील बमोजिम रहेको छ । 

१.    चितवन जिल्लाको पूर्व र पश्चिम भेगबाट आउने यात्रुवाहक सवारी साधनहरु चौविस कोठी सम्म मात्र आउन दिने व्यवस्थाले ठुलो संख्यामा यात्रुहरु मारमा परेको, गन्तब्यसम्म पुग्नको लागि थप आर्थिक भारसम्म परेको हुनाले उक्त सवारी साधनहरु नारायणगढसम्म जाने व्यवस्था सहित भरतपुर महानगर क्षेत्र भित्र यात्रुहरुलाई चढ्ने र झर्ने (Pick and Drop) को सुविधाको लागि पहल गर्ने ।  

२.     सडक बिभागद्वारा भरतपुर महानगरपालिकाको गोन्द्राङ देखि पुल्चोकसम्मको सडक स्तरोन्नती गरी ६ लेनको बनाउने कार्यमा विलम्ब भइरहेकोले उक्त सडक विस्तारको कार्यलाई तिब्रताका लागि सम्बन्धित निकायसंग पहल गर्ने र सडक निर्माण कार्य समाप्त भैसके पश्चात पनि उक्त क्षेत्रमा यात्रुहरुलाई (Pick and Drop) को व्यस्था गर्ने । 

३.     सम्बन्धित निकायबाट समय – समयमा हुने बजार अनुगमनलाई थप व्यवस्थित गर्ने, अनुगमन गर्दा सरोकारवाला निकायहरु र व्यवसायीक संस्थाका प्रतिनिधिको समेत सहभागिता गराउने र आम उपभोक्ता र विक्रेतालाई सो सम्बन्धमा सचेतना फैलाउने कार्यका लागि पहल गर्ने । 

४.     भरतपुर महानगरपालिका क्षेत्र भित्र सवारी पार्किङको समस्या दिनानु दिन बढ्दै गैरहेको र उपयुक्त पार्किङ स्थलहरुको व्यवस्था नभएका कारण बजार व्यवस्थापन, सवारी व्यवस्थापन एवम्     महानगरको सौन्दर्यतामा समेत असर परेको हुनाले पार्किङ व्यवस्थापनको लागि सम्बन्धित निकायमा पहल गर्ने । 

५.    चितवन जिल्लामा हाल पुष्प खेतीतर्फ धेरै कृषकहरु आकर्षित भई खेती गरिरहेकोले वाहिरि जिल्लामा समेत निर्यात गर्न सक्ने अवस्था रहेको छ । हाल चितवनमा सयौं कृषकहरुद्वारा सयपत्री    र मखमलीफूलको व्यवसायिक खेती गरिरहेको अवस्था रहेकोले स्थानिय कृषकहरुद्वारा उत्पादन गरिएको सयपत्री फूलको प्रयोग गरि कृषकहरुलाई हौसला प्रदान गर्नुका साथसाथै स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्नका लागि पहल गर्ने र सोको लागि उद्योग वाणिज्य सघ–चितवनद्वारा सार्वजनिक अपिल गर्ने । 

६.     चितवन जिल्लाको विकासको लागि Life Line रहन सक्ने र छिमेकी मुलुक चीन र भारत संगको व्यवसायिक सम्बन्ध विस्तार गर्नको लागि ठोरी नाका संचालनमा ल्याई ठोरी केरुङ राजमार्ग निर्माण कार्यको लागि आवश्यक पहल गर्ने ।

७.    रत्ननगरको टिकौली देखि राप्तीको लोथर सम्म ६ लेनको सडक निर्माण गर्न र पर्यटकिय नगरी सौराहको प्रबर्द्धनको लागि जाउँ है सौराह सार्थक बनाउन पहल गर्ने । 

८.    चितवन जिल्लाको समग्र विकासका लागि जिल्ला स्थित सबै राजनितिक दल र निजी क्षेत्र विचको पारस्परिक सम्बन्धलाई थप मजबुत बनाउंदै सहकार्य गर्ने । 
राजेश्वर खनाल, सभापति, नेपाली काँग्रेस
कमल पाठक, उपाध्यक्ष, नेकपा एमाले
रामचन्द्र अधिकारी, अध्यक्ष, नेकपा माओवादी केन्द्र
श्रीकृष्ण भुषाल, संयोजक, राष्ट्रिय स्वतन्त्र पार्टी
जिवलाल पुरी, उपाध्यक्ष, राष्ट्रिय प्रजातन्त्र पार्टी
अरुण पिडित भण्डारी, अध्यक्ष, नेकपा एकिकृत समाजवादी
उत्सव सी, अध्यक्ष, नेकपा विप्लव सी
चुननारायण श्रेष्ठ, अध्यक्ष, उद्योग वाणिज्य संघ–चितवन
शंकर गिरी, अध्यक्ष, रत्ननगर उवासंघ, चितवन

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by