Jun 15, 2017
स्थानीय सरोकारवाला निकायबीच जिल्लाको निर्यात वस्तुको सम्भावना, प्रबर्द्धन र चुनौति विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न

हेटौंडा, आषाढ ११ । 

मकवानपुर उद्योग वाणिज्य संघको आयोजना तथा वाणिज्य मन्त्रालयको सहयोगमा हेटौंडामा आज स्थानीय सरोकारवाला निकायबीच जिल्लाको निर्यात वस्तुको सम्भावना, प्रबर्द्धन र चुनौति विषयक कार्यपत्र प्रस्तुतिकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष राजकुमार न्यौपानेको सभापतित्व तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद दुवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वाणिज्य मन्त्रालयमा उपसचिव बुद्धिप्रसाद उपाध्यायले सरकारको वाणिज्य नीति तथा वर्तमान अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ दुवाडीले देशको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका सरकारको संयन्त्रलाई अझ प्रभावकारी बनाउन हुनुपर्नेमा जोड दिएका छन् । प्रजिअ दुवाडीले निजी क्षेत्र सम्बद्ध केन्द्रीय संघ संगठनलाई स्थानीय संघसंगठनहरुले आफ्ना माग समस्यालाई लानुपर्ने धारण व्यक्त गरेका छन् । 

अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रको तर्फबाट संघका कार्यक्रम अधिकृत देवराज पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रम अधिकृत पन्तले जिल्लाबाट निर्यात भईरहेको बस्तुको परिमाण प्रत्येक बर्ष घट्दो अवस्था रहेकोले निजी क्षेत्रको लागि सन्तोषजनक नरहेको बताएका छन् । जिल्लामा अदुवा, किवी, खनिजजन्य पदार्थ, पशुपंक्षीपालन लगायतको सम्भावना रहेकोले यस तर्फ सरकारले समेत आफ्नो कार्य योजनामा राख्नु पर्ने बताएका छन् । 

संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले समापन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायीहरुले आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा संघका पदाधिकारी, सदस्य लगायत जिल्लाका विभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रम वाणिज्य मन्त्रालयको व्यापार नीति विश्लेषण तथा अनुसन्धान शाखा, सिंहदरबारका आर्थिक सहयोगमा भएको हो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by