Sep 20, 2026
विद्युत आपूर्ति समस्या दीर्घकालीन समाधान गर्न सरोकारवालाको जोड

नवलपरासी पश्चिम, असोज २ — नवलपरासी पश्चिममा विद्युत आपूर्तिमा देखिएका समस्या, त्यसको उद्योग तथा व्यवसाय क्षेत्रमा परेको प्रभाव र दीर्घकालीन समाधानका उपायबारे सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र अग्रहरीको अध्यक्षता तथा जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्युत आपूर्तिमा देखिएका समस्याको दीर्घकालीन समाधानका लागि प्राविधिक र व्यवहारिक पक्षलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य माननीय बैजनाथ जैसवाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्वअध्यक्ष केशव प्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले विद्युत आपूर्तिको समस्या उद्योग–व्यवसाय सञ्चालनसँग प्रत्यक्ष जोडिएकाले यसको दिगो समाधान आवश्यक रहेको धारणा राख्नुभएको थियो।

सो अवसरमा नेपाल विद्युत प्राधिकरण परासी शाखाका प्रमुख कपिलराज पाण्डेले विद्युत आपूर्तिसँग सम्बन्धित समस्या तथा त्यसका प्राविधिक पक्षबारे प्रस्तुतीकरण गर्नुभएको थियो। उद्योग प्रतिष्ठानका प्रतिनिधि, राजनीतिक दल, संघ–संस्था तथा अन्य सरोकारवालाले उठाएका जिज्ञासामाथि पाण्डेले आवश्यक जानकारी दिँदै सहजीकरण गर्नुभएको थियो।

संघका महासचिव भोला पराजुलीले सञ्चालन गर्नुभएको कार्यक्रममा सरोकारवाला सरकारी निकाय, राजनीतिक दल, उद्योगी–व्यवसायी, संघ–संस्था, सञ्चारकर्मी तथा संघका कार्यसमिति र लेखा समितिका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image