May 19, 2018
उवासंघ चितवन द्वारा प्रमुख जिल्ला अधिकारी र  जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखको स्वागत
२०७५ जेष्ठ ५ गते

उद्योग वाणिज्य संघ-चितवनले आज स्वागत कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ-चितवनको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि चितवन जिल्लाका लागि नवआगन्तुक प्रमुख जिल्ला अधिकारी श्री जितेन्द्र वस्नेत र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक सुशिल सिंह राठौरलाई संयुक्त रुपमा स्वागत गरेको हो । चितवन जिल्लामा सरुवा भइ आउनु भएका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरिक्षक लाई स्वागत गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले उहांहरुको चितवन वसाई सुखद र कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भयो । उहांले चितवन जिल्लाको बृहत्तर विकासका लागि सुरक्षा निकाय, प्रशासन र निजि क्षेत्रको सहकार्य हुनु पर्नेमा जोड दिंदै स्थानिय प्रशासन संग मिलेर समग्र चितवनको विकासका लागि उद्योग वाणिज्य संघ-चितवन सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रममा उहांले भरतपुर महानगरपालिका क्षेत्र भित्रको सुरक्षा चुनौति बढ्न लागेको आभाष भएको उल्लेख गर्दैै सो सम्बन्धमा गम्भिर हुनुपर्नेमा जोडदिनु भयो । बजारमा रहेका फुटपाथ व्यवसायले पनि सुरक्षा चुनौती थपिएको बताउंदै उहांले सो सम्बन्धमा समबन्धित निकायको ध्यानाकर्षण गर्नु भयो । 

स्वागत कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय , चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन जिल्लाको विकासको सन्दर्भमा सरकारी निकायको तर्फबाट उद्योग वाणिज्य संघ-चितवन संग सहकार्य र समन्वयमा अगाडी बढ्न आफु  तत्पर रहेको बताउनु भयो । उहांले जिल्लाको समृद्धीमा उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने हुनाले व्यवसायीहरु खुला प्रतिष्पर्धामा रहिरहंदा आम नागरिक तथा उपभोक्ताहरुको हितलाई समेत ध्यान राख्नु पर्ने बताउंदै चितवन जिल्ला हरेका दृष्टीकोणले सम्भावना युक्त जिल्ला भएकोले यसको विकास र संबृद्धी संग संगै सामाजिक बिकृती र विसंगती विरुद्ध आफु कटिबद्ध रहने र सरकारी निकाय बाट उपलब्ध हुने सेवा सुविधालाई सके सम्म चुस्त राख्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । सोहि कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक सुशिल सिंह राठौरले जिल्लाको सुरक्षाका लागि आफु हरदम प्रयत्नशिल रहने जनाउंदै सुरक्षाका सन्दर्भमा आवश्यक सूचना महत्वपूर्ण हुने हुनाले सुरक्षा सम्बन्धि सूचना तथा जानकारी उपलब्ध गराउन अनुरोध गर्दै आफुहरु सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनु भयो ।  स्वागत कार्यक्रममा बोल्दै  संघका निबर्तमान अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतमले मुग्लिङ - नारायणगढको बाटो यथाशक्य छिटो सम्पन्न गरी नेपालकै ट्रान्जिटको रुपमा रहेको चितवनको समग्र विकासमा सहयोग पुर्याउनका लागि अनुरोध गर्दै नवआगन्तुक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सुखद बसाई र सफल कार्यकालको कामना गर्नु भयो । उद्योग वाणिज्य संघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर के.सी.ले संचालन गर्नु भएको उक्त कार्यक्रम संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो भने संघका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पुर्वअध्यक्षहरु, कार्यसमिति सदस्यहरु, वस्तुगत संघका अध्यक्ष एवम् प्रतिनिधि लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by