Feb 06, 2018
हेटौंडामा फागुन १ बाट फुटपाथ व्यवसाय बन्दहुने, होटल लज काउन्टरमा सीसी क्यामेरा राखिने 
हेटौंडा, माघ २२ । 

मकवानपुर उद्योग वाणिज्य संघले आज फुटपाथ व्यवसाय र होटल व्यवसायीको विषयमा सरोकारवाला निकायसँग छुट्टा छुट्टै छलफल गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको छलफलमा हेटौंडा बजार क्षेत्रलाई व्यवस्थित गर्न सडक पेटीमा हाल अव्यवस्थित फुटपाथ व्यवसायलाई पूर्णरुपमा आगामी फागुन १ गतेबाट बन्द गरिने निर्णय गरिएको छ । पैदल यात्रुलाई समेत बाधा हुने गरी हाल सञ्चालित त्यस्ता व्यवसायलाई निषेध गरिने भएको हो । छलफलमा बोल्दै संघका अध्यक्ष कटुवालले अबको केही दिनमा नै नगर क्षेत्रमा गुड्ने ट्याम्पो, सुमो, मोटरसाइकलहरुका लागि उचित पार्किङ्ग स्थल समेत पहिचान गरिने बताएका छन् । सो छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख नविन अधिकारी, हेटौंडा उपमहानगरपालिकाका शाखा अधिकृत ध्रुव भुजेल, विभिन्न वस्तुगत संघका अध्यक्ष तथा प्रतिनिधि, संघका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो । छलफललाई औपचारिक रुपमा संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले समापन गरेका थिए । 

यसै गरी संघमा आजै होटल व्यवसायी, जिल्ला प्रहरी कार्यालय मकवानपुर सहितको छलफलमा बासको व्यवस्था रहेको होटल लजहरुको रिसेप्सनमा सीसी टिभी क्यामेरा राखिने भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको सो छलफलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलिपराज झाले होटलहरुमा हुने अबाञ्छित कार्यहरु निरुत्साहित गर्नका लागि होटल व्यवसायीको समेत भूमिका रहने बताएका छन् । होटल एशोसियसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा खरेलले होटल व्यवसायले रोजगार, राजश्व, विदेशी मुद्रा आर्जन जस्ता क्षेत्रमा टेवा पुर्याएपनि जिल्लाका होटल व्यवसायीले प्रहरी प्रशासनबाट सहयोग नपाएको गुनासो गरेका छन् । छलफलबाट बास बस्न आउने ग्राहकलाई परिचय पत्रको प्रतिलिपी लिएर मात्र बास बस्न अनुमति दिनुपर्ने प्रहरी नायब उपरीक्षक झाको भनाई रहेको थियो भने, मर्यादित रुपमा व्यवसाय सञ्चालन गरेका होटलमा कुनै किसिमको दुख नदिएको धारणा व्यक्त गरेका छन् । छलफलमा होटल एशोसियसनका पदाधिकारी, संघका पदाधिकारी सदस्यलगायतको उपस्थिति रहेको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by