Nov 06, 2023
सम्माननीय राष्ट्रपतिबाट क्यासीको ३७ औं सम्मेलन समुदघाटन– दिगो उद्यमशीलता र व्यापारमा जोड (२०८०/०७/२०)

एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (Confederation of Asia –Pacific Chambers of Commerce and Industry-CACCI)  को ३७ औं सम्मेलनमा दिगो उद्यमशीलता र व्यापारमा जोड दिइएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र परिसंघले आयोजना गरेको कार्यक्रम र समुदघाटन पछि सम्बोधन (यसैसाथ संवोधन) गर्नुहुंदै राष्ट्रपति रामचन्द्र पौडेलले एसिया प्यासिफिक क्षेत्रको सदस्यको रूपमा रहेको नेपालका लागि क्षेत्रीय व्यापार लगानी र संजाल निर्माणमा सम्मेलन कोशेढुंगा हुने बताउनु भयो । 



एशिया प्रसान्त क्षेत्रका देशहरूसँग बलियो सम्बन्ध निर्माण गर्न यस्ता सम्मेलनले पुलको काम गर्ने पनि उहांले स्पष्ट पार्र्नुभयो । यस युगका चुनौतीको सम्बोधन र अवसरहरूको सदुपयोग गर्न यो सम्मेलन समय सापेक्ष र सान्दर्भिक रहेको बिचार उहांको थियो । 

विश्व व्यापार परिदृश्यमा पङ्क्तिबद्ध र सकारात्मक परिवर्तन ल्याउन एसिया–प्रशान्त क्षेत्रका उद्योग वाणिज्य संघहरुको भूमिका निर्णायक हुने बताउनु भयो । एशिया–प्रशान्त द्रुत रूपमा विस्तार भैरहेको आर्थिक क्षेत्र भएको पनि उहांले बताउनु भयो । 

साथै राष्ट्रपति पौडेलले नेपालमा लगानीको वातावरण सकारात्मक रहेकाले सम्मेलनमा सहभागि उद्यमी व्यवसायीहरुलाई एसिया प्रसान्त क्षेत्रको लगानी ल्याउन आग्रह पनि गर्नुुभयो । क्यासी एसिया प्रसान्त क्षेत्रका २६ देशका उद्योग वाणिज्य संघहरु सदस्य रहेको संस्था हो । काठमाडौंमा जारि सम्मेलनमा करिब ६० विदेशी उद्यमी व्यवसायीहरुको सहभागिता छ ।

कार्यक्रमका मुख्य वक्ता पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बढ्दो मध्यम वर्ग, उदीयमान उपभोक्ता बजार नेपालको सवल पक्ष रहेको  भन्दै्र खुद्रा, उपभोग्य वस्तु र सेवालगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको वताउनभयो । यूवा जनसंख्याको बाहुल्यता रहेको नेपालमा लगानीको ठूलो अवसर रहेकाले क्यासी जस्ता मन्चहरुमार्फत लगानी, प्रविधि र विकासका अनुभव ल्याउन हाम्रो प्रयास हुनु पर्ने धारणा उहांले राख्नु भयो । 



अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा रहेको अवसरलाई सदुुपयोग गर्न सम्मेलनका सहभागीहरुलाई आग्रह गर्नुभयो । नेपालमा नविकरणीय उर्जा, पर्यटन, पूर्वाधार, सूचना प्रविधि लगायतका क्षेत्रमा रहेको अपार सम्भावनाको सदुपयोग गर्दै यस क्षेत्रका जनताको जीवनस्तर सुधारमा क्यासी जस्ता संस्थाहरुको अर्थपूर्ण सहयोग नेपालले खोजेको बताउनु भयो ।   



सम्मेलनको प्रारम्भमा स्वागत मन्तव्य (यसैसाथ संलग्न) दिनुहंदै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगोपना, उद्यमशीलता र व्यापार, एशिया–प्रशान्त क्षेत्रको समृद्ध भविष्य सिर्जना गर्ने आधार रहेको बताउनु भयो । 



दुई उदयीमान अर्थतन्त्रहरु चीन र भारतको बीच अवस्थित नेपाल एशिया प्रशान्त क्षेत्रका उद्यमीहरुका लागि आकर्षक लगानी गन्तव्य हुने उहाँको धारणा थियो । एशिया प्रशान्त क्षेत्रका उद्यमी व्यवसायी, लगानीकर्ता, नीति निर्माता, सरकारी र निजी क्षेत्रको सहभागिता रहेको यो सम्मेलन नेपालका लागि थप सहयोगी हुने धारणा उहांको थियो । 

यसैगरि नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानीको अवसर रहेको वताउनुभयो । पर्यटन पुर्वाधारहरु होटल, केवलकार, थिम पार्क उच्च प्रतिफल दिने क्षेत्र रहेको उहाले वताउनभयो । भारत र बंगलादेशमा नेपाली विद्युत निर्यातको सम्भावना बढदै गएकाले यस क्षेत्रमा लगानी गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

क्यासीका उपाध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालले दोस्रो पटक सम्मेलन आयोजना गर्न पाएकोमा खुशी प्रकट गर्नुभयो । दीगो एव वातावरण मैत्री उद्यमशीलता विकास, आर्थिक विकासका अनुभव आदान प्रदान गर्न र हाम्रा आर्थिक सम्बन्धहरु विस्तार गर्न सम्मेलन ऐतिहासिक हुने दावी उहांको थियो ।  





क्यासीका अध्यक्ष पिटर म्याकमुलिन एम (Peter McMullin AM Presidnt, CACCI) ले क्यासीको ३७ औं सम्मेलन नेपालको विकास प्रयासमा सहयोगी हुने विश्वास दिलाउनु भयो । नेपालमा लगानी, प्रविधि र विकास मोडललाई आकर्षण गर्न सम्मेलन कोशेढुंगा हुने उहांले बताउनु भयो । 



समुद्घाटन कार्यक्रममा धन्यवाद मन्तव्य (यसैसाथ संलग्न) दिनु हुंदै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सम्मेलनले एकता, सहयोग र समृद्ध भविष्यको लागि साझा दृष्टिकोण तय गर्ने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले दिने निश्कर्ष नेपाल लगायत एशिया प्रशान्त क्षेत्रकै समृद्धिको लागि महत्वपूर्ण हुने दावी गर्नुभयो । 



परिसंघ, एशिया प्रशान्त क्षेत्रभित्रका २६ देशका २८ वटा राष्ट्रियस्तरका उद्योग वाणिज्य महासंघ/संघहरुको छाता संस्था हो । सम्मेलन भोली सम्म चल्ने छ । सम्मेलनको मुख्य थिम “चेम्वर्स अफ कमर्स हेल्पिङ विजनेश गेट सेट फर द फयूचर” रहेको छ । सम्मेलन नेपाल उद्योग वाणिज्य महासंघको आतिथ्यतामा आयोजना भएको हो ।  

विश्व आर्थिक मन्चमा राम्रो पहिचान बनाउन सफल यस संस्थाको यसअघि २६ औं सम्मेलन महासंघको आयोजनामा काठमाडौंमा सम्पन्न भएको थियो ।

यस सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रबाट सदस्य राष्ट्रका ६० भन्दा बढी व्यसायिक नेताहरु र नेपालका प्रतिष्ठित उद्यमी व्यवसायीहरु, सरकारी प्रतिनिधिहरु समेत गरी करिव २ सय भन्दा बढीको सहभागिता रहेको छ । 

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गर्ने छन् । 

निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो । 

सन् १९६६ मा स्थापना भएको क्यासी एसिया–प्रशान्त क्षेत्रभित्रका व्यवसायिक संस्थाहरूलाई एकताबद्ध गर्दै यसका सदस्य राष्ट्रहरू बीच आर्थिक सहयोग, व्यापार र लगानी प्रवद्र्धनमा एक सक्रिय साझा मञ्चकोे रूपमा कार्य गर्दै आएको छ । 

यसको बलियो संजाल र सशक्त पहलहरू मार्फत उद्यमशीलता, दिगो विकास र सीमापार व्यापार सहजीकरणलाई समर्थन गर्ने नीतिहरूको पैरवीमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । 

संस्थाले नियमित सम्मेलनहरू, सेमिनारहरू र व्यापार फोरमहरू आयोजना गरी सदस्यहरूलाई छलफलमा संलग्न हुन, विचार आदानप्रदान गर्न, र साझेदारी र लगानीका अवसरहरूको अनुसन्धान गर्न साझा प्लेटफर्म समेत प्रदान गर्दै आएको छ ।

For more photos: 
Photographs of 37th CACCI Confernce - Inaugural Ceremony
Photographs of 37th CACCI Confernce - Parallel Sessions

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by