Jan 03, 2024
महासंघ र नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र बीच समझदारीपत्रमा हस्ताक्षर (२०८०/०९/१८)

घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल सरकार, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र बीच आज एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र केन्द्रका कार्यकारी निर्देशक दिपक घिमिरेले हस्ताक्षर गर्नु भयो । 

समझदारी अनुसार दुवै संस्थाको संयुक्त सहकार्यमा घरेलु तथा साना उद्योग प्रवर्द्धनका क्षेत्रमा साझेदारी र सहकार्यका कार्यक्रमहरु संचालन गरिनेछ । त्यसैगरी नेपाल सरकारको स्वीकृत वार्षिक कार्यक्रम बमोजिम कार्यान्वयन हुने विषयहरुको सफल कार्यान्वयनका लागि महासंघ र केन्द्रले एक आपसमा सकृय सहकार्य गर्ने, कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम कार्यान्वयन सम्बन्धमा महासंघले सहजीकरण गर्ने, घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्न आवश्यक शीप तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य गर्न दुवै संस्था सहमत भएका छन् । 

हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे महासंघका उपाध्यक्ष सुर कुष्ण वैद्यले उद्योगी व्यापारी तथा व्यवसायीहरुको ठूलो संजाल रहेको महासंघले मुलुकको घरेलु तथा साना उद्योग विकासमा सरकारसंगको सहकार्यमा महत्वपूर्ण कामहरु गर्दै आएको र आगामी दिनमा यस क्षेत्रको विकास तथा प्रवर्द्धनको लागि मिलेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

त्यसैगरी कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक घिमिरेले उद्योग व्यवसाय प्रवर्द्धन लगायत रोजगारी सिर्जना गर्ने लगायत मुलुकको अर्थतन्त्र विकासको महत्वपूर्ण मेरुदण्डको रुपमा रहेको महासंघसंग मिलेर काम गर्दा केन्द्रको कार्यक्रमहरु सफल हुने विश्वास व्यक्त गर्नुहुदै समझदारीपत्र अनुसार सहकार्य गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

महासंघका घरेलु तथा साना उद्योग विकास समितिका सभापति नरेन्द्र कुमार खड्काले नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले ल्याएको कार्यक्रमहरु सफल बनाउन महासंघ, घरेलु तथा साना उद्योग विकास समितिले भरपुर सहयोग गर्ने साथै केन्द्र कार्यक्रमको पूर्ण सफलताको लागि शुभकामना व्यक्त गर्नुहुदै कार्यक्रममा धन्यवाद ज्ञापन थियो । 

कार्यक्रममा कार्यकारिणी समितिका सदस्यहरु एवं महासंघको घरेलु तथा साना उद्योग विकास समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by