Oct 13, 2025
हाल देशमा विद्यमान अस्थिर परिस्थितिको प्रत्यक्ष असर उद्योगी, व्यवसायी तथा व्यापारी वर्गमा परेको छ । यस चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको पछिल्लो पुरा एक महिना देशका विभिन्न भागहरूमा भएका आन्दोलन, विरोध प्रदर्शन, आगजनी तथा तोडफोडका घटनाहरू र त्यसपछि आएको बेमौसमी वर्षा, बाढी, पहिरो, भूस्खलन जस्ता दैवी प्रकोपहरूले समग्र औद्योगिक, व्यापारिक र सेवा क्षेत्रहरूमा गम्भीर असर पारेका छन् ।
यी कारणहरुले , बजारमा नगद प्रवाहमा आएको कमी, बक्यौता संकलनमा गिरावट र लगानीकर्ता तथा उपभोक्ताको मनोबलमा आएको नकारात्मक प्रभावले उद्योगी तथा व्यवसायीहरू किंकर्तव्यविमूढ हुने अवस्था सृजना भएको छ । यस वर्र्ष चाडपर्व पनि छिटो पर्न जानु, आश्विन मसान्तभित्र दुई महिनाको तलब, दशैं खर्च, बैंक व्याज र साँवा, चालू पूँजी कर्जाको किस्ता, कर तथा राजश्व बुझाउनुपर्ने बाध्यताका कारण व्यवसायीहरू थप आर्थिक दबाबमा परेका छन् ।
यस यथार्थलाई ध्यानमा राखी, यस नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सरकारसँग गत आर्थिक वर्षको असार मसान्तसम्मका नियमित ग्राहकहरूको हकमा मात्र लागू हुने गरी, चालू आर्थिक वर्षको आश्विन मसान्तभित्र बुझाउनुपर्ने रकमलाई एक पटकका लागि दुई महिनाभित्र (मंसिर मसान्तसम्म) भुक्तानी गर्न पाउने वा सो बराबर थप कर्जा सुविधा दिई हिसाब मिलान गर्न पाउने व्यवस्थाका लागी यसै विज्ञप्ति मार्फत आग्रह गर्दछौ ।
यसो हुन सकेमा हाल उत्पन्न परिस्थितिबाट प्रभावित उद्योगी, व्यवसायी तथा सम्पूर्ण ऋणी वर्गलाई तत्काल राहत मिल्नेछ, जसले समग्र आर्थिक स्थायित्वमा पनि सकारात्मक प्रभाव पार्नेछ ।