Mar 23, 2018
लेखनाथमा व्यवसायीहरुलाई कर तथा लेखा तालिम सम्पन्न

लेखनाथ ९, कास्की

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ तथा लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा एक दिवसीय कर लेखा प्रणाली सम्बन्धी तालिम संचालन भएको छ ।

साना तथा मझौला करदातालाई कर सम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेको व्यबस्था परिपालन गराउन, कर फारम भर्दा हुने त्रुटि कम गर्न तथा धेरै भन्दा धेरै व्यवसायीलाई करको दायरामा ल्याउनु १ दिने तालीमको उद्देश्य हो । 

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ४ का अध्यक्ष संजिव वहादुर कोइरालाले अन्जानमा हुने त्रुटिबाट पनि व्यवसायीहरु आफैलाई नै कानून सजायहुने हुंदा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुंदै व्यवसायीहरुले कर र लेखाको तालिम बढी भन्दा बढी लिनुपर्ने बताउनु भएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको सभापतित्वमा आयोजित कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष बावुराम गिरी, आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत बिजय प्रसाद लामिछाने, वरिष्ठ उपाध्यक्ष बलराम ढकाल, उपमहासचिव गोपिचन्द्र बास्तोला लगायतले कर सम्बन्धी समस्याहरु समाधानका लागि कर सम्वन्धी बढी जानकारी राख्नुपर्ने र यस्ता तालिमले निखारता ल्याउने बताउनु भएको थियो । 

त्यसै गरि नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत सिता घिमिरेले कर लेखा तालिम सबैलाई उपयोगी भएको बताउनुहुंदै एक दिने तालिम छोटो अवधि भएता पनि आगामी दिनहरुमा महासंघले यस्ता तालिम थप गर्दै जाने बताउनु भयो । ३३ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा चार्टर्ड एकाउन्टेन्ट सन्तोष पाण्डे र आन्तरिक राजश्व कार्यालयका पूर्व कर अधिकृत रमाकान्त पौडेलले प्रशिक्षण दिनुभएको थियो । लेखनाथ उद्योग वाणिज्य संघका महासचिब भरतकुमार अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रथम उपाध्यक्ष छत्रधर आत्रेयबाट धन्यवाद राख्नुभएको थियो । 
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image