Nov 17, 2026
२०८३ मंसीर १ गते
मोरङ उद्योग व्यापार संघले लजिष्टीक हब – विराटनगरका लागि पारवहन व्यवस्थापन तथा कार्गो रेल संचालनका सम्बन्धी सरोकारवाला सरकारी निकायहरुलाई संघमा आमन्त्रण गरी बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष अनिल कुमार साहको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, काठमाडौँका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक ईन्जिनियर आदर्श काफ्ले, ट्रान्स नेपाल फ्राईट सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक मुकेश कुमार राठी, विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ लगायतको सक्रीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य दिँदै अध्यक्ष साहले विराटनगरको कार्गो रेल सूचारु तथा पारवहन व्यवस्थापन गर्न देखिएका नितिगत, भौतिक तथा प्रशासनिक समस्याहरुलाई तत्कालै समाधान गरी विराटनगरलाई लजिस्टिक हबको रुपमा विकास गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
सो क्रममा अध्यक्ष साहले नेपालको प्रमुख औद्योगिक एवं व्यावसायिक केन्द्र तथा कोशी प्रदेशको राजधानी विराटनगरमा एकीकृत भन्सार जाँच चौकी (आईसीपी), चार लेनको अन्तर्राष्ट्रिय व्यापारिक पहुँच मार्ग, भारतको बन्दरगाह देखिको कार्गो रेल सञ्जाल र नेपाल कस्टम्स यार्ड (एनसीवाई) जस्ता उच्चस्तरीय पूर्वाधारहरु उपलब्ध रहेकाले मुलुककै एक सक्षम लजिस्टिक हब मुलुककै एक सक्षम बन्न विराटनगर पूर्ण रुपले रहेको सक्षम रहेको बताउनु भएको थियो । यद्यपि, आईसीपी तथा रेल्वे यार्ड परिसरमा मौसम–अनुकूल अत्याधुनिक गोदाम तथा सुरक्षित भण्डारण क्षमताको कमी, उच्च कार्गो ह्यान्डलिङ शुल्क, बल्क कार्गो अनलोडिङ उपकरण तथा आधारभूत सुविधाहरुको अभाव, पारवहन सहजीकरणमा प्रभावकारी समन्वयको अभाव तथा बन्दरगाह देखिका ढुवानीमा प्रक्रियागत ढिलाई लगायतका कारणले विराटनगरको कार्गो रेल निर्वाद रुपले संचालन हुन नसकेको बताउँदै अध्यक्ष साहले हाल रेल्वे पूर्वाधारहरु जीर्ण हुँदै गएकाले त्यस तर्फ सबै निकायका प्रमुख तथा प्रतिनिधिहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।
साथै, अध्यक्ष साहले कार्गो सेवा शुल्क तथा पारवाहन लागत न्यूनीकरण, आधुनिक गोदाम पूर्वाधारको सुदृढीकरण, कन्टेनर तथा बल्क कार्गो ह्यान्डलिङको वैज्ञानिक व्यवस्थापन एवम् सहज पारवाहन प्रक्रियाका लागि सबै पक्षलाई गम्भिर भई ठोस निकास दिन र नियमित कार्गो रेल संचालन गरी राजस्व, रोजगारी र व्यवसायिक गतिविधि वृद्धिका लागि अग्रसर हुन आग्रह गर्नु भएको थियो ।
सोही क्रममा संघका वरिष्ठ उपाध्यक्ष अनिल सारडाले थोरै कन्टेनर आयात गर्ने उद्योगी–व्यवसायी समेत लाभान्वित हुने नीति बनाउनु पर्ने तथा पूर्वाधारको विकाससँगै व्यवसायीलाई लाभ पुग्ने गरी नीतिगत सुधार गर्नु पर्ने सुझाव दिनु भएको थियो भने संघका वाणिज्य उपाध्यक्ष बिकास कुमार बेगवानीले कार्गो सेवा शुल्क घटाइए उद्योगी, व्यवसायी र उपभोक्ता, सबै पक्ष लाभान्वित हुने बताउनु भएको थियो ।
साथै कार्यक्रम संचालक तथा संघका महासचिव अमित कुमार सारडाले संघको तर्फबाट प्रस्तुति दिँदै नेपाली र भारतीय कस्टम यार्ड बीचको शुल्क तथा ढुवानी लागतको समस्या समाधान गरिनु पर्ने, रेल्वे नियमित संचालनका लागि स्पष्ट कार्य ढाँचा तथा नीति बनाउनु पर्ने लगायतका सुझाव दिनु भएको थियो ।
कार्यक्रममा ट्रान्स नेपाल फ्राईट सर्भिसेस प्रा. लि.का प्रबन्ध निर्देशक राठी, नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक ईन्जिनियर काफ्ले र भन्सार कार्यालयका प्रमुख श्रेष्ठले आ–आफ्ना तर्फका कार्यक्षेत्र र गतिविधिहरु जानकारी गराउनु भएको थियो भने नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, काठमाडौँका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले कार्यक्रममा दर्शाइएका समस्याहरु समाधानार्थ आफ्नो निकायबाट यथाशक्य साथ एवं सहयोग रहने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड, विराटनगरका उद्धव राज कोईराला, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशका उप–सचिव डिल्ली सञ्जेल, ट्रान्स नेपाल फ्राईट सर्भिसेस प्रा. लि., विराटनगरका स्टेशन मेनेजर लक्ष्मी सुब्बा, ट्रान्स नेपाल टि.आर.एस. लजी पार्क प्रा.लि.का प्रतिनिधि आनन्द कुमार सिंह, निजी क्षेत्रका विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्मा, भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविन जोशी, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशिला पाठक, मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरु, का.का. सदस्यहरु, महिला र युवा उद्यम समिति संयोजक र सदस्यहरु, मोरङ सुनसरी आर्थिक कोरिडोरका आयातकर्ता–निर्यातकर्ता उद्योग–व्यवसाय प्रतिष्ठानहरुका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मीहरु लगायतको सक्रीय सहभागिता रहेको थियो ।